​पौडेलको हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग

दृष्टि न्यूज

भैरहवा, २३ पुस । भैरहवामा क्रियाशील राजनीतिक दल, उद्योगी–व्यवसायिक संघसंस्था, समाजिक संघसंस्था र पेशागत संघसंस्थाले व्यवसायी बसन्त पौडेलको हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । भैरहवामा शनिबार सर्बपक्षीय बैठकको आयोजना गरी उनीहरुले अज्ञात समूहद्वारा शुक्रबार देवदहमा हत्या गरिएका व्यवसायी बसन्त पौडेल परिवारप्रति समवेदना प्रकट गर्दै हत्यारा पत्ता लगाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह समेत गरेका छन् ।
बैठकपछि राजनीतिक दल, संघसंस्था र पेशागत संस्थामा आवद्ध ११ वटा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले संयुक्त प्रेस विज्ञप्ती निकाल्दै पौडेल हत्याको भत्र्सना गरेका हुन् । विज्ञप्तीमा भनिएको छ– ‘व्यवसायी पौडेलेको हत्या अपराधिक, जघन्य, निन्दनीय हत्या हो, यसको हामी जति भत्र्सना गरे पनि हुँदैन । यद्यपि अपराधीलाई प्रहरी प्रशासनले छिटोभन्दा छिटो कानूनी कठघरामा ल्याओस् ।’
यी संघसंस्थाहरुले हत्यारालाई कारबाहीको दायरामा नल्याउँदासम्म शान्तिपूर्ण आन्दोलन गर्ने, प्रशासनलाई दवाव दिने, अन्य दवावमूलक कार्यक्रम गर्ने जनाएका छन् । विज्ञप्तीमा एमाले सिद्धार्थनगर अध्यक्ष रामबहादुर श्रेष्ठ, काँग्रेसका जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, माओवादी केन्द्रका नगर अध्यक्ष चोपलाल आचार्य, संघीय समाजवादी फोरम नेपालका नगर अध्यक्ष अर्जुन जैसवाल, राप्रपा प्रजातान्त्रिकका अजयकुमार गुप्ता, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारी, गैसस महासंघ रुपन्देहीका अध्यक्ष गोविन्दप्रसाद रेग्मी, प्याब्सनका केन्द्रिय सदस्य विष्णु पन्थी, नेपाल बार एशोसिएसनका शेषनारायण भण्डारी, सिद्धार्थ एशोसियसन अफ ट्राभल्स एजेण्ट (साट्टा) का अध्यक्ष चन्द्रबहादुर थापा र सिद्धार्थ उद्योग वाणिज्य संघकोतर्फबाट विजय पाण्डेले हस्ताक्षर गरेका छन् । 
सर्वपक्षीय छलफलमा हितराज पन्थी, जीवलाल अर्याल, विश्वास बराल, हरिप्रसाद अधिकारी, राजेन्द्रप्रसाद पन्थी, भरतकुमार पोखरेल, उमा काफ्ले, तारापति भण्डारी, मुरारीलाल अग्रवाल, रामबहादुर बस्नेत, घनश्याम विश्वकर्मा, सूर्यकान्त घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

Related News