​गृहजिल्ला पुगेर प्रधानमन्त्रीले खुलाए सरकारले गति लिन नसक्नुको कारण

दृष्टि न्यूज

बिर्तामोड - प्रधानमन्त्री केपी ओलीले सरकारले गति लिन नसकेको स्वीकार गरेका छन् । अघिल्लो सरकारले देशको सम्पूर्ण ढुकुटी रित्याएर गएकाले वर्तमान सरकारले तत्काल प्रतिफल देखिने गरी काम गर्न नसकिरहेको उनको भनाई छ । 
आफ्नो नेतृत्वमा सरकार गठन हुँदा मुलुकको अर्थतन्त्र अत्यन्तै धरासायी अवस्थामा रहेकाले प्रतिफल दिन नसकेको उनले स्वीकार गरे । यद्यपि, वर्तमान सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा अघि बढाइसकेको ओलीले दाबी गरे । 
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले बिहीबार बडादसैं, शुभ दीपावली, छठ तथा नेपाल सम्वतको अवसरमा गृहजिल्ला झापाको बिर्तामोडमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विपक्षीले विभिन्न बहानाबाजीमा आरोप र लाच्छना लगाउने कार्य गरे पनि आफू भने समृद्ध राष्ट्र र जनतालाई सुखी बनाउने संकल्पबाट विचलित नभई अघि बढिरहेको बताए । ‘ढुक्क हुनुहोस् । तपाईंहरुको विश्वास र आशालाई मर्न दिने छैन । तपाईहरुले मप्रति देखाउनुभएको विश्वासमा धक्का लाग्न दिने छैन’ प्रधानमन्त्री ओलीले भने, ‘सुखी जनता र समृद्ध राष्ट्र निर्माणका लागि म अघि बढिरहेको छु ।’

प्रधानमन्त्री ओलीले केही मानिस सरकारलाई असफल बनाउन लागिपरेको बताए । उनले यो सरकार जोर–बिजोरले बनेको नभएकाले सजिलोसँग ढल्छ भन्ने नसोच्न चेतावनी दिए । उनले भने, ‘अँध्यारो कोठामा बसेर षड्यन्त्रका चल्ला कोरल्दैमा र षड्यन्त्रका ओथाराहरुले यो सरकार ढल्दैन ।’ ओलीले पुर्खाले ‘सर्वे भवन्तु सुखिनस् सर्वे सन्तु निरामया’ भने जस्तो अबको केही वर्षभित्रमै देशको विकास हुने बताए ।

Related News