साउन १ गतेदेखि नै बजेट कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

दृष्टि न्यूज

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेट साउन १ गतेदेखि नै कार्यान्वयन गर्न निर्देशन दिएका छन् । संसदबाट पास भइसकेको बजेट अर्थमन्त्रालयले अनेकन बाहानामा रोकेर राख्ने गरेकोमा यस वर्षदेखि साउन १ गतेदेखि नै बजेट अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
बुधवार राति प्रधानमन्त्री निवासमा नेपाल सरकारका सचिवहरुसँगको छलफलमा यस्तो निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बक्तव्यमार्फत जनाएको छ ।
त्यसैगरी, प्रधानमन्त्री ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा प्रवाहमा प्रभावकारिता नआउने भएकाले यस्तो परिचयपत्र चाँडो जारी गरी अपराधरहित समाज निर्माणमा लाग्न प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
बुधबार भएको छलफलमा प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण, अग्र्यानिक उत्पादन, जलविद्युत आयोजनाको शीघ्र कार्यान्वयन, बजार अनुगमन र महंगी नियन्त्रण, क्षमताअनुसारको रोजगारी र स्वरोजगारी सिर्जना आदि क्षेत्रमा प्राथमिकता दिन पनि निर्देशन दिएका छन् । छलफलमा २१ वटै मन्त्रालयका सचिवहरुले मन्त्रालयगत कार्ययोजनाबारे प्रस्तुतीकरण गरेको जनाइएको छ ।
 

Related News