​नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा : प्रम ओली

दृष्टि न्यूज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । आज  हनुमान ढोकास्थित गद्धी बैठक भवन पुननिर्माणको उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले यस भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट गरेका थिए । हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्वका भएको बताए ।
२०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबारबिहीन भएको, सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गरे । ‘हामी भूकम्पले क्षतिग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ’  प्रधानमन्त्री ओलीले भने ‘हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।’
प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । संविधानसभाले संविधान जारी गरेर, नयाँ निर्वाचनमार्फत् सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले भने ‘राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं ।’ फेरी पनि भूकम्प आउन सक्ने भएकोले अबको पुननिर्माण थप गुणस्तरीय हुनु पर्ने प्रधानमन्त्रीको भनाइ छ ।

Related News