​प्रचण्ड देश विकासमा केन्द्रित

काठमाडौं, १५ मंसिर । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ नम्बर क्षेत्रका बुद्धिजीवीले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा देशलाई विकास गर्न बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै चितवनको विकासका लागि योजना बनाउन आफूलाई सुझाव दिन आग्रह गर्नुभयो । 
अध्यक्ष प्रचण्डले देश विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताउनुभयो । प्रचार अभियानमा रहनुभएका अध्यक्ष प्रचण्डले बिहीबार पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो, जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्नेछु । उहाँले निर्वाचनपछि प्रमुख कार्यकारीको विषय उठाउनहुने बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो– जनताले विकास र समृद्धि चाहेका छन् । त्यसमा पनि सडक, बिजुली र खानेपानी छन् । नदी तटबन्धन र वन्यजन्तुबाट सुरक्षा जनताको माग छ । यी काम पूरा गर्न सक्छौं ।
प्रचण्डले अगाडि भन्नुभयो– बदलिँदो परिवेश र जनताको तीव्र आकांक्षाअनुसार आफूहरुले काम गर्न नसकेको स्वीकार गर्दै भन्नुभयो– ‘त्यस कारण पनि जनताको खास अपेक्षा के हो भनेर बुझ्न घरदैलो अभियानमा आएको हुँ ।’
यसैबीच अध्यक्ष प्रचण्डले जेष्ठ नागरिकको सम्मानमा कमी हुन नदिने बताउनुभएको छ । शिवनगरमा आयोजित जेष्ठ नागरिकसँगको भेटघाटमा प्रचण्डले भन्नुभयो, कम्युनिष्टले ज्येष्ठ नागरिकलाई जहिल्यै सम्मान गर्छ । वामपन्थीको सरकार बनेपछि सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याइने पनि बताउनुभयो ।
पश्चिम चितवनको मंगलपुरमा आयोजित चुनावी सभामा बोल्दै प्रचण्डले भन्नुभयो– एकै व्यक्तिलाई विद्रोह र शान्ति प्रक्रियाको नेतृत्व गर्दै संविधान निर्माण गर्ने अवसर कमै मान्छेलाई जुट्छ । विद्रोह, शान्ति प्रक्रिया र संविधान निर्माणमा मलाई जनताको साथ मिल्यो, अब विकास र समृद्धिको नेतृत्व पनि गर्ने अवसर चितवनले दिनेछ । 

Related News