ठग युवतीसँग एसएसपीको कनेक्सन

काठमाडौं, २७ भदौ । एक नामुद ठग युवतीलाई प्रहरीका हाकिमले नै साथ दिएपछि अहिले सयौं युवाहरु बिचल्लीमा परेका छन् । प्रहरीको साथ पाएपछि पक्राउ परेर छुटेकी रक्षा बैद्य यतिबेला उल्टै पीडितहरुलाई धम्काउँदै हिंडेकी छिन् । 
उनले आफू अमेरिकन दूतावासको कर्मचारी भन्दै एक सय भन्दा धैरै युवासँग एक करोड ८६ लाख रुपैयाँ असुलेकी थिइन् । महानगरीय अपराध महाशाखाले दुई महिनाअघि उनलाई पक्राउ गरेको थियो । पक्राउ गरेर ठगी मुद्दा दायर गरेपछि पैसा तिर्ने भन्दै कागज गरेपछि अदालतले न्यूनतम धरौटीमा वैद्यलाई छाडिदिएको थियो । 
तर, अदालतको आदेशमा छुटेपछि उनले पैसा दिने कुनै सुरसार गरेकी छै्रनन् । बरामद गरेको गाडी पनि प्रहरीले मिलेमतोमा छाडिदिइसकेको छ । एसएसपी दिनेश अमात्यले उनको गाडी महाशाखाबाट सरुवा भएकै दिन छाडिदिएका हुन् । ‘यदि प्रहरीले गाडि राखिदिएको भए हाम्रो पैसा पाउने सम्भावना थियो,’ एक पीडित भन्छन्,‘एसएसपी नै ठग युवतीसँग मिलेपछि हाम्रो बिचल्ली भएको छ ।’ 
रक्षासँगै कांग्रेसका युवानेता ऋषिकेशजंग शाह पनि पक्राउ परेका थिए । धेरैलाई फसाइसकेकी रक्षाले शाहलाई पनि आफ्नो जालमा फसाएका थिए । शाहले कांग्रेसकै नेताहरुलाई बैद्य दूतावासको कर्मचारी भनेर चिनजान गराएका थिए । सोही अनुसार शाहले सल्यानका आफ्नै कार्यकर्ताहरुको भलो होस् भनेर अमेरिका पठाउने प्रयास गरे  । तर, ती युवती भागेपछि शाह आफैँ फसे । त्यसपछि वैद्य बल्लतल्ल पक्राउ त परिन् तर शाहलाई नै उनले बयानमा पोलिन् । त्यसपछि शाह आफैं हिरासतमा परे । त्यसमा उनको पनि कमजोरी थियो । किनकि पीडितहरुसँग उनले नै पैसा लिएर बैद्यलाई बुझाएका थिए ।  
पोखराको एक अपार्टमेन्टबाट रक्षालाई उनका श्रीमान सुनिल प्रजापतीसहित पक्राउ गरेको थियो । उनीहरुबाट ८८ तोला सुन र  बा १४ च ९२८२ नम्बरको गाडी बरामद भएको थियो । बरामदी मुचुल्कामा नै प्रहरीले चलखेल ग¥यो । सुनलाई बरामदी मुचुल्कामा राख्यो भने गाडीलाई राखेन । सेटिङकै आधारमा उक्त गाडी बरामद मुचुल्कामा नराखिएको स्रोत बताउँछ । जसमा एसएसपी अमात्यले लाभ लिएको स्रोत बताउँछ । 
बैद्यको पेशा नै ठग भएकाले उनले पटक–पटक प्रहरीमा सेटिङ मिलाउँदै आएकी थिइन् । अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेकोदेखि अन्य ठगीका घटनाहरु उनीविरुद्ध छन् । अमेरिका पठाइदिने भन्दै ठगी गरेकोदेखि नक्सालको वेडिङ नेपाल नामक पार्टी प्यालेसलाई ठगी गरेका समेत उजुरी उनीविरुद्ध छन् । तर, उनी निर्धक्क पीडितहरुलाई धम्काउँदै हिंडेकी छिन् ।  

Related News