​देउवाको एकै फोनबाट नियुक्ति चट्

काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै गुटलाई भागबन्डा लगाएर मन्त्री पद बाँडफाँड गरे । बाँडफाँडमा सूचना तथा सञ्चार मन्त्रालय खुमबहादुर खड्का गुटको भागमा प¥यो । खड्काले आफ्ना गुटका धेरै सांसदहरुलाई मन्त्री बनाउने आश्वासन दिएर पैसा लिए, तर मन्त्री भने मोहन बस्नेतलाई बनाए । 
बस्नेत सञ्चारमन्त्री भएपछि अहिले मन्त्रालय अन्र्तगतका नियुक्ति, सरुवा तथा टेण्डरहरुमा चलखेल सुरु भइसकेको छ । मन्त्रालय अन्र्तगत नियुक्ति गर्ने एउटा अखडा चलचित्र बिकास बोर्ड हो । दूई महिनादेखि चलचित्र बिकास बोर्डको अध्यक्ष पद रिक्त छ । जसमा कांग्रेसनिकट एक दर्जन कलाकारहरु दौडधुपमा लागेका छन् । जसमध्ये निर्माता प्रभुशमशेर जबराले मन्त्री बस्नेत र नेता खड्कालाई प्रभावमा पार्न सफल भए । उनलाई नै बोर्डको अध्यक्ष बनाउने तय भयो, तर प्रधानमन्त्री देउवाको एक फोनपछि उनको नियुक्ति रोकिएको छ ।  नियुक्ति रोकिनुको कारण निकै रमाइलो छ । 
प्रभु शमशेर सर्वाेच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाका आफ्नै भाइ हुन् । चोलेन्द्रले खड्कालाई गुन लगाएका छन् भने देउवालाई ठूलै धक्का दिएका छन् । खड्काको भ्रष्टाचार मुद्दामा राणाले पुनरावेदनको निस्सा दिएका थिए । तर, सुशीला कार्कीलाई महाभियोग लगाउने देउवा र प्रचण्डको निर्णयलाई उनै चोलेन्द्रले अन्तरिम आदेशमार्फत् असफल बनाइदिएका थिए । जसका कारण देउवा चोलेन्द्रसँग रुष्ट छन् । उनै चोलेन्द्रका भाइलाई बिकास बोर्डमा नियुक्त गर्न लागेको थाहा पाएपछि उनले नियुक्ति रोकेका हुन् । देउवाको अस्वीकृतिपछि बिकास बोर्डको अध्यक्षका लागि नयाँ चलखेल सुरु भएको छ । पूर्वअध्यक्ष राजकुमार राई समेत फेरि नियुक्त हुन पैसा बोकेर हिंडेका छन् । 

Related News