भ्रष्टाचार गर्नेको अनुहार हेर्दिन : प्रधानमन्त्री ओली

बीरगन्ज–काठमाडौं रेल र केरुङ काठमाडौं रेल आउँछ

दृष्टि न्यूज

विराटनगर । 
प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गरेका छन् । सम्बोधनको क्रममा प्रम ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेको अनुहार समेत नहेर्ने बताएका छन् ।
प्रम ओलीले प्रदेश नं १ को संसदमा सम्बोधन गर्दै भने, ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ । मैले त्यसैगरी, मन्त्रिपरिषद् र कर्मचारीतन्त्रलाई पनि स्वच्छरुपमा काम गर्न निर्देश गरेको छु ।’ हामी जनप्रतिनिधिप्रति जनताको सम्मान र विश्वास रहेको र जनप्रतिनिधिलाई खान पाउन पनि समस्या नरहेको उल्लेख गर्दै उनले ६० देखि ८० लाख गरिबीमुनि रहेका जनतालाई परिवर्तनको अनुभूति गराउनतर्फ अग्रसर हुनुपर्ने बताए । 
विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको बैठकमा पहिलोपल्ट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वास जितेर आएकाले यो विश्वासलाई कायम राख्न प्रदेश सभासदहरुलाई सुझाव दिएका हुन् । प्रम ओलीले सम्बोधनको क्रममा राजनीतिक र सामाजिक समानताका लागि लडाइँ लडियो भन्दै अब, देशमा सुशासन जनताको भलाइ कसरी गर्ने, सामाजिक सम्पन्नता र आर्थिक विकासतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

जनताले सुशासन र विकास चाहेकाले अब हाम्रो कार्यदिशा, सुशासन र विकासको बाटोमा क्रियाशील हुनुपर्ने प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधानले व्यवस्था गरेका हक अधिकार, सामाजिक न्याय र समानताको प्रश्नलाई व्यावहारिकरुपमा कार्यान्वयन गरी आर्थिक समृद्धि र सुशासनतर्फ केन्द्रित हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले जनतामा परिवर्तनको अनुभूति हुनुपर्छ भन्दै जनप्रतिनिधिलाई जनताको सेवकका रुपमा काम गर्न, जनताको नजिक बस्ने र दृढ निश्चयका साथ देश बनाउने संकल्पका साथ अगाडि बढ्न सुझाव दिएका छन् । 
प्रम ओलीले आफ्नो भ्रमणपछि भारतसँग राम्रो सम्बन्ध बनेको, भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सम्बन्ध थप राम्रो भएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल–भारतको राम्रो सम्बन्धको विकासका क्रममा विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालय हटेको, सिमानामा बाँध बाँधिएका कारण डुबान क्षेत्रको सर्वे, सीमा समस्याका साथै जुलाईको प्रारम्भमा १९५० को सन्धिको अद्यावधिक गर्नका लागि विज्ञहरु काम गरिरहेका छन् ।’
निकट समयमा हुन लागेको आफ्नो चीन भ्रमणका सम्बन्धमा प्रम ओलीले नेपालको हितलाई कायम राख्ने विषयमा ढुक्क रहन आग्रह गर्दै चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सम्मान गरेको स्पष्ट पारेका छन् । वीरगञ्ज–काठमाडौँ रेलमार्ग निर्माणका लागि सर्वे शुरु भइसकेको, एक वर्षमा सर्वे पूरा भएपछि पाँच वर्षमा रेल सेवा सञ्चालन हुने विश्वास व्यक्त गर्दै उहाँले केरुङ–काठमाडौँ, काठमाडौँ–पोखरा रेलमार्गको निर्माणका साथै तीन वर्षमा मोनोरेल काठमाडौँमा चल्ने जानकारी गराए । 

Related News