​प्रहरीमा एआईजी कति जना ?

दृष्टि न्यूज

काठमाडौं, ११ वैशाख । एआईजीको टुंगो नलाग्दा नेपाल प्रहरीमा बढुवा प्रक्रिया अबरुद्ध बन्न पुगेको छ । समयमा बढुवा प्रक्रिया लम्बिदा कतिपय दाबेदारहरु अवकाशको मुखमा पुगेका छन् । 
समयमै संघीय प्रहरी ऐनको टुंगो नलाग्दा यस्तो समस्या देखिएको छ ।  संघीय प्रहरी ऐनमै एआईजीको दरबन्दी कायम गरेर बढुवा गरिने गृह मन्त्रालयका अधिकारीहरुको भनाई छ । तर, छिटो गर्दा पनि ऐन आउन कम्तीमा एक महिना लाग्ने भएकाले प्रहरीका उच्च पदहरु लामो समयसम्म रिक्त रहने सम्भावना बढेको छ । उनीहरुले नियमावली संशोधन गरेर बढुवा प्रक्रिया अघि बढाउन लबिङ सुरु गरेका छन् । 
डिआईजीहरु उत्तम कार्की, छविलाल जोशी, शरद चन्द, पवन खरेलले असार ३० गते ३० वर्षे सेवा हदका कारण अवकाश पाउँदै छन् । उनीहरु एआईजी भएर अवकाश हुन दौडधुपमा लागेका छन् । 
 एआईजीपछिको मारामार डिआईजी बढुवामा हुनेछ । एआईजीको दरबन्दीले डिआईजी बढुवामा कति पद रिक्त रहने भन्ने तय हुन्छ । डिआईजी बढुवामा खासगरी भावी आईजिपीका दाबेदारहरुबीच टक्कर छ । अहिलेकै प्रावधानअनुसार २०७६ साल फागुन २६ गते प्रहरीमा नयाँ नेतृत्व चयन हुन्छ । जसमा मुख्यगरी अहिलेका तीन एसएसपी दाबेदार छन्। तारिणीप्रसाद लम्साल, ठाकुर ज्ञवाली र सूर्य प्रसाद उपाध्याय आईजिपीका दाबेदार हुन् । उनीहरुमध्ये अहिले पहिलो नम्बरमा जो बढुवा हुन्छ उही भावी आईजिपीको प्रबल दाबेदार हुने भएकाले डिआईजी बढुवामा तिव्र प्रतिस्पर्धा छ । 
प्रहरीमा एआईजी, डिआईजी जस्ता पदहरु रिक्त रहँदा भद्रगोल अवस्था छ । प्रदेश कार्यालयहरु एसपीको कमाण्डमा चलेका छन् भने सबै विभागहरु निमित्तको भरमा छ । 
उता सशस्त्र प्रहरीमा हचुवाको भरमा एआईजीको दरबन्दी थप्दा अहिले समस्या उत्पन्न भएको छ । बढुवा भएको तीन महिनासम्म ५ एआईजीको पदस्थापन भएको छैन । त्यसकारण नेपाल प्रहरीमा यसपटक व्यक्तिका लागि दरबन्दी सिर्जना गर्ने परिपाटी अन्त्य गर्न लागिएको छ । 
संघीय प्रहरी ऐन अन्तिम चरणमा पुगेकाले यही बेला केही प्रहरी अधिकारीहरु ३० वर्षे सेवा हद हटाउन पनि लबिङमा लागेका छन् । 

Related News