​प्रचण्डका पाँच फड्को

दृष्टि न्यूज

विशाल छेत्री । गत साता एउटा समाचार शीर्षक भाइरल भयो । त्यो थियो, ‘म फेरि अर्को फड्को हान्न बेर मान्दिनँ ः प्रचण्ड ।’ छलाङ र फड्को हान्नमा माहिर प्रचण्ड कहिले भनेर हान्छन् त कहिले नभनेर । यसपटक उनले भनेरै फड्को हान्ने कुरा गरेपछि अबको राजनीतिले कता कोल्टे फेर्ने हो भनेर बजार गर्मायो ।
उनले फड्को हान्नुको तात्पर्य भइरहेको यात्रामा गति बढाउनु वा छिटो गन्तव्यमा पुग्नु होइन । उनले फड्को हान्दा गन्तव्य नै परिवर्तन हुन्छ । गति मात्र होइन, दिशा नै बदलिन्छ । यात्राका सहयात्री बदलिन्छन् । कतिपयले साथ छोड्छन्, कतिपयलाई छोडाइन्छ । कतिपय नयाँ अँगाल्न पुग्छन् उनी । उनले नयाँ भनेर अँगालेका साथी, नयाँ भन्ठानेका गन्तव्य र दिशा कति नयाँ हुन्छन् भन्नेचाहिँ बेग्लै बहसको विषय छ ।
प्रचण्डले अहिलेसम्म हानेका फड्कोमध्ये शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने निर्णय र पछिल्लोपल्ट बाम एकता गर्ने निर्णय वास्तवमा नयाँ र बृहत्तर हितका निम्ति थिए । तिनको प्रभाव पनि ऐतिहासिक र दूरगामी थियो, हुनेवाला छ (पछिल्लो निर्णयमा टिकेमा) । होइन भने सोझो लड्छ एक बल्ड्याङ, चतुरे लड्छ चार बल्ड्याङ भन्ने उखान चरिचार्थ भएको छ धेरैपटक ।
रुकमांगद कटवाललाई कारवाही गर्न खोज्दा उनले सबैभन्दा ठूलो मूल्य चुकाउनुपरेको थियो । त्यतिखेर पनि उनले फड्को नै मार्न खोजेका हुन् । चुनाव जितेर सत्तामा जाने अनि सैन्य शक्तिमाथि हात हाल्न खोज्ने उनको त्यो फड्को रणनीति आफैमा गलत सूत्रमा आधारित थियो । त्यसैगरी उनले ०७० को निर्वाचनमा पराजयपछि ३० दल भनिने गोडा तीसएक नेताहरुको मोर्चा खडा गरी देशव्यापी आन्दोलन गरे । अन्ततः हत्तुहराम भएर पुनः कांग्रेस, एमालेकै कित्तामा उभिनुप¥यो । ०७२ जेठमा १६ बुँदे समझदारीले उनको सबै लाज छोपियो । उनको त्यो फड्को ठीक थियो । संविधान जारी गर्ने वातावरण बन्यो । विदेशी हस्तक्षेप असफल भयो ।प्रचण्डको त्यो फड्कोलाई जनताले स्वागत गरे ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीको सरकार ढाल्न प्रयोग भएर उनले अर्को फड्को मारे । त्यो फड्कोले उनैमाथि प्रहार ग¥यो । कुन हदसम्म उनले बेहोर्नुप¥यो भने मुलुकभर पार्टीको संगठन कहाँ छ भनेर दिउँदै बत्ती बालेर हिँड्नुपर्ने अवस्था आयो । उनले पार्टीलाई ठूलो देखाउन केही हजारको नामावली केन्द्रीय किमिटीका रुपमा सार्वजनिक गरे । तर, ती सबैलाई न उनले चिन्थे न त ती सबैले प्रचण्डलाई ज्यू गर्न पाएका थिए । त्यही कागजी केन्द्रीय कमिटीबाहेक उनीसँग पार्टीको नाममा केही थिएन । 
शेरबहादुर देउवासँग ९ महिने तमसुक बनाएर प्रधानमन्त्री बनेका उनले कांग्रेससँगै स्थानीय तहको निर्वाचन मिलेर लडे । स्थानीय चुनावमा पार्टीको के हालत भयो भन्ने कुरा त हिसाबै भएन । तर, छोरी रेणु दाहाललाई जिताउन उनले आफ्नो त न्वारानदेखिको बल लगाउने नै भए, त्योभन्दा पनि आजसम्म नेपालको निर्वाचन आयोग र अदालत सबैले आर्जेको साख र विश्वसनीयतालाई नै दाउमा लगाउनुप¥यो । यो तालले प्रदेश र संघको चुनाव लड्ने हो भने त रोल्पा रुकुमबाट पनि माओवादीको नाम निशान मेटिने अवस्था आयो । तसर्थ, प्रचण्डले अर्को फड्को मारे । प्रदेश र संघको निर्वाचनमा एमालेसँग अँगालो मारेपछि प्रचण्डलाई लाभैलाभ भयो । एकातिर कांग्रेस ऐतिहासिक रुपमा बदनाम भएको, अर्कोतिर एमाले नेता ओलीले आर्जेको राष्ट्रवादी छवि । अझ त्यसमाथि बाम गठबन्धनको सैद्धान्तिक आवरण, स्थिर सरकार र आर्थिक समृद्धिको गुलियो नारा । जनता लठ्ठै परेर आँखा चिम्लेर भोट दिइहाले । 
माओवादीले सोच्दै नसोचेको सिट दुवै तहका निर्वाचनमा हासिल गरेपछि प्रचण्डलाई केही बल मिलेको छ । उनलाई अहिले छटपटी भएको छ । कता जाऊँ, के गरुँ ? उनको त्यो चञ्चलताको आशय बुझ्न सकिन्छ । हिजो ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सत्ता सुम्पिन्छु भन्दा पनि कहाँ त्यतिका दिन पर्खिन सकिन्छ र भनेका प्रचण्ड यतिखेर कम्तीमा दुई वर्ष कसरी चुप लाग्न सकिन्छ भन्नेमा पुगेको हुनुपर्छ । उस्तै परे भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘किङ बन्नुपर्ने मान्छे, किङमेकर बनेर हुन्छ ?’ भनी होलिन् । हिजो कांग्रेस र राजपाका नेताहरुले लेखेरै पाँच वर्षको तमसुक दिने भन्दा विश्वास नमानेका प्रचण्ड सुष्माले नै भनेपछि बढी हौसिएका पनि हुन सक्छन् ।
प्रचण्डको फड्को मराई अनौठो हुन्छ । भारतविरुद्ध सुरुङयुद्ध उद्घोष गरेको केही समयमै उनी दिल्लीमा बिन्तीपत्र बिसाउँदै गरेका भेटिन्छन् । देशले गणतन्त्रको नारा बोक्नै लाग्दा उनी ‘मालिकसँगै वार्ता गर्ने’ भन्दै दरबारको अस्तित्व खोज्न पुग्छन् । आफू मात्र असली कम्युनिस्ट भन्दै चीनको विश्वास जित्न खोज्छन् तर भारतसँग मिलेर ओलीको सरकार ढाल्न पुग्छन् । यस्ता फड्कोहरु प्रचण्ड मारिरहन्छन् । फेरि पनि मार्नेछन् भन्नेमा कुनै दुविधा छैन । तसर्थ, प्रचण्डले फड्को मार्नुअघि एमालेले पार्टी एकताका निम्ति सबै विकल्प खुला राख्नुपर्छ । 
कांग्रेसजस्तो पार्टी आज सत्ताको कुनै तहमा अस्तित्व समेत राख्न नसकेको अवस्थामा माओवादीले कम्तीमा दुईवटा मुख्यमन्त्री पाएको छ । संघीय तहमा रोजेका मन्त्रालय पाउँदैछ । सर्वोच्च नेता, सर्वोच्च कमाण्डर, सहअध्यक्ष, कार्यवाहक अध्यक्ष जे भए पनि एमालेबाट सम्मानजनक स्थान पाउनु प्रचण्डका निम्ति निकै ठूलो फड्को हो । यो प्राप्तिको महत्व नबुझेर उनी अन्यत्रै फड्कन जान्छन् भने ढोका खुला गरिदिनुपर्छ । उनको निजी स्वार्थ र उनका वरिपरि रहेका स्वार्थी जमातको संकीर्ण सोच पूरा नहुँदैमा उनी पार्टी एकता प्रक्रियालाई नै तहसनहस पार्न तयार हुन्छन् भने त्यसको मूल्यांकन उनका कार्यकर्ताले पनि गर्लाछन् । देशैले गर्ला । 
तर, प्रचण्डले बुझ्नुपर्छ जसरी हिजो देउवासँग मिल्दैमा सहजै सरकार बन्थ्यो, आज त्यो अवस्था छैन । वैकल्पिक समीकरण उनले बनाउन खोजेका हुन् भने एउटा देउवा होइन, कैयौँ देउवाको स्वार्थसँग सम्झौता गर्नुपर्नेछ अब । एमालेले केवल एकजना उपेन्द्र यादवलाई विश्वासमा लिए पुग्छ । तसर्थ, अब प्रचण्ड फड्को मारेर धेरै टाढा पुग्न सक्ने अवस्था छैन । धेरै नयाँ गन्तव्य पनि छैनन् उनीसँग । एमालेसँग मिलेर प्राप्त गरेको बहुमतलाई संक्रमणकालीन न्यायका विषयवस्तुलाई समेत किनारा लगाउने अवसरका रुपमा उपयोग गरेर दीर्घकालीन रुपमा शान्तिको सास फेर्ने कि फड्को मार्दैमार्दै अन्त्यमा हेगको भ्रमण गर्ने ?विकल्प उनकै हातमा छ ।

Related News