​परिवार मोहमा डुबेपछि...

आलोक नेपाली  । प्रचण्ड अझै पुष्पकमल बन्न सकेका रहेनछन् । थिए भने उनले छोरीका लागि आफूले स्थापित गरेको राजनीतिक उचाईलाई घटाउने क्रियाकलाप देखाउने थिएनन् । सर्वहारावर्गको अधिनायकत्व स्थापित गर्ने झुटा सपना देखाउँदै सामान्य नेपालीका छोराछोरीलाई ‘जनयुद्ध’को अग्निमा होमेका थिए । दुनियाँका छोराछोरीलाई बुर्जुवा शिक्षा भन्दै पठनपाठनबाट वञ्चित गरेर जीन्दगी बर्बाद गरिदिएका उनी सन्तान मोहमा परेर राजनीतिक मूल्य मान्यतालाई राग बनाउन पुगे । 
भरतपुर महानगरपालिकाको चुनावमा टिकट दिलाउन प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग भित्री सम्झौता गरेका थिए । त्यसमध्ये केही खुलासा भइसकेको छ भने भविष्यले धेरै तथ्य उजागर गराउँदै लानेछ । देउवाले काँग्रेस जित्नसक्ने महानगरपालिकामा आफ्ना उम्मेदवारलाई बलीको बोको बनाए । रेणु दाहाललाई कुनैपनि हालतमा चुनाव जिताउने षड्यन्त्रमा सहभागी भए । चुनावमा साम, दाम, दण्ड भेदको रणनीति अपनाउँदा समेत रेणु दाहाल पछि परिन् । उनले हार्ने निश्चित भयो । अन्ततः दुईजना माओवादी कार्यकर्तालाई निर्देशन दिएर मतपत्र च्यात्न लगाइयो । उक्त योजनामा निर्वाचन अधिकृत देखि निर्वाचन आयोगका कर्मचारी समेतको गतिविधि शंकास्पद देखियो । केही पाउने लोभमा तिनले इमान जमान बिर्सेर पदभार ग्रहण गर्दा खाएको सपथ भुले । ती तथ्यहरू वर्तमानको गर्भमा लुकेपनि भविष्यको राजनीतिक आँधीले खुलाइदिनेछ । राजनीतिमा जे पनि जायज ्हुन्छ भन्दै मूल्य र मान्यताको धज्जी उडाएर भरतपुर—१९ को मतगणनामा जे गरियो त्यसले नेपालको राजनीतिमा गलत नजिर बसालेको छ । जनमतको उपहास गरियो । सम्मानित सर्वोच्च अदालतले पुनः मतदान गर्ने फैसला सुनाएको छ । त्यसको सम्मान गर्नु न्यायालयको सम्मान गर्ने जो कोहीको कर्तव्य हो । तर, मतपत्र च्यात्नेहरूले तत्कालका लागि उन्मुक्ति पाउनु र त्यसको निष्पक्ष छानविन नहुनुले लोकतन्त्रविरोधीलाई टाउको उठाउने मौका दिनसक्छ । 
गिर्दो साख
भूमिगत जीवनबाट शान्ति प्रक्रियामा सार्वजनिक हुँदा प्रचण्ड महा सेलिब्रिटी भए । राजनीतिक चार्तुयले संविधानसभामा पहिलो दल बन्न सफल भए । तर, केपी शर्मा ओलीले भनेजस्तै प्रचण्डरूपी बेलुनलाई कटवालरूपी चेस्कोले घोचेर फुटाइदियो । धेरै फुल्दा प्रचण्ड साइजमा आए । प्रधानमन्त्रीबाट राजीनामा दिन वाध्य भए । दोस्रो संविधानसभाको चुनावमा पहिलोबाट झरेर तेश्रो स्थानमा पुगे । जे होस्, संविधान निर्माणमा प्रचण्डले राजनीतिक सुझबुझ देखाए । दक्षिणको नाकाबन्दीको सामनामा हातेमालो गरे । भारतीय नेताहरूलाई सार्वजनिक रुपमा प्रश्न गरे—हामीले संविधान बनाएर के त्यस्तो गल्ती ग¥यौं र नाकाबन्दीको सामना गर्नुप¥यो ? प्रचण्ड हिम्मतिला थिए र यति भन्न सके । अन्तर्राष्ट्रिय समुदायको दबाब समेत आवश्यक पर्दा सामना गर्ने क्षमता राख्ने देखिए । तर, प्रचण्डले पुत्री रेणुका लागि आफूलाई सबैभन्दा कमजोर सावित गरिसकेका छन् । 
सन्तानमोहले नेपालका धेरै राजनीतिज्ञको कद घटाइदिएको छ । गिरिजाप्रसाद कोइराला पुत्री मोहका कारण आलोचित बनेका थिए । जीवनको उत्तराद्र्धमा चाहिं उनले छोरी सुजाताको समेत कुरा सुन्न छाडेर काम गरे । संविधानसभाको चुनाव नगर्न अनुरोध गर्न पुगेकी छोरीलाई झपारेर फर्काइदिए । गणेशमान सिंहले प्रधानमन्त्री पद त्यागेपनि पत्नी मङ्गलादेवी र छोरा प्रकाशमानको लागि धेरै त्याग गरेर विवादमा परे । मनमोहन अधिकारीमात्र त्यस्ता राजनेता देखिए जसले छोरा प्रकाशलाई राजनीतिमा ल्याएनन् । सन्तान मोहले धेरै राजनीतिज्ञको साख घटाएको छ । प्रचण्डमा पुत्र र पुत्री मोह ज्यादा रहनाले माओवादी पार्टी बिघटनको खतरामा समेत परेको छ । 
छोरा प्रकाश अलोकप्रीय छन् । कहिले रक्सी खाएर ढलेको तस्वीर सार्वजनिक भयो त कहिले बहुविवाहमा मुछिए । उनी नेपालको कानुन अनुसार अहिले पनि बहुविवाहका दोषी हुन् । कानुन अनुसार उनी अपराधी हुन् तर देशको प्रधानमन्त्रीको महत्वपूर्ण फोन हातमा लिएर बालुवाटारमा हर्ताकर्ता भएका छन् । चोरलाई चौतारी साधुलाई सुली जस्तो भएको छ । प्रकाशलाई पारससँग तुलना गर्नेहरू छन् । विवादास्पद गतिविधि गरेर चर्चामा आइरहन्छन् । यस्ता प्रकाशप्रतिको मोहले प्रचण्डलाई आलोचित बनायो । पछिल्लो समय नेपाली जनताले यो विषय बिर्सदै गएका थिए । तर, भरतपुर प्रकरणले जनतालाई फेरि सम्झाइदियो । 
हार कि जीत
भरतपुर महानगरपालिका—१९ मा पुनः मतदान हुने भएको छ । मतदानमा कस्ले जित्ने वा हार्ने फरक विषय हो । एमालेका देवी ज्ञवाली वा माओवादीकी रेणु दाहालमध्ये एकको जीत निश्चित छ । तर, जसले जितेपनि प्रचण्ड हार्नेछन् । देवी जितेमा प्रचण्ड जुनसुकै हतकण्डा अपनाउँदा पनि छोरीलाई जिताउन नसकेको भनी आलोचित हुनेछन् । लोकतान्त्रिक मूल्य र मान्यताको जीत हुनेछ । रेणु जितिन् भने पनि प्रचण्ड हार्नेछन् । इतिहासले उनीमाथि पुत्रीको मोहमा लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएको र गलत थिती बसालेको दोषको भारी बोकाउनेछ । असल राजनीतिज्ञले कुनै एक चुनावको जीत र हारलाई सबथोक ठानेर प्रतिष्ठाको विषय बनाउने होइन । नेताले देशको हितका लागि राजनीतिक सुसंस्कार सुनिश्चित गर्ने हो । 
भरतपुर घटनामा प्रचण्डले स्टेटम्यानशिप देखाउने अवसर थियो । जसले जिते हारेपनि जनताको मतपत्रको सम्मान गर्नुपथ्र्यो । उनले उल्टो खेल खेले । आफै देशको सम्पूर्ण संयन्त्रको बागडोर हातमा लिएर केही मत च्यात्ने षड्यन्त्रमा सहभागी भए । रक्षक नै भक्षक बने । यो घटना प्रचण्डको प्रत्यक्ष आदेशमा भएको जो कसैले पत्याउनुपर्छ । हत्या हिंसाको राजनीतिबाट उठेका प्रचण्डका लागि केही मतपत्र च्यात्न लगाउनु सामान्य लाग्दो हो । लासको चाङमाथि उठेर प्रचण्ड नेता बनेका हुन् । अब उनले बेथिती, अराजकता र गलत मूल्य मान्यताको टेको टेकेर सत्ताको मनोरञ्जन लिन खोजेका छन् ।  विगतमा भूमिगत बसेर गुरिल्ला युद्धको कमाण्ड गर्ने देखि विदेशी भूमिमा बसेर देशमा रक्तपात गराएका थिए । अहिले उनी देशभित्र बसेर कुसंस्कारलाई बढावा दिइरहेका छन् । दाहाल परिवारका लागि राजनीतिक भविष्य बलियो बनाउन लागिरहेका छन् । उनका लागि सशस्त्र गतिविधिमा लागेका माओवादी कार्यकर्ता बलीको बोका समान भए । तिनलाई प्रयोग गरेर लाभ मात्र लिए । कति मारिए वेपत्ता भए त कति विचलित भई अरब र मलेशियामा पसिना बगाउँदैछन् । सशस्त्र गतिविधिमा लागेकामा पछुतो मानिरहेका छन् । प्रचण्डका लागि ज्यानको बाजी लगाएका हजारौं माओवादी कार्यकर्ता प्रीय भएनन् बरु सेना समायोजनपछि घाँडो सावित भए । तर, चरित्रहीन र कुलतमा फसेको पुत्र प्रकाश सबैभन्दा प्रीय बने । यौनकाण्डमा आलोक अर्थात् यानप्रसाद गौतमलाई श्रम शिविरमा राखेर हत्या गरियो । तिनै प्रचण्डपुत्र यौनका धेरै काण्डमा मुछिएका छन् । बहुविवाह गरेका छन् । तैपनि, प्रकश प्रचण्डका प्रीय भइरहे । 
जनयुद्धमा लाग्दा बलात्कृत भएका र पति गुमाएर विधवा भएका हजारौं नारीहरू प्रीय भएनन् । माओवादीकालमा मैना सुनुवार बलात्कृत भइन् । तिनको पीडाले प्रचण्डलाई कहिले छोएन तर रेणु दाहालका लागि सबै हतकण्डा अपनाएर भएपनि राजनीतिमा स्थापित गराउने जाल बुने । सायद, प्रचण्डले सिराहामा आफूले हारेर पनि जिताइएको घटना बिर्सेका थिएनन् । भरतपुरमा त्यही गलत नजिरलाई स्थापित गर्न षड्यन्त्रहरू बुनिरहे । रगतले लत्पतिएको हात पखालिन नपाउँदै निधारमा कलंकको थप कालो धब्बा लगाउन थालेका छन् । कहिले पुष्पकमल बन्न नसक्ने गरी षड्यन्त्रको अर्को नाम प्रचण्ड भनिने अवस्था बनिसकेको छ । देवीहरू हारेर पनि जित्नेछन् तर प्रचण्डहरू जितेर पनि हार्नेछन् । 

Related News