प्रेम र जीवनबारे ‘आफ्नै किताब’

श्याम रिमाल । कृषि अर्थशास्त्रमा विद्यावारिधि दुवै जनाको  कर्मक्षेत्र भौतिक विषयसँग सम्बन्धित भए पनि दुवैलाई संयोगले ओशो चिन्तनको आध्यात्मिक मार्गतिर पनि डो¥यायो र आध्यत्मिकतासम्बन्धी स्वाध्ययन र अन्य व्यवहारबाट प्राप्त ज्ञानलाई अरुसमक्ष पनि पु¥याउनुपर्ने ठानी दुवै जना लेखक बन्नुभएकोछ । शिव र  शक्ति एकार्काका पूरक हुन् भनिन्छ । आफ्नो कृतिलाई प्रख्यात बनाउनुभन्दा पनि यसले पाठकलाई सधैँ सकारात्मक दृष्टिकोण राख्न प्रेरणा देओस् भन्ने पाण्डे दम्पतीको नम्रता नै स्तुत्य छ । 
एक्काइसौँ शताब्दीका चर्चित दार्शनिक रजनीश अर्थात् ओशोले प्रेम, यौन, शिक्षा, ध्यान आदिबारे निकै मौलिक विचारहरु प्रस्तुत गरे । खुला यौनका पक्षमा वकालत गर्ने भनी चिनिएका ओशोबारे कतिले विनाअध्ययन धारणा बनाएका छन् भने कतिले भेटेर वा उनका नाममा खुलेका आश्रममा गएर वा उनका सयौँ पुस्तक पढेर । करोडौँ मानिसलाई आफ्ना बुद्धि, तर्क र सम्भाषणले तान्न सक्ने क्षमता जोकोहीमा हुँदैन, जस्तो रजनीशमा थियो । अध्यात्म र विज्ञानलाई जोडेर नयाँ  दर्शन दिएका ओशोले पूर्वीय अध्यात्म दर्शन र पश्चिमी विज्ञानलाई एकै ठाउँमा ल्याए । पूरै भौतिकवादी र पूरै अध्यात्मवादीले वास्तविक सुख र आनन्द नपाउने ठान्ने उनले सन्न्यास र संसार भोग्न सक्ने जोरबा दी बुद्ध नामको नयाँमानवको नयाँ धारणा ल्याएपछि उनका चेलाहरु त्यसैको प्रचारमा अहिले दिनरात देशविदेश घुमिरहेका छन् । उनले ल्याएको नवसन्न्यासको धारणामा परिवार त्याग्नुपर्दैन । घरमै बसी स्वामी बन्न सकिन्छ । खुला प्रेममा जोड दिने ओशो महादेव, राम, कृष्ण, बुद्धको उदाहरण दिएर नवसन्न्यासीले ब्रह्मचर्यमा रहनुपर्दैैन भन्थे । प्राकृतिक स्वभावलाई दमन गर्नुहुँदैन भन्दै यौनलाई कुण्ठित गर्न नहुने सल्लाह दिन्थे । भारतमा सन्न्यासीहरु नै यौनकाण्डमा मुछिएको उदाहरण प्रशस्त छ । हालसालै भारतका रामरहिमको प्रकरण हाम्रासामु छँदैछ ।  
ओशोले ध्यान, ध्यान र ध्यानका लागि सबैलाई आग्रह गरेका छन् । उनका अनुसार ध्यान केवल आफैँलाई हेर्ने र जान्ने कला हो । त्यतिबेला कुनै शब्द र विचार तपाईँभित्र प्रवेश गर्न सक्दैन जसले तपाईँलाई विचलित गराउँछ ।   ओशोले भनेका छन्, ‘प्रेम त्यहाँ हुन्छ, जहाँ कुनै माग हुँदैन, कुनै चाहना हुँदैन, त्यहाँ केवल दिनुमा नै खुशी मिल्छ । यदि तपाईँ प्रेमपूर्वक बस्नुहुन्छ, प्रेमका साथ बस्नुहुन्छ भने तपाईँ एक महान् जिन्दगी जिइरहनुभएको छ किनकि प्रेमले जिन्दगीलाई महान् बनाउँछ । यदि तपाईँ जिन्दगीमा आफैँ आनन्द लिइरहनुभएको छैन भने तपाईँबाट अरु कसरी आनन्दित हुन सक्लान् र ? यदि कोही व्यक्ति एक्लो रहेर पनि खुशी हुन्छ भने वास्तवमा उही मानिस हुनयोग्य हुन्छ, आफ्नो खुशी अरुमा निर्भर भए तपाईँ गुलाम बन्नुहुन्छ यसको अर्थ तपाईँ पूरै मुक्त हुनुहुन्न, बन्धनमा बाँधिनुभएको छ ।’ ओशोका करीव सात सय पुस्तकबाट तपाईँ पानाका पाना यस्तै अनौठा अनौठा र नयाँ धारणा पाउन सक्नुहुन्छ ।
ओशोधाराका यी पाण्डे चेलाचेली ओशोगुरुको थुप्रै किताब प्रकाशन र उनका अनगन्ती सन्देशप्रति आकृष्ट भएर शरीर, मन, हृदय, विचार र भावनालाई परिष्कृत गर्दै संसारलाई प्रेमपूर्ण देख्न सिकाउने ‘आफ्नो किताब’ पढ्दैछन्– धैर्य, प्रेम, करुणा, स्वीकार जस्ता स्वभावमा रमाउँदै आफ्नै अनुभवको किताब ।
 काशीराज पाण्डे भागवत प्रतिष्ठानले यसै साल तिनको ‘आफ्नो किताब’ हामो चर्मचक्षुले पनि देख्ने गरी पुनःप्रकाशन गरिदियो र  हामीले रसास्वादन गर्ने मौका पाउँदैछौँ ।  सरल शब्द र भाव रहेका यहाँ रहेका २२ रचनामा बग्दै जाँदा आफू र आफ्नो जीवनलाई खोज्ने र चिन्ने, सोचाइ र दृष्टि सकारात्मक बनाई आनन्द र खुशी लिने, अरुको  चियोचर्चा चिन्ता वा चासो लिनुभन्दा आफू ठीक हुने– जागृत हुने, परिवार– इष्टमित्र– स्कुलकलेज– कार्यालय– छिमेकसँग सम्यक सम्बन्ध राख्ने, आफूले गर्ने कर्मलाई अभिनय गरेजस्तो ठानी आनन्द लिने,  सबैसँग सुमधुर बोली बोल्ने, भीष्म सङ्कल्प वा शिव सङ्कल्प गरी त्यसमा दृढ भएर रहने, शारीरिक–मानसिक–आध्यात्मिक लाभका लागि नियमित रुपमा योग र ध्यान गर्ने, जीवनमा जस्तो परिस्थिति आए पनि त्यसलाई स्वीकार गर्न सक्ने बन्ने, समाज वा संसार बदल्न त्यसको शुरुआत आफैँबाट गर्नुपर्ने, वासना हैन आत्मीय प्रेम गर्नुपर्ने, शरीर–मन र मस्तिष्क स्वस्थ राख्न विचार पनि स्वस्थ बनाउने, स्वास्थ्य र अर्थलाई ठीक स्थितिमा राख्ने तर अर्थका पछि मात्र दौडेर जीवनलाई अर्थहीन नबनाउने,  जतिसुकै व्यस्त भए पनि आफ्ना मातापिता र छोराछोरीसँग समय बिताउने र तिनका समस्यालाई सुनिदिने र जायज माग पु¥याइदिने, भौतिकता र आध्यात्मिकतालाई सँगै लगी जीवनलाई धन्य बनाउने जस्ता विचार र भावना पस्कँदै लेखकद्वयले आफ्नो किताब त कण्ठस्थ पारिसक्नुभएको छ र पाठकलाई पनि आफ्ना अनुभव बाँड्नुभएको छ । 
यी लेखकहरु आफ्नो पेशा, घरव्यवहार सबै धान्दै भौतिक र आध्यात्मिक दुवै क्षेत्रमा सफल बनी खुशी र आनन्दित जीवन बिताइरहनुभएको छ  जोर्बा दी बुद्धजस्तै ।  उहाँहरु आफ्नो पेशामा रमाउँदै, ध्यान–योगका साथ सत्सङ्ग पनि गर्दै आफूसँग धेरै नभए पनि अरुलाई पनि केही सहयोग र  परोपकार गरेर आनन्दित र खुशी जिन्दगी बाँच्दै हुनुहुन्छ । धर्मकर्म, तीर्थव्रत, न्यासध्यान भन्ने कुरा बूढाबूढी भएपछि गर्ने हो भन्ने आममान्यतालाई उहाँहरुले तोडेर यौवनावस्थामै अनुभव बटुली जीवनको पूर्ण अर्थ बुझेर पूर्णता पाइसक्नुभएको छ भने हामीले पनि तिनको जीवनको पत्रपत्रलाई किन नपढ्ने ?
यी सबै कुरामार्फत पाण्डे दम्पतीले उहाँहरुको किताब हैन कि आफूतिर फर्केर आफ्नै चाहिँ किताब अर्थात् आफ्नै जीवन र अनुभवलाई फर्केर पढ्न पाठकहरुलाई सुझाउनुभएको छ नकि अनेक लेखकका अनेक पुस्तक ।  जीवनको यो भागदौडमा अल्झिएर जीवनको अर्थ नबुझी समाप्त हुने कि जीवनको वास्तविक स्वाद लिने हो, त्यो तपाईँ हामै्र हातमा छ । पाण्डेद्वयको ‘आफ्नो किताब’ले यही भन्छ । पुस्तकमा सामान्य वर्णविन्यासका गल्ती छँदैछन् भने केही नेपाली फन्ट अङ्ग्रेजी बनाउन भुलिएको छ । हिन्दी शब्द र हिन्दी उर्दू भाषाका थुप्रैै कविता उद्धृत गरिएका छन् । संयुक्त कृति भए पनि कतै कतै छुट्टाछुट्टै लेखिएको भेउ पनि पाइन्छ । दर्शनमा रुचि राख्ने र सर्वसाधारणलाई पुस्तक पढ्दा घाटा चाहिँ हुँदैन ।

Related News