नेपाली राजनीतिका चतुर खेलाडी प्रचण्डको उड्यान र अवतरण

डि.आर. घिमिरे

देशका दुई ठूला कम्युनिस्ट पार्टी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेपछि नेपाली राजनीतिको कोर्स परिवर्तन भएको छ । वास्तवमा नेपाली कम्युनिष्ट आन्दोलनका लागि मात्र हैन सवै दलहरुका लागि यसले दिशा निर्देश गरेको छ । राजनीति पार्टी नामका खुद्रे पसल खोलेर वस्नेहरुलाई यो एकताले अरु बेरोजगार बनाइदिएको छ । यद्यपि, कतिपयले यसलाई तत्कालीन सत्ताको गणितसंग मात्र जोडेर हेरेको पाइन्छ । तर, यसले नेपाली राजनीतिमा देखिएको लुटतन्त्र, भ्रष्टाचार, अवसरवाद र अस्थिरतालाई समाप्त पार्दैछ । राजनीतिप्रति देखिएको युवाहरुको मोहभंगलाई आकर्षण गर्ने सम्भावना बढाएको छ । त्यतिमात्र हैन मुलुकलाई परिवर्तनको अनुभूति गराउने र अन्य देशको तुलनामा प्रतिस्पर्धी वनाउने एजेण्डालाई तय गरेर राजनीतिलाई आस्थाको केन्द्र वनाउने प्रयास पनि गर्दैछ ।
यसको लागि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डले युगिन महत्वको काम गरेर इतिहास रच्ने मौका पाएका छन् । दुई विपरित ध्रु्रवका हस्तीहरुले गरेको यो निर्णय अझै परिक्षणको घडीमा छ तथापि, उनीहरुले भनेजस्तै पछाडिका पुल भत्किएका हुन् भने यसले युगिन महत्व राख्नेछ । 

वहुमुखी प्रचण्ड
निश्चयनै प्रचण्ड पछिल्लो २० वर्षका नेपाली राजनीतिका अस्थिर जस्तो लाग्ने तर,  गतिशील, क्रियाशील र मुलुकको संरचनागत परिवर्तन गर्ने प्रमुख खेलाडी हुन् । उनले जनयुद्व गर्ने निर्णय गरेदेखि जनयुद्वलाई शान्तिपूर्ण रुपमा अवतरण गराउंदासम्म धेरै खाले आरोह अवरोह देखा परेको सत्य हो । त्यसवीचमा खासगरि युद्वकालमा उनीभित्र कु्ररतावाहेक शायद अरु केही थिएन कि जस्तो लाग्दथ्यो । उनीभित्र भावुकता होला भनेर कसैले कल्पना पनि गर्दैनथ्यो । उनी मान्छे हुन् कि हैनन् भन्ने प्रश्न पनि उठेकै हो । तर, उनले युद्व जितिन्छ र सत्ता हाम्रो हुन्छ भनेर लाखौं मानिसको विश्वास जित्नु चानेचुने कुरा थिएन । एकपटक विश्वास लिएपछि नब्बे डिग्रीमा फर्काएर यो वाटो गलत रहेछ भनेर विश्वास लिनु झनै असामान्य कुरा हो । 
नजितिने युद्वलाई स्थगन गर्नु र सेना समायोजनको कुरा गरेर लडाकुलाई विश्वासमा लिनु , तत्काल लडाकुलाई वन्दूक फालेर वंकरमा लैजान सक्नु उनको अर्को चमत्कार थियो । त्यसवीचमा एउटा देशमा दुइवटा कम्युनिष्ट पार्टी टिक्दैनन् भनेर उनले कांग्रेससंग सहकार्य गरेर पनि एमालेलाई गलाउने रणनीति अख्तियार गरे । आखिर त्यो पनि सफल भएन । जव उनलाई लाग्यो कि एमालेलाई विस्थापित गर्ने काममा सफल भइदैन । उनले अर्को स्टेप लिए पार्टी एकताको । यस आधारमा प्रचण्डलाई कसैले अस्थिर भनेर एकीकरणलाई आशंका गर्ने ठूलो जमात् भएपनि उनी वहुमुखी ब्यक्ति हुन् भन्ने कुरामा शंका छैन ।

अस्थिर कि क्रमभंग
यस प्रक्रियालाई नेपाली राजनीतिको विष्लेषण गर्नेहरुले प्रचण्डलाई अस्थिर भनेपनि स्वयं प्रचण्डले क्रमभंगताको रुपमा अर्थाउने गरेका छन् । यदि राजनीति प्रयोग गने थलो हो भने त्यसका लागि एकमात्र सुयोग्य पात्र प्रचण्डनै हुन् र यो दश वर्षमा उनी नै निर्णायक शक्तिको रुपमा स्थापित भएका यो दश वर्षमा उनी नै निर्णायक शक्तिको रुपमा स्थापित भएका छन् । एकपछि अर्को प्रयोग गरेर चमत्कार देखाउने खुवी उनमा देखिन्छ । क्रमभंगलाई गतिशीलता मान्ने हो भने उनी एकजना गतिशील र सफल नेता पनि हुन् ।
प्रचण्ड अलि फरक चरित्रका व्यक्ति हुन् भन्ने कुरा उनका समय समयमा प्रकट हुने बिचारबाट बुभ्mन सकिन्छ । उथल पुथल मच्चाउने र फड्को मार्ने उनको स्वभाव छ । आफै रक्षात्मक हुने आफै आक्रामक हुने उनको विशेषता छ । पार्टीले एउटा निर्णय गर्छ अर्को दिन अर्को कुरा गरेर दुनियाको चित्त बुझाउन पनि सक्छन् उनले । त्यसैले धेरै हण्डर खाएर प्रचण्ड एकीकृत कम्युनिष्ट पार्टीको महत्वपूर्ण नेता बन्न सके । त्यसो त उनलाई नजिकबाट जान्नेहरुले भन्छन्–दोश्रो वरियता उनलाई अस्वीकार्य छ । शायद यहि कारणले पनि दुई जनालाई अध्यक्ष मान्नुपर्ने अवस्था आएको छ । यसलाई पनि नयाँ प्रयोगकै रुपमा लिइएको छ । 
जेहोस्, अब यो प्रचण्डको अन्तिम अवतरण हो । यो अवतरण प्रचण्डको अन्तिमनै हो भनेर विश्वास गर्नका लागि केही आधारहरु छन् । जसका आधारमा सो निष्कर्षमा पुग्न सकिन्छ ।

जनयुद्धको मुद्दा
युद्ध पूर्व र युद्धका दौरानमा माओवादी केन्द्रले उठाएका मुद्धा स्थापित भए । हिजो जे कुरा भएन भनेर आन्दोलन र युद्ध गरियो ति सबै पूरा भए । गणतन्त्र, धर्म निरपेक्षता, समावेशी र संघीयता प्रमुख मुद्धा थिए जो स्थापित भए र नेपालको संविधानले ति सबैलाई आत्मसात मात्र गरेन कार्यान्वयन पनि गर्यो  । त्यस अर्थमा अबको संघर्ष तत्कालीन मुद्धा केन्द्रित थिएन र छैन । निर्वाचनको माध्यमबाट सरकार बनाउने र संविधान र कानुनले गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्ने अबको मुख्य कार्यभार हो । यो कार्यभार पूरा गर्न बहुमत प्राप्त सरकार चाहिन्छ । किनकी ५वर्ष ढुक्कसँग सरकार चलाउने वातावरण नभएसम्म जनतालाई परिवर्तनको अनुभूति गराउन सकिन्न । यस अर्थमा एमालेसंग मिलेर एकीकृत पार्टी वनाउंदा उद्धेश्य प्राप्तिमा सफलता मिल्ने र आजसम्म क्रान्तिको नाममा जे गरियो ती सवैलाई सस्थागत पनि गर्न सकिने भएकोले यो नै उपयुक्त विकल्प हुन्थ्यो । त्यस अर्थमा प्रचण्डले ठिक समयमा ठिक विष्लेषण गरेर मार्ग तय गर्न सफल भएको मान्नुपर्छ ।

सफल अवतरण
प्रचण्ड साहसिक, आंटिला त्यसै भएका होइनन् । उनको पार्टी भित्र एक छत्र पकड थियो । उनले चाहेको कुरा निर्णय गराउन सक्थे । आंटेको कुरा गर्न सक्थे । तर क्रमशः उनी कमजोर हुदै गएका थिए । किरण, बाबुराम र विप्लव जस्ता वौद्धिक र चर्चित व्यक्तिले पार्टी छोडेर हिंडे । पछिल्लो पटक कतिपय नेताहरु एमालेप्रति आकर्षित हुनु र कतिपय विप्लवप्रति आकर्षित हुने अवस्था आएको थियो । प्रचण्डका खास किचन क्याविनेटका व्यक्तिले छोडेपछि पार्टीलाई कस्तो असर पर्छ भन्ने कुरा प्रचण्डलाई थाहा नहुने कुरै भएन । अझै पनि केही व्यक्ति छोडन तयार थिए शायद । यस्तो अवस्थामा उनलाई पार्टी शक्तिशाली बनाइराख्ने र प्रतिस्पर्धी गराइरहने कुरा चुनौतीपूर्णनै थियो । यसको अर्थ विकल्पनै थिएन भन्ने हैन । उनीसंग दुइवटा विकल्प थिए । पहिलो निर्वाचनको माध्यमवाट उत्कृष्टता प्राप्त गर्ने र सत्ताको वागडोर सम्हाल्ने । दोश्रो नीति, सिद्वान्त र कार्यक्रम मिल्नेसंग एकीकरण गर्ने । पहिलो विकल्पमा असफल हुने सम्भावना भएपछि उनले दोश्रो विकल्प रोजे । शायद हतास भएर होला उनले कहिलेकांही पार्टी विघटन गर्नेसम्मको कुरा गर्दथे । परिवर्तित नेपालका नायक हुनका लागि उनले उडाएको जहाजलाई अवतरण गर्न जरुरी थियो । यसो गर्दा उनले इतिहास निर्माण गर्न सक्दथे । पार्टी एकीकरणको माध्यमवाट उनले त्यो इतिहास निर्माण गरेका छन् । अव कम्युनिष्टहरु असफल भए भनेपनि त्यसको आरोप प्रचण्डलाई मात्र लाग्दैन । त्यस अर्थमा पनि उनले आफ्नो स्थानवाट एक प्रकारको दायित्व पूरा गरेका छन् र अव यो भन्दा अर्को धरातल उनीसंग छैन । त्यसैले पनि अव फेरि अर्को कुनै जहाज उडाउने छैनन् भनेर विश्वास गर्न सकिन्छ ।

प्रचण्डको मनोविज्ञान
कतिपय कुरामा उमेरले पनि वैचारिक परिपक्कता ल्याउंछ । बाबुराम भट्टराई कम्युनिष्ट नामबाटै अलग भए । तर उनी त्यो हदसम्म पुग्न चाहन्नथे । उनी एमालेसंग सहयात्रा गर्न तयार थिए भन्ने कुरा दुनियालाई थाहा छ । गोर्खावाट चुनाव लड्ने अवसर पाएको भए अहिलेको एकीकरणमा उनी पनि संलग्न हुन्थे । यसको अर्थ पूरै कम्युनिष्टवाट अलग हुने चाहना हैन भनेर अनुमान लगाउन सकिन्छ । खासमा उनी हत्या हिंसाको आरोपवाट उन्मुक्ति हुन चाहन्थे । अहिले पनि माक्र्सवाद र द्वन्दात्मक भौतिकवादलाई उनले अस्वीकार गरेका छैनन् । विकासको रोडम्यापमा पनि त्यत्रो ठूलो अन्तर छैन । यसवाट उनको मनोविज्ञान के बुझ्न सकिन्छ भने शान्तिपूर्ण रुपान्तरण वा परिवर्तनप्रति उनको मोह छ र माक्र्सवादप्रति पनि आस्था छ । ठिक यही मनोविज्ञान क.प्रचण्डमा पनि छ । यस अर्थमा पनि अव उनलाई अर्को कुनै प्रस्थानविन्दु खोज्ने स्थान छैन ।

ओली डक्ट्रिन
पछिल्लो समयमा केपी ओलीले निर्वाह गरेको भूमिका एकजना राजनेतामा हुनुपर्ने गुणवाट युक्त छ । यो पार्टी भित्र भन्दा पनि वाहिरवाट उठ्ने गरेको प्रसंग हो । उनी तार्किक, स्पष्ट र मुलुकका लागि केही गरौं भन्ने भावनावाट ओतप्रोत देखिन्छन् । विकासका मुद्वा उनलेनै स्थापित गरेका छन् । भ्रष्टाचार र अनियमितताप्रति उनी जसरी खरो ढंगले प्रस्तुत भएका छन् त्यसलाई हेर्दा पनि उनले लोभ, मोह त्यागेर इतिहास रच्नेतर्फ उन्मुख भएको देखिन्छ । हरेक देशको निर्माणमा एक जना नेताको उल्लेख्य भूमिका हुन्छ भने जस्तै नव नेपालको निर्माण ओली डक्ट्रिनबाटै हुने आशा पलाउन थालेको छ । ओलीले पटक पटक दोहोराउने गरेका छन्– ‘म भ्रष्टाचार गर्दिन अरुलाई गर्न पनि दिन्न ।’ साँच्चिनै ओलीका पछिल्ला कामहरु विवादरहित र दुरगामी छन् ।
बाबुराम भट्टराई र ओलीको सन्दर्भ जस्तै प्रचण्डको पनि त्यही सन्दर्भ हुनुपर्छ । उनीभित्र पनि जीवनको उत्तरार्धतिर केही गर्न पाए हुन्थ्यो भन्ने मनोविज्ञानले काम गरेको छ । यो आफैमा सकारात्मक चिन्तन हो । सवै कम्युनिष्टहरुलाई एउटै वनाएर शक्तिशाली वनाउने महत्वाकांक्षा पाल्नु पनि एउटा ऐतिहासिक कदम हो । सिंगै नेपाली राजनीतिको कोर्स परिवर्तन गराउने नायकको रुपमा स्थापित हुने मौका प्रचण्डलाई प्राप्त भएको छ । जुन कदमले उनलाई जीवित वनाई राख्नेछ । यी सवै कारणले गर्दा पनि उनले अव नयां जहाजको खोजी गर्ने छैनन् । किनकि उनले ठिक ठाउंमा लगेर जहाज अवतरण गरेका छन् । यसैले सत्य के हो भने अव पहिलो पुस्ताका कारण पार्टीमा टुटफुट र विभाजन आउनेवाला छैन । दोश्रो पुस्ताले आंट गर्ने छैन । किनकि हिजो र आजको एजेण्डा फेरिएको छ ।

Related News