​प्रधानमन्त्रीलाई निराश बनाउँदै महासंघ

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २८ गते उद्घाटन गरेको नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं साधारणसभा महासंघलाई अनिश्चित भविष्यतर्फ डोहो¥याउँदै समापन भएको छ । हायात होटलमा आयोजित ५२ औं साधारणसभामा देशभरिका उद्यमी व्यवसायीहरुको सहभागिताबाट प्रधानमन्त्री ओली निकै हौसिएका थिए । मुलुकको आर्थिक विकासमा महासंघको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको आर्थिक नीति निर्माण गर्दा होस्, वा वाणिज्य क्षेत्रको समस्या समाधान गर्दा महासंघसँग सल्लाह लिने गरेको बताउँदै महासंघलाई थप बलियो बनाउन महासंघको सहभागितामा सरकारले आर्थिक परामर्श समिति बनाउन थालेको बताएका थिए । महासंघले गाउँ गाउँबाट थालेको एक जिल्ला एक उत्पादनलाई थप मलजल गर्न प्रधानमन्त्री ओलीले कृषि क्षेत्रमा लाग्न महासंघलाई आग्रह गरेका थिए । देशको व्यापारघाटा न्यून गर्न आन्तरिक उत्पादन बढाउनुमा प्रधानमन्त्री ओलीले जोड दिएका थिए ।
प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिमा महासंघसँग सहकार्य गर्न यति ठूलो विश्वास लिइरहेको बेला महासंघ भने प्रधानमन्त्रीलाई निराश बनाउँदै अनिश्चित भविष्यको यात्रामा गुडिरहेको छ । महासंघको ५२ औं साधारणसभाले पूर्वअध्यक्ष चण्डीराज ढकालको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेपछि महासंघको अनिश्चित भविष्यको यात्रा सुरु भएको हो । राजनीतिक पार्टीका नेतालाई सधैँ राजनीतिक स्थिरताको पाठ पढाउने उद्योगी व्यवसायीहरुको संगठन आफैँ अस्थिरतामा रमाउन थालेपछि यसको भविष्यलाई लिएर पूर्वअध्यक्षहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले दृष्टिसँग भने– विधान भन्ने कुरा लहडको भरमा परिवर्तन गर्ने कुरा होइन । विधान भनेको विधि हो । सबै विधान बमोजिम चल्नु पर्नेमा अहिलेको महासंघ विधिविपरीत चलेकोले यो अवस्था आएको हो । वैद्य भन्छन्– हचुवाको भरमा १८ महिना अगाडि विधान संशोधन गरिनु हुन्न भन्ने पक्षमा बहुमत पूर्वअध्यक्षहरु थिए । हुन पनि १८ महिना अगाडि विधान संशोधन गरेर भवानी राणालाई अध्यक्ष, शेखर गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाइएको थियो । महासंघकै इतिहासमा वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने निर्णय गरेको १८ महिना पनि नबित्दै फेरि विधान संशोधन गरेर पुरानै अवस्थामा किन फर्कनु प¥यो भन्ने कुरा वर्तमान नेतृत्वलाई पनि थाहा छैन । यसो हुनुको पछाडि महासंघमा ‘कुकुरले पुच्छर होइन, पुच्छरले कुकुर हल्लाउनु’ नै हो ।
समाचार स्रोतका अनुसार, ढकालको संयोजकत्वमा गठित विधान संशोधन समितिले आठ महिनाभित्र विशेष साधारणसभा बोलाएर अध्यक्षलगायत सबै पदमा प्रत्यक्ष निर्वाचन गराउने प्रावधान राख्न खोज्दैछ । यसो भएमा वरिष्ठ उपाध्यक्ष गोल्छाको स्वतः अध्यक्ष हुने बाटो रोकिने छ । गोल्छालाई अध्यक्ष हुनबाट रोक्नकै लागि चण्डीराज ढकालले यो षड्यन्त्र गरेको आरोप छ । विगतमा ढकालको गोल्छासँग राम्रो सम्बन्ध भए पनि गोल्छाले वरिष्ठ उपाध्यक्ष भएपछि ढकाललाई टेर्न छाडेको कारण ढकाल गोल्छासँग रुष्ट छन् । त्यसैले गोल्छालाई साइजमा ल्याउन ढकालले गत फागुन २५ गते सम्पन्न जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधानलाई ल्याएका थिए । प्रधान यस अगाडि गोल्छासँग वरिष्ठ उपाध्यक्षमा हारेका थिए । अहिले ढकालले तिनै प्रधानलाई बोकेर देश दौडाहा गरिरहेका छन् । प्रधान पनि ‘झर्ला र खाम्ला’ भनेर ढकालकै पछि लागिरहेका छन् । तर, एकथरि महासंघका पूर्वअध्यक्षहरु गोल्छाको पक्षमा छन् । उनीहरु भन्छन्– विधान संशोधन गरेर विगतको गल्ती सच्याइए पनि त्यो विधान आगामी साधारणसभामा होइन, त्यसपछिको साधारणसभादेखि लागू हुनेछ । तर, ढकालको जोड ५३ औं साधारणसभाबाटै संशोधित विधान लागू गराउनेमा छ । त्यसैले ढकाल ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं बहुमत पूर्वअध्यक्षहरुको अभिमतविपरीत दौडधूपमा लागेका छन् । ढकालको यस्तो क्रियाकलापलाई महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले दुर्भाग्य भनेर टिप्पणी गरेका छन् ।

Related News