‘लगानीको संवद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ नारासहित पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा, २८ पुस । ‘लगानीको संवद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ नारासहित कास्कीको पोखरामा सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला–२०७४ हिजोबाट पोखरामा सुरू भएको छ । माघ ८ सम्म चल्ने मेलाको कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले बिहीबार उद्घाटन गरेका थिए ।
पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा औद्योगिक घराना लक्ष्मी समूहको उत्पादन सफल दूधको शीर्ष प्रायोजन तथा नेपाल मोबाइल वितरक संघ पोखराको सहकार्यमा मेला आयोजना गरिएको हो । पोखरालगायत मुलुककै औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकला उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादन प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको संघका अध्यक्ष विश्वशंकर पालीखेले जानकारी दिए ।
प्रदेश नम्बर ४ मा व्यवसाय विस्तारको सम्भावना खोजी गरी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्न मेलाले सघाउ पुग्ने आयोजकको विश्वास छ । मेलाले पोखराको समृद्धि र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने पालिखेको भनाइ थियो । 
मेलाको मुख्य आकर्षणका रूपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधि प्रदर्शनी, विभिन्न संघसंस्थाका गतिविधिसँगै दैनिक उपभोग्य वस्तु, घरायसी सामान, लत्ताकपडा, शृंगार, सांगीतिक कार्यक्रम समावेश गरिएका छन् ।
५० लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलाबाट १ करोड १० लाख आम्दानी गरी ५०  लाख बचत र बचत रकमबाट पोखरा प्रदर्शनी केन्द्रमा थप एउटा अत्याधुनिक डोम बनाइने र पोखराको खानेपानी शुद्धीकरण अभियानमा खर्च गरिने पालिखेले जानकारी दिए । 
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालले ४ नम्बर प्रदेश स्रोत–साधनले सम्पन्न रहेकाले सम्भावनायुक्त औद्योगिक उत्पादनमा सहकार्य गर्न निजी क्षेत्र तयार रहेको जानकारी दिए । उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष सञ्जीवबहादुर कोइरालाले देशले अब समृद्धि खोजेकाले आर्थिक एजेन्डासहित काम गर्न राजनीतिक दल इमानदार हुनुपर्ने आवश्यकता औंल्याए ।

Related News