​राष्ट्रपतिको चिन्ता

नेकपा माओवादीले चलाएको कथित जनयुद्धले दिएका घाउमा अझै खाटा बस्न सकेका छैनन् । २०५२ देखि २०६२ सालसम्म केही हिंस्रक व्यक्तिहरूले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न यो देशमा भीषण हिंसा मच्चाएका थिए । दश वर्षसम्म चलेको त्यो हिंसाले नेपाल आमाका कयौँ छोराछोरीको प्राण हरण गर्‍यो । हजारौँ टुहुरा भए, घाइते अपांग भए, वृद्धवृद्धाले सहारा गुमाए, अबोध बालबालिकाले अभिभावक र भविष्य गुमाए, लाखौँ विस्थापित भए । तत्कालीन शासनव्यवस्थाविरुद्ध विद्रोहको नाम दिएर मच्चाइएको व्यक्ति हत्याको शिकार गोरखाको फुजेलका अधिकारी दम्पत्ति पनि बने । उनीहरूका १७ वर्षीय निर्दोष छोरा कृष्णप्रसादको माओवादीले गोली हानेर हत्या गरे । ती १७ वर्षीय किशोरका हत्यारालाई अझै कानुनको कठघरामा ल्याइएको छैन । 
निर्दोष छोराका हत्यारालाई कानुनी कारबाहीको माग गर्दै आमरण अनशन बस्दाबस्दै कृष्णप्रसादका पिता नन्दप्रसादको पनि प्राण गइसक्यो । नन्दप्रसादकी श्रीमती गंगामाया छोराका हत्यारालाई जसरी पनि कारबाही गराउने अठोटसहित अनशनमै छिन् । वीर अस्पतालको पुरानो आईसीयूमा रहेकी गंगामायाको स्वास्थ्य गम्भीर बन्दै गएको छ । तर, सरकारले उनको जीवन रक्षाको कुनै पहल गरेको छैन । सरकारको बेवास्ताका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले गंगामायाको जीवन रक्षाको लागि पहल गर्न सरकारलाई आग्रह गर्नुभएको छ । सत्य र निष्ठाको लडाईंको प्रतिक बनिसकेकी गंगामायाको जीवन रक्षामा सरकार उदासिन देखिएपछि राष्ट्रपतिले सरकारलाई पहल गर्न आग्रह गर्नुभएको हो । तर, राष्ट्रपतिको आग्रहपछि पनि सरकार टसको मस भएको छैन । होस् पनि कसरी ? गंगामाया जसलाई कारबाही होस् भनेर अनशन गरिरहेकी छन्, उनै अहिले शासनको बागडोर सम्हाली रहेका छन् । अर्थात माओवादीका अध्यक्ष प्रचण्ड अहिले प्रधानमन्त्री छन् । जसले चलाएका बन्दुकका गोली लागेर कयौँ नेपालीको प्राण हरण भयो, त्यो दलका नेता र अझ कति लडाका नै पनि अहिले मन्त्री बनेर घुमिरहेका छन् । 
नन्दमाया अहिले एक्लै अनशन बसिरहेकी छन् । किनभने उनीसँगै अनशन बस्दै आएका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा करिब वर्ष दिनअघि नै निधन भइसकेको छ । राज्यका कयौँ प्रलोभन, डर, त्रास र धम्की स्वीकारेर अनशन तोड्नभन्दा नन्दप्रसादले प्राण त्याग्न उचित सम्झे । २०७१ असोज ६ गते अनशन थालेको ३३४ दिन हुँदा उनको निधन भएको थियो । उनको शव अहिले पनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा नै छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने गंगामायाले अडान राखेपछि नन्दप्रसादको शव अस्पतालमा नै राखिएको हो । दुई वर्षअघि श्रीमान् बितेपछि एक्लो योद्धा झैँ अनशनरत छिन् गंगाामाया । २०६१ सालमा नन्दप्रसाद र गंगामायाका १७ वर्षे छोरा कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको थियो । 
अहिले सरकारको बागडोर सम्हालेको माओवादी त्यसबेलाका सबै व्यक्ति हत्याका घटनाबाट विस्तृत शान्ति सम्झौताको आडमा उम्कन खोजिरहेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा नै ती सबै घटनाको सुनुवाई हुनुपर्ने उसको अडान छ । गैरन्याययिक हत्या, जघन्य अपराधबाट ऊ उम्कन खोजिरहेको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले मेलमिलापको नाममा जघन्य अपराधलाई छुट नदिने निष्कर्षसहित उसले सरकार ढालेको थियो र कांग्रेसको बुईं चढेर सरकारको नेतृत्वमा पुगेको हो । एमालेलेलाई सरकारबाट हटाउने नाममा कांग्रेसले पनि माओवादी कृत्यलाई माफी दिने तयारी गरिरहेको छ । त्यसो भयो भने मुलुक गम्भीर दण्डहीनतामा जाने छ । हत्यारालाई कारबाही गरिएन भने समाजमा गहिरोसँग द्वन्द्वको बिउ रोपिनेछ । यसर्थ गंगामायालाई न्याय दिलाउन लोकतन्त्र र मानवअधिकारप्रति प्रतिबद्ध देशभित्र र देश बाहिरका सबै शक्ति, नेपाली जनताले वर्तमान सरकारमाथि दबाब सिर्जना गर्नुपर्दछ । सम्माननीय राष्ट्रपतिले देखाउनुभएको चासोलाई गम्भीरताका साथ लिँदै दोषीमाथि कारबाही होस् र गंगामायाको जीवन रक्षा गरियोस् ।

Related News