​प्रहरीविरुद्ध ब्यवसायी आन्दोलित

दृष्टि न्यूज

बुटवल, २९ फागुन । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको भन्दै रुपन्देही सदरमुकाम भैरहवाका उद्योगी व्यबसायीहरु प्रहरीविरुद्ध आन्दोलित भएका छन् । 
चोरीका घटनाहरु दिनहुँ भइरहेको यो क्षेत्रमा गए राति व्यवसायीलाई लक्षित गरी गोली प्रहार भएको थियो । भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गए राती मोवाइल व्यवसायी हरिश सेठियामाथि गोली प्रहार गरेका थिए । भैरहवाको हाटबजार नजिकैसेठिया गोली प्रहार भएपनि उनी सकुसल छन् । 
गोली चलाउने एक जना भारतीय नागरिक रम्जान मुसलमानलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । एक थान हतियार र भारतीय मोटरसाइकलसहित पक्राउ परेका रम्जानलाई प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाए पनि पीडीत सेठीयालाई अनावश्यक मानसिक तनाव दिइएको तथा गोली प्रहारलगत्तै सेठीयालाई पक्राउको शैलीमा नियन्त्रणमा लिई आफ्न्त तथा परिवारलाई भेट्नै नदिई राती अबेरसम्म जिल्ला प्रहरीमा राखिएको भन्दै ब्यबसायी थप आक्रोशित बनेका छन् । प्रहरीले चोरी तस्करी नियन्त्रण गर्न नसकेको तथा उद्योगी ब्यबसायीहरुलाई सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै मगंलबार  सिद्धार्थनगर उद्योग वाणिज्य संघको आह्वान बजार बन्द गराइएको छ । 
सघंका अध्यक्ष रामकुमार शर्माले प्रहरी आफ्नो काम र कर्तब्यप्रति बिमुख हुँदै बिभिन्न घटनाहरुप्रति उदासिन र गम्भीर नबनेका कारण बजार बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले घटनालगत्तै रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीलाई फोन गर्दा कुनै जिम्मेवारीवोध नगरी पीडितलाई भेट्टे बातावरणसमेत नमिलाएको र ब्यबसायीलाई नै शंकाको घेरामा राख्ने गरेको गुनासो गरे । मंगलवार उद्योगी ब्यबसायीले घटनाको सत्य तथ्य पत्तालगाई दोषीलाई कार्वाहीको माग र आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरु दोहोरिन नदिने गरी काम गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । जिल्लामा सरुवा भई आएको सुरुको केही महिना सुरक्षा तथा चोरी तस्करीमा सक्रिय देखिएका एसपी ज्ञवालीलाई पछिल्लो समय मातहतका आकर्षक कार्यालयहरुमा आफू निकटका प्रहरी कर्मचारीलाई खटाएर तस्करी फुकुवा गरेको आरोप लाग्दै आएको छ । एसपीको जिल्लामा भइरहेको सेटिङ र उनले सुरक्षामा देखाएको कमजोरीबारे यसअघि दृष्टि न्यूजले उजागरण गरिसकेको छ । 

Related News