परदेशमा

–सुनिता गिरी

म कतै हराएकी छैन 
यही पृथ्वीमा 
आज पनि हिँडिरहेकी छु ....

तिमीले नदेखेर के भो 
आकाशले त देख्छ नि मलाई
तिमीले नभेटेर के भो 
बाटोले त भेट्छ नि मलाई
तिमीले नछोएर के भो 
बतासले त छुन्छ नि मलाई

म साँच्चै थाकेकी छैन 
अझै समयसँग 
यसरी लडिरहेकी छु

त्यसो त
पहाडहरूले छेक्न नखोजेका होइनन् 
मेरा पाइलाहरू 
खोला, नदीले रोक्न नखोजेका होइनन् 
मेरो शुभ–साइत 
पहिरोले पुर्न नखोजेका होइनन्
मेरा छायाहरू 
तर म
मै हुँ 
र, मेरो यात्रा गतिशील छ...

म कहिले रोएकी छैन 
बरु यति टाढा परदेशमा 
आफ्नो देश सम्झेर हाँसिरहेकी छु 

हङकङ

Related News