​प्रधानमन्त्री बन्ने ओलीजीकै वढी सम्भावना देखेको छु- पुष्पकमल दाहाल ‘प्रचण्ड’

दृष्टि न्यूज

वाम गठबन्धनको जितलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि अपहरिहार्य छ भनेर वाम गठबन्धन गरिएको हो । परिणाम आउँदै गर्दा आम नेपाली जनजताले वाम गठबन्धनलाई अनुमोदन गरेका छन् । अब यो जनतामाझ स्थापित भईनै सक्यो । अब जनताको अपेक्षा भनेको आर्थिक विकासलाई नयाँ गति दिने, राजनीतिक स्थायित्व दिने र देशमा समृद्धिको नयाँ यात्रा सुरु गर्ने हो । 
दोस्रो र तेस्रो शक्ति मिल्दा पहिलो शक्ति हुनु स्वभाविक हो, यो जितसँग विचार वा दर्शनको साइनो छैन भन्ने टिप्पणी पनि गरिन्छ नि, के भन्नुहुन्छ ?
यो तर्कमा कुनै तथ्य र आधार छ भन्ने मलाई लाग्दैन । वाम गठबन्धनप्रति देशभर देखापरेको जनताको उभार राम्रै महसुस गर्न सकिन्छ । अर्को पक्षमा कहीँ न कहीँ हतास अवस्था देखिन्थ्यो । राजनीतिक स्थायित्व हुने भयो भनेर आम जनतामा एउटा विश्वास देखियो । गएको ७० वर्ष कहिल्यै ५ वर्ष सरकार चलेन । कांग्रेस, राप्रपादेखि सबै पार्टीका मानिसहरू भनिरहेका थिए कि अब स्थायित्व हुने भयो । यो जनताको फैसला हो । 
यो गठबन्धनले स्थायित्व र समृद्धि ल्याउँछ भन्ने आधार के ? किनकि तपाईँहरूसँग जुटभन्दा बढी फुटको इतिहास छ । 
फुट्न त सबै फुटेका छन् । २०१९ सालको तेस्रो महाधिवेशनपछि कम्युनिस्टहरू फुट्न थाले । यसको एउटा अन्तर्राष्ट्रिय आयाम पनि छ, राष्ट्रिय आयाम पनि छ । १९ सालदेखि अहिलेसम्मको स्थितिलाई हेर्दा अब कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी छ भन्ने निष्कर्षमा हामी ठूला पार्टी पुगेकै हो । खाली कम्युनिस्टलाई एकताबद्ध गर्ने उद्देश्यमात्रै यसमा छैन । कम्युनिस्टलाई एकताबद्ध गर्ने कुरा त छँदैछ, साथसाथै देशमा नयाँ राजनीतिक वातावरण, जनतामा नयाँ आत्मविश्वास पैदा गर्ने र छिटोभन्दा छिटो आर्थिक प्रगतिमा लैजाने उद्देश्यद्वारा प्रेरित छ । जनअनुमोदन पनि भइसकेकोले यसले लामो दूरी पार गर्छ भन्ने मलाई लाग्छ । नेपाल नयाँ युगमा प्रवेश गरेको मैले महसुस गरेको छु । आउने केही महिना र हप्ताभित्र प्रायः सबै कम्युनिस्टहरू एकै केन्द्रमा आउँछन् । शान्ति प्रक्रियामा आउने बित्तिकै मैले पार्टीमा वामपन्थी एकताको प्रस्ताव पेश गरेको थिएँ र सर्वसम्मतिबाट पारित भएको थियो । त्यसलाई निष्कर्षमा पु¥याउन झण्डै ११ वर्ष समय लाग्यो । तर यो कम्युनिस्टका लागि मात्र होइन, आम नेपालीको लागि खुसीको कुरा हो । 
तपाईँको पार्टीको स्थिति पनि राम्रो भएको छ । यसरी हेर्दा एमालेसँगको गठबन्धनको योगदान कति रह्यो ?
वाम गठबन्धनले सकारात्मक ढंगले योगदान त ग¥यो नै । एमाले–माओवादीबीच पार्टी एकता संयोजन समिति नै बनेको छ । पछाडिको अर्को पाटो पनि बिर्सनु हुँदैन । माओवादी फेरि एकताबद्ध हुने प्रक्रिया सुरु भएको थियो एक वर्षदेखि । त्यसको सकारात्मक नतिजा देखिन थालेको थियो । स्थानीय तहको चुनावमा कतिपयलाई लागेको थियो– माओवादी त चौँथो वा पाँचौ हुन्छ वा हराउँछ । हामीले साबित ग¥र्यौँ कि, माओवादी केन्द्र यस्तो शक्ति हो– जसलाई कसैले पनि माइनस गर्न, इन्कार गर्न वा अस्वीकार गर्न सक्दैन । तल गाउँसम्म पनि माओवादीको संगठन रहेछ भन्ने स्थानीय तह चुनावले पुष्टि ग¥यो । राजनीतिक भूमिकाका हिसाबले पार्टी र नेतृत्व एक नम्बरमै थियो, र छ । तर संगठन हिजो केही बिग्रेकै थियो । विभाजनको पीडा थियो । तर यो क्रमशः उकालो लाग्दै थियो । फेरि ठिक त्यही बेला नेकपा एमाले र माओवादीको बीचको गठबन्धन बनेपछि र पार्टी एकताको संकल्प गरेपछि गुणात्मक मद्दत ग¥यो । 
माओवादी एक्लैले यो अभियानको नेतृत्व गर्न पाएको भए जस लिन पाइन्थ्यो भन्ने लाग्दैन ?
त्यस्तो लाग्दैन । ती मुद्दा स्थापित गर्नुभन्दा पहिला नै कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने ऐतिहासिक आवश्यकता छ भन्ने मलाई त्यतिबेलै लागेको थियो । शान्ति सम्झौताकै बेला एमाले माओवादी एकै ठाउँमा हुनुपर्छ भनिएको थियो । दोस्रो कुरा, माओवादीले उठाएका मुद्दा त स्थापित भइ नै सके । हामीले युद्धमा उठाएका संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता त राष्ट्रका मुद्दा भइ नै सके । मैले दोस्रोपटक प्रधानमन्त्री भएर संविधान कार्यान्वयनको नेतृत्व गर्ने अवसर पनि प्राप्त गरेँ । संविधान बनाउँदा ती सबै मुद्दा मुख्यतः माओवादीका हुन् । त्यसकारण मलाई एमालेले जित्दा पनि माओवादीले जितेजस्तो लाग्छ, कांग्रेसले जित्दा पनि माओवादीले जितेजस्तो लाग्छ भनेर धेरै चोटी भनेको छु । त्यो भन्नुका पछाडि गम्भीर अर्थ छ । किनभने हिजो यी मुद्दाहरूमा सबैको समर्थन त थिएन नि । हामी एक्लै लड्नुपरेको थियो । अहिले त जसले जिते पनि गर्ने काम त संघीय लोकतान्त्रिक गणतन्त्रकै काम गर्न प¥यो । अब फर्केर कोही राजतन्त्रमा जाने त छैन । कोही धर्म सापेक्षतामा जाने पनि छैन । कोही अब महिलाको ३३ प्रतिशत प्रतिनिधित्वबाट पछि हट्न सक्छ त ? हामी दलित महिला भनेर लड्यौँ । अहिले एमाले आउँदा पनि महिला नै आउँछन ् । कांग्रेस आउँदा पनि महिला नै आउँछन ् ।मलाई गर्व छ कि यो हाम्रो लडाइँको महान जित हो । सबै अधिकार सम्पन्न हुनेतिर गयो । मैले त्यसरी हेर्दिन जसरी मानिसहरूले हेर्छन् । मेरो हेराइ कस्तो छ भने जसले जिते पनि क्रान्तिले जित्यो, परिवर्तनले जित्यो, न्यायले जित्यो । उत्पीडनका विरुद्ध संघर्षले जित्यो भन्ने लाग्छ । 
जनआन्दोलनका मुख्य घटकहरू सँगै जान पाएको भए संविधान कार्यान्वयन अझ सजिलोसँग हुन्थ्यो । अब खुम्चिएको कांग्रेसबाट त्यो सहयोग प्राप्त होला ?
नेपाली कांग्रेसको संख्या अहिले अलिकति खुम्चिएको पक्कै पनि छ तर नेपाली कांग्रेस आत्तिनुपर्ने स्थिति छैन । मलाई लाग्छ समानुपातिकबाट उहाँहरूको राम्रै मत आउँछ । त्यसबाट आउने प्रतिपक्षीको भूमिका महत्वपूर्ण नै हुन्छ । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने, ऐन कानुन बनाउन बाँकी कुराहरूमा सहमति गर्ने कुरामा नेपाली कांग्रेसले फेरि पनि सक्रिय भूमिका खेल्नुपर्छ । किनकि प्रतिपक्ष भनेको पनि ‘गभर्न्मेन्ट इन वेटिङ’ हो । शान्ति सम्झौताबाट यो राजनीतिक प्रक्रिया सुरु भएको हो । शान्ति सम्झौताको प्रमुख घटक हुनुको नाताले नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहन्छ र कांग्रेससँग निरन्तर सम्वाद र सहकार्यको स्थिति भइराख्नुपर्छ । समाजवादतर्फको यात्रा जसरी वीपीले परिकल्पना गर्नुभयो, या गिरिजाबाबुले जे योगदान गर्नुभयो त्यो सबै सम्झेर नेपाली कांग्रेसले आफैलाई सच्याउन पनि बल गर्नुपर्छ । पक्कै पनि बिचमा नेपाली कांग्रेसभित्र असाध्यै धेरै आर्दशविहीन जस्तो राष्ट्रियता प्रजातन्त्र समाजवाद भन्ने कुरा कता हो कता । सबै स्वार्थतिर दौड्याजस्तो देखिएको थियो । यो अवसर पनि हो नेपाली कांग्रेसले आफूलाई करेक्सन गर्ने । 
कांग्रेसको त्यो अस्पष्टताले अहिलेको परिणामलाई सघाएको हो ?
एक हदसम्म हो । कांग्रेसभित्रको अराजकता र गुटबन्दी असाध्यै धेरै स्वार्थकेन्द्रित व्यक्तिवाद चरममा पुगेको हुनाले पनि वामपन्थीहरूलाई मद्दत पुगेकै हो । यो सकारात्मक कुरा त होइन, तर नेपाली कांग्रेसको लागि पनि हामीले वाम गठबन्धन गरिदिएर आफूभित्रको समस्या समाधान गर्न मद्दतै गरेका छौँ । आफ्ना कमजोरी सच्याउने र फेरि त्यसलाई वीपीको जस्तै या गिरिजाबाबुले गर्न खोजेको जस्तै त्यही ठाउँतिर लैजाने अवसर छ कांग्रेसलाई । पाँच वर्ष लाग्ला त्यो ठूलो कुरा होइन । 
वामपन्थीको सरकार बन्न लाग्यो, मुलुकमा अधिनायकवाद आउँछ भन्ने टिकाटिप्पणी छ । यदि कमजोर प्रतिपक्षी भयो भने गठबन्धनभित्र अराजकता बढ्ने सम्भावना देख्नुहुन्छ ?
गठबन्धन पूरै सर्तक पनि छ । कांग्रेससमेत भएर सबै मिलेर बनाइएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानप्रति गठबन्धन सम्पूर्णरुपले प्रतिबद्ध छ । त्यसकारण कम्युनिस्टहरू मिल्यो भने अधिनायकवाद आउँछ भन्ने कुरा त्यति नै असत्य र झुटो कुरा हो जति असत्य ६० वर्ष पुगेपछि कम्युनिस्टहरूले त मान्छे मार्छन् भनेर भनिन्थ्यो । इतिहास हेर्नुभयो भने कम्युनिस्टहरू जति उदार र लोकतन्त्रवादी छन्, कांग्रेसले आफूभित्र त्यो सिद्ध गर्न कहिल्यै पनि सकेको छैन । वीपीको बेलाको कुरा छोडिदिउँ पछिको हेर्नुभयो भने कांग्रेसले आफूलाई व्यवहारमा नै लोकतन्त्रवादी हुँ भनेर सिद्ध गर्न जरुरी छ । कांग्रेसलाई जनताले पटक–पटक अवसर नदिएको होइन नि । बहुमत नै दिएको हो नि । 
कांग्रेसलाई बहुमत त जनताले दिएको हो नि । तर पार्टी नै फुट्यो । त्यस्तै अवस्था फेरि बाम गठबन्धनभित्र नहोला भन्न सकिन्छ र ?
गठबन्धनभित्र त्यस्तो होला भन्ने मलाई लाग्दैन । किनभने गठबन्धनको अगाडि वामपन्थी कम्युनिस्टहरू राष्ट्रपति इमान्दार छन, विकास र समृद्धिको लागि समर्पित छन् भनेर साबित गर्ने ठूलो अवसर हो । म यसलाई अग्निपरीक्षा भन्छु । यो परीक्षामा कम्युनिस्टहरू, वामपन्थीहरू उत्तीर्ण भएनन् भने त्यसपछि वामपन्थीले यति राम्रो अवसर पाउँछन् भन्ने लाग्दैन । यो अवसरको सदुपयोग गर्ने कुरामा एमालेको नेतृत्व पनि सचेत छ, गम्भीर छ । हामी माओवादी केन्द्रको नेतृत्व पनि सचेत छ र गम्भीर छ । यसअर्थमा यसलाई पाँच वर्षको जुन यात्रा सुरु हुँदैछ अब कम्तिमा पनि ५० वर्ष जाओस् । मैले जनताको अगाडि भनेको छु । अब हामीले राम्रो गर्न सकेनौँ भने यो देशको भाग्य भविष्य के होला भन्ने फेरि प्रश्नचिन्ह खडा हुने अवस्था नआओस् भन्ने मेरो बुझाई छ र कोसिस पनि त्यही छ । 
को प्रधानमन्त्री बन्ने ? केपी ओली कि प्रचण्ड भन्ने टिकाटिप्पणी सुरु भइसकेको छ । को हो अबको प्रधानमन्त्री ?
यसमा ठूलो समस्या छैन । केपीजी र म बसेर को हुने भनेर छलफल त भएको छैन । तर पार्टी एकता संयोजन समितिमा दुईवटै पार्टीका अध्यक्ष रहेकोले दुईटैको कार्यकारी भूमिका हुनेमा कुनै शंका छैन । तर अहिले संख्याको हिसाबले पनि सबै हिसाबले एमालेले सरकारको नेतृत्व गर्ने कुरा सबैले बुझ्न सक्छन् । मलाई त्यस्तो कुनै आपत्ति हुने कुरा पनि छैन । तर पनि यो विषय जसरी बाहिर अलि चर्कै पर्छ कि, भन्ने चर्चा चलेको देख्छु , यो हाम्रो दृष्टिमा अहिले भर्खरै जटिल विषय हुनेवाला छैन । हामीले यो विषयलाई सैद्धान्तिक हिसाबले पनि, भावनात्मक हिसाबले पनि हल गरिसकेको विषय हो । औपचारिक निर्णय नहुँदै बोल्न मलाई थोरै अप्ठ्यारो भएको हो । 
सम्भावना केपी शर्मा ओलीको देखियो होइन ?
बढी सम्भावना त्यहीँ छ । 
पहिला सरकार निर्माण वा पार्टी एकीकरण ?
निर्वाचनको सबै परिणाम आइसकेपछि हामी पार्टी एकता संयोजन समितिमा तुरुन्तै बस्छौँ । हाम्रो कोसिस सकेसम्म पार्टी एउटै बनाएर सरकार बनाउनतिर हुन्छ । तर सरकार बनाउन ढिला गर्न नहुने प्राविधिक कानुनी कारणले त्यसो भएछ भने पनि पार्टी एकताको सम्पूर्ण योजना कार्यक्रम बनाएर सरकार बन्छ । 
वामपन्थी सरकार बनेपछि जनताले के फरक महसुस गर्छन् ? मन्त्रालय भागबन्डा, मन्त्रीहरूको ठूलो संख्या, मन्त्रालय फुटाउने जस्ता प्रवृत्ति । 
त्यस्तो हुँदैन । हामी वामपन्थीहरू नै मिलेर सरकार बनाउँदा धेरै किचलो भएको स्थिति होइन । त्यसकारण सरकार निर्माण, मन्त्रालय बाडफाड आदिमा पनि भिन्न महसुस गर्नेगरी हामी जान्छौँ । दोस्रो कुरा हामीले पहिलै भनेका छौँ वामपन्थीहरूको सरकार बनेपछि वृद्धहरूलाई ५ हजार भत्ताको कुरा गरेका छौँ । सुशासनको कुरा गरेका छौँ । ५ हजार डलर प्रतिव्यक्ति आय १०वर्षभित्र पु¥याउने कुरा गरेका छौँ । विकास निर्माणलाई गति दिने, युवाहरूलाई रोजगार र स्वरोजगारको व्यवस्था गर्ने कुरा गरेका छौँ । विद्युतीकरणको कुरा गरेका छौँ । जनताको अगाडि गरिएका यी संकल्पहरू योजनाबद्ध ढंगले अगाडि बढाउने हाम्रो पहल हुन्छ । यसअर्थमा जनताले के देख्नेछन् भने वामपन्थीको बहुमतको सरकार हुँदा देशले स्थिरता पनि पायो सुशासन पनि पायो विकास पनि पायो भन्ने गरी हामी जान्छौँ । 
यी सबै हुन्छन् भन्ने आधार के छ ? यी सबै जे भन्नुभएको छ, त्यो सरकारले खल्तीबाट दिने त होइन । ती आधार बनाउन अब बन्ने सरकारले सक्छ ?
त्यो आधार तयार गर्न सकिन्छ भन्ने विश्वासको साथ नै हामीले ती कुरा जनताको अघि राखेको हो । नेपालमा स्थायित्व नहुँदा विकासले गति लिन सकेन । हामीसँग विकासको सम्भावना नभएर हामीसँग साधन स्रोत र आधार नभएर हामी गरिब भएको होइन । राष्ट्र गरिब भएको वास्तवमा स्थायित्व र स्थिरता नभएर नेतृत्वको इच्छाशक्ति नभएर हो । विद्युतीकरणमात्र राम्रोसँग ग¥यो भने प्रसस्त आम्दानी गर्न सकिन्छ । थुप्रै खनिजहरूको कुरा छ । पूर्व पश्चिम रेलमार्गको कुरा छ । केरुङबाट लुम्बिनी जाने कुरा छ । काठमाडौं आउने रेलवेको कुरा छ । तपाईँ कल्पना गर्नुस् यी सबै विकास निर्माणका कुरा र पर्यटनदेखि कृषिमा आधुनिकीकरण गर्ने प्रचुर सम्भावना हामीसँग छ । यिनलाई सदुपयोग ग¥यो भने हामीले राष्ट्रिय आयमा क्रान्तिकारी ढंगले वृद्धि गर्न सकिन्छ । मैले निकै प्रतिकुल परिस्थितिमा काम गर्दा आर्थिक वृद्धिदर साढे ७ प्रतिशत पु¥याउन सकियो । अब त वामपन्थीको बलियो सरकार हुन्छ । 
माओवादीले जातीय मुद्दाहरूलाई पनि राजनीतिको मूलधारमा ल्यायो । तर अहिले तपाईँहरू एकसूत्रीय रुपमा आर्थिक समृद्धि भनिरहनुभएको छ । अब नेपालमा जातीय मुद्दाको राजनीति सकिएको हो ? के अब आर्थिक समृद्धि नै मूल नारा हो ?
आर्थिक समृद्धिले नै धेरै समस्याको हल गर्छ । जहाँसम्म जातीय मुद्दाको विषय छ माओवादीले गरेको भनेको उत्पीडन विभेद र शोसणको अन्त्यको कुरा गरेको हो । जातीय द्वन्द्वको कुरा गरेकै होइन । माओवादी विद्रोहको १० वर्षमा एउटा पनि जातीय विद्वेषको घटना केही पनि भएको छैन । पछि मानिसहरूले त्यसलाई अपव्याख्या हुन थाल्यो । म एउटा कुरा नेपाली जनताको अगाडि स्पष्ट ढंगले राख्न चाहन्छु । अपव्याख्या भयो । मधेस अलगाववादतिर जाने हो कि, जनजाति र खसआर्यको बीचमा विभेद हुने हो कि भनेजस्तो । देशै टुक्रिने हो कि भनेजस्तो प्रश्न पनि गरे । माओवादीले त जातीय सद्भाव र एकतालाई बलियो पार्छ । त्यतिबेला मात्र राष्ट्रिय एकता बलियो हुन्छ जतिबेला सबैले आफूलाई अन्याय गरिएको छैन विभेद गरिएको छैन भन्ने ठान्छन्, त्यतिबेला राष्ट्र एकताबद्ध हुने हो । तर बिचमा अलगाववादीहरू जातीवादीहरू साम्प्रदायिक प्रवृत्तिले टाउको उठाउन खोज्यो । अब त्यो समस्या मूलभूत रुपमा समाधान भएको छ । अन्य असन्तुष्टि संविधान संशोधनको माध्यमबाट क्रमशः समाधान हुँदै जान्छ । 
केपी ओलीको ‘राष्ट्रवादको भिजन’लाई निर्वाचनले अनुमोदन गरेजस्तो देखियो । अब बन्ने वामपन्थीहरूको सरकारले छिमेकी मित्रराष्ट्रहरूसँग कसरी डिल गर्छ ?
हामीले कुनै पनि अतिवादी सोच्ने कुरालाई प्रोत्साहित गर्नु हुँदैन । चाहे मधेसी राष्ट्रवाद भनेर अलगाववादतिर जाने कुरा होस् वा अरु कुनै । राष्ट्रवादको आ–आफ्नो व्याख्या हुन्छ तर कुरोको चुरो के हो भने आफ्नो भूगोलभित्र भएका सबै जाति वर्ग समुदायको एकता नै हो । त्यो एकतालाई प्रबर्द्धन गर्ने राष्ट्रवादी भयो । फूटलाई प्रबद्र्धन ग¥यो भने त्यो राष्ट्रवादी हुँदैन । हामी वामपन्थी र कम्युनिस्टले एकतालाई नै प्रर्वधन गर्नुपर्छ । राष्ट्रको एकता र स्वाधिनता, भौगोलिक अखण्डताको पक्षमा नै उभिएका छौँ । तपाईँले केपीजीको कुरा गर्नुभयो, ठिक हो उहाँले एक ढंगले गर्नुभयो । तर त्यतिबेला नाकाबन्दीमा म पनि छु त्यहीँ । हामी सँगै छौँ । वामपन्थीहरू सबैको राष्ट्रियताप्रतिको बुझाइमा इतिहासदेखि नै एउटा बुझाइ छ । देशभक्तिपूर्ण आन्दोलनप्रतिको लगाव र निष्ठा, त्यो धेरै माथि छ । फेरि हामी कसैसँग झगडा गर्न चाहेका चाहिँ छैनौँ । हाम्रा ठूला छिमेकी छन् । हामी भूपरिवेष्ठित छौँ । तर छिमेकीहरूले पनि हामी माथि कुनै खालको दबाब र हस्तक्षेप नगरुन भन्ने हाम्रो चाहना छ । आम नेपाली जनताको पनि त्यही चाहना छ । २१ औँ शताब्दीको नयाँ सन्दर्भमा विश्वमा धेरै परिवर्तनहरू भएका छन् । यस्तो बेलामा हामीले भारत र चीन दुबैसँग असल छिमेक सम्बन्ध बनाउनेतिर नै वामपन्थी सरकारको जोड हुन्छ । पहिलापहिला राजामहाराजाहरूले राष्ट्रियता भनेको देशभित्रका जनतालाई फुटाउने, एउटा व्याख्या गर्ने, खस आर्यको वा हिन्दु अतिवादको राष्ट्रियतालाई नै राष्ट्रियता हो भन्नेजस्तो व्याख्या राजामहाराजाको व्याख्या हो । अनि कसैलाई भारतपरस्त भनिदिने अनि कसैलाई चीन परस्त बनाइदिने । चीन परस्त र भारतपरस्त भनेर पार्टीहरूलाई फुटाइदिइसकेपछि आफ्नो शासन लम्बिने भया े । 
त्यो त अहिले पनि छ नि । कोही भारत समर्थक वा कोही चीन समर्थक वा विरोधी भनेर त अहिले पनि सुनिन्छ नि । तर हाम्रो विदेश नीति बनाउन वामपन्थी सरकारले कहिले सुरु गर्छ ?
बिलकुल गर्नैपर्छ । राजतन्त्र अन्तर्गत चीन परस्त र भारतपरस्त बनाइयो नेपालीलाई । अब कुनै राजनीतिक पार्टी कुनै नेता न भारतपरस्त हुने हो न चीनपरस्त । हामी नेपाल परस्त नै हुने हो । हाम्रो विदेश नीति नेपालपरस्त नै हुन्छ । हामी छिमेकीसँग र विदेशीसँग राम्रो सम्बन्ध चाहन्छौँ । अब यो परस्त र ऊपरस्त भन्ने व्याख्याबाट हामी नेपालपरस्त । नेपालको राष्ट्रिय हीतको रक्षा गर्दै विदेश सम्बन्ध राख्ने । त्यो कुरा दुनियाँले प्रष्ट देखोस् कि नेपालका कम्युनिस्टहरूले सन्तुलित विदेश नीति अपनाएका छन् । छिमेक सम्बन्धी नीति पनि सन्तुलित अपनाएका छन् भनेर देखोस् । त्यसो गर्नलाई हाम्रो राष्ट्रिय हीतलाई प्राथमिकता दिएर त्यसको पक्षमा हामी बोल्नु कसैका विरुद्ध बोलेको ठानिनु हुँदैन । यही नै हाम्रो विदेश नीतिको मूल आधार बन्छ । 
हरेक पटक वामपन्थीको सरकार बन्दा निजी क्षेत्र संशकित देखिन्छ । निजी क्षेत्रलाई कसरी आस्वस्त पार्नुहुन्छ ?
निजी क्षेत्र संशकित हुनुपर्ने कुनै आधार छ जस्तो मलाई लाग्दैन । किनभने निजी क्षेत्रसँग सहकार्य नगरीकन आर्थिक विकासले गति लिन सक्दैन भन्ने कुरामा वामपन्थी गैरवामपन्थी सबै सहमत नै छन् । दोस्रो कुरा तपाईँ हेर्नुभयो भने वामपन्थीको नेतृत्वको सरकार भएको बेला सबैभन्दा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने काम भएका छन् । मेरो नेतृत्वको सरकार हुँदाकै कुरा गर्ने हो भने पटकपटक अन्तर्राष्ट्रिय गोष्ठीहरू भएका छन् । निजी क्षेत्रका संघसंस्था छन् जस्तोः उद्योग वाणिज्य महासंघ । उहाँरहरूका आवश्यकता तुरुन्तातुरुन्तै क्याबिनेटबाट पास गरेर पूर्ति गर्ने कोसिस गरेको छु । हामीलाई त बरु माओवादीसँग काम गर्दा पो सजिलो भयो, निजी क्षेत्रका काम फटाफट अगाडि बढेको त कम्युनिस्टहरूको नेतृत्वको सरकारमा भयो । कम्युनिस्टहरूले निजी क्षेत्रमाथि अंकुश लगाउँछन् भनेको त झन् बढी उदारतापूर्वक निजी क्षेत्रलाई प्रोत्साहित गर्ने काम वामपन्थीले गरे भनेर उद्योग वाणिज्य महासंघका पदाधिकरीले नै अन्तर्रा्ष्ट्रिय समुदायका कतिपय प्रतिनिधिहरूसँग भनेको स्थिति छ ।
(चितवन क्षेत्र नम्वर ३ वाट प्रतिनिधीसभाका लागि निर्वाचित भएपछि एपीवान एचडि टेलिभिजनले गरेको कुराकानीको सम्पादित अंश) 

Related News