ढल्केबर–मुजफ्फरपुर विद्युत् पिपिए नवीकरण

दृष्टि न्यूज

काठमाडौं, १५ चैत । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको नयाँ विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । नयाँदिल्लीमा सोमबार, मंगलबार र बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय पक्षबीच सन् २०१८ अप्रिलबाट लागू हुने गरी १५ महिनाको पिपिए भएको हो ।
अब पिपिएको म्याद जुन २०१९ सम्म रहनेछ । गत २७ डिसेम्बर २०१७ मा नवीकरण भएको पिपिएको म्याद यही १७ चैत (३१ मार्च)मा सकिँदै छ । पिपिएमा कार्यकारी निर्देशक घिसिङ र एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले बुधबार नयाँदिल्लीमा हस्ताक्षर गरेका हुन् ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले पिपिए हस्ताक्षरपछि ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत १२० मेगावाट विद्युत् आयात सुनिश्चित भएको बताए । ६ महिनाका लागि प्रतियुनिट ३.९८ भारतीय रुपैयाँ र त्यसपछि बाँकी अवधिका लागि उक्त मूल्यमा पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको उनले बताए ।

Related News