​प्रचण्डः उदाउँदो सूर्य

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । कमरेड पुष्पलाल श्रेष्ठले २००६ सालमा स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी अनेक हण्डर र ठक्कर खाँदै झण्डै ७० वर्षपछि नेपाल कम्युनिष्ट पार्टीकै नाममा स्थापित भएको छ । २००६ सालमा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी किन स्थापना गरे र त्यो आन्दोलनमा जननेता मदन भण्डारी किन सामेल भए भन्ने कुराको जवाफ कम्युनिष्ट नेताहरुले अब भाषणमा होइन, परिणाममा दिनुपर्ने बेला आएको छ । नेपालमा राणा शासन अन्त्य हुँदै गर्दा जन्मिएको नेपाल कम्युनिष्ट पार्टी आज गणतान्त्रिक नेपालको मालिक बनेको छ । केपी शर्मा ओलीको नेतृत्वमा दुईतिहाई बहुमत प्राप्त सरकार छ । राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रदेश सरकारका प्रमुखमा समेत कम्युनिष्ट पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु छन् । यो परिणाम आउनुको एउटै कारण चुनावी गठबन्धन थियो । हिजो चुनावमा गठबन्धनमा रहेका एमाले–माओवादी दुवै पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका छन् । यसको मतलब नेपालको संसदमा नेपाल कम्युनिष्ट पार्टीको एकल बहुमत छ । अब कसैको वैशाखी टेकेर हिंड्नुपर्ने बाध्यता छैन । ढुक्कसँग पाँच वर्ष सरकार चलाउने जिम्मेवारी जनताले कम्युनिष्ट पार्टीलाई सुम्पिएका छन् । अब देशलाई सुशासन र समृद्धितिर लैजानुबाहेक अर्को विकल्प यो सरकारसँग छैन । चुनावताका घरघरमा बाँडिएको घोषणापत्र र प्रतिबद्धता जनताले सुरक्षितसँग राखेका छन् । चुनावमा जनताको घरदैलोमा भोट माग्दा कम्युनिष्ट पार्टीका उम्मेदवार र तिनका कार्यकर्ताले के–के बाचा बन्धन गरेका थिए भन्ने कुरा पनि जनताले बिर्सिएका छैनन् । त्यसैले अब प्रचण्डले फेरि सरकार ढाल्छ कि भन्ने शंकाको अन्त्य पनि भएको छ ।
प्रचण्ड र ओली राजनीतिका चतुर खेलाडी हुन् । त्यति चतुर नभइदिएको भए यी दुई नेता एक ठाउँ आउने पनि थिएनन् । पक्कै पनि यो एकतासम्म आइपुग्दा यी दुई नेताबीच केही लेनदेनका समझदारी पनि भएका छन् । ती समझदारीको इमान्तारिताका साथ पालना भएमा ढुक्कसँग पाँच वर्ष केपी ओलीको नेतृत्वमा सरकार चल्नेछ, भने आगामी महाधिवेशनबाट प्रचण्डले सर्वसम्मत नेतृत्व सम्हाल्ने छन् । प्रचण्डलाई पनि के कुरा थाहा छ भने ओली अस्ताउँदा सूर्य हुन् भने प्रचण्ड उदाउँदा । त्यसैले उनले पार्टी एकता गर्नुमै आफ्नो भविष्य देखे र ओलीजस्ता चतुर खेलाडीसँग ‘ड्याम्मै’ एकता गर्न पुगे । यो एकताले जनतामा एक खालको उत्साह पनि जागेको छ । त्यो उत्साहलाई मर्न नदिन पनि पार्टीभित्रका आन्तरिक विवादहरु मिलाउँदै जानु पर्छ । अहिले पनि नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिरहँदा ‘राम्रा’ कार्यकर्ताले होइन, ‘हाम्रा’ कार्यकर्ताले स्थान पाएको गुनासो सुनिँदैछ । गुटबन्दीको ‘ह्याङओभर’बाट नेताहरु माथि उठ्न नसकेको संकेत हो यो । त्यसैले नाम कम्युनिष्ट हुँदैमा त्यो महान् हुन्छ भन्ने होइन । महान् बन्नका लागि कम्युनिष्टको आचरण पनि शुद्ध हुनुपर्छ । पहिलो पुस्ताका नेताहरुमा त्यस्तो आचरण र संस्कार देखिँदैन । एउटै पार्टीमा भएर पनि नेतानेताबीच पानी बाराबारको स्थिति रहेको छ । बहुमतको बलले अल्पमतलाई पेल्ने र चर्को गुटबन्दीकै कारण विगतमा कम्युनिष्ट पार्टीहरु फुट्दै आएका हुन् । ‘नानीदेखि लागेको बानी...एमालेले केन्द्रीय कमिटीमा गरेको मनोनयनबाट पनि स्पष्ट हुन्छ । हातमा कलम र कापी छ भन्दैमा पार्टीलाई गुटमा विभाजित गर्दै लगियो भने त्यो एकता ‘मुर्खको सल्लाह खरानीको डल्ला...’मा परिणत पनि हुन सक्छ । त्यसले नेतृत्व तहमा बस्ने नेताले धर्म छाड्नु हुन्न । उच्च नैतिक आचरणलाई आफ्नो जीवनशैली बनाउनुपर्छ । नभए जनताले कांग्रेस र कम्युनिष्टबीचको अन्तर कसरी छुट्याउने ? यी कुरामा विचार पु¥याउन सकिएन भने कम्युनिष्ट भनेर मात्रै जनताले पत्याउँदैनन् । लोकतन्त्रमा जनता नै निर्णायक शक्ति भएको हुँदा जनताले ‘छि’ भन्ने कुनै पनि लाजमर्दो काम आफूलाई कम्युनिष्ट भन्नेले गर्नु हुँदैन भन्ने मदन भण्डारी, पुष्पलालको मान्यता हो । जसका कारण मरेर पनि नेपालको इतिहासमा यी नेताहरु बाँचिरहेका छन् भने कतिपय कम्युनिष्ट नेता बाँचेर पनि मरिरहेका छन् ।

Related News