​राष्ट्रपतिको सकारात्मक कदम

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । मानिसलाई सकारात्मक कुराले भन्दा नकारात्मक कुराले चाँडो ध्यान तान्छ । अहिले ‘सामाजिक सञ्जाल’ नकारात्मकतातिर बढी केन्द्रित भएको देखिन्छ । यो राम्रो कुरा होइन । एउटा सकारात्मक सन्देशले धेरैको मन जित्न सकिन्छ भने, नकारात्मक कुराले धेरैको मन मस्तिष्क खल्बलिन सक्छ । त्यसैले मिडियाको विश्वसनीयतालाई कमजोर बनाउँछ । मिडियाको बल भनेकै प्रबुद्ध पाठकको विश्वास हो । त्यो विश्वास जित्न मिडियाकर्मीहरुले एउटा बौद्धिक पाठकको भन्दा बढी विद्धता हासिल गर्न सक्नुपर्छ । अर्थात्, मिडिया भनेको ‘थिंक ट्यांक’ हो । जसले सकारात्मक, नकारात्मक दुवै खालको जनमत निर्माणमा ठूलो भूमिका खेलेको हुन्छ । नेपालकै राजनीतिक परिवर्तनको कुरा गर्ने हो भने मिडियाको अहं भूमिका छ । त्यसैले मिडियालाई चौथो अंग पनि भनिन्छ । मिडियालाई चौथो अंगमा कुनै संविधानले पु¥याएको होइन । देश र जनताप्रति उसको भूमिकाले गर्दा नै विश्वमा मिडियालाई चौथो अंगको रुपमा लिइन्छ । त्यसैले कुनै पनि कुरा लेख्नुभन्दा अगाडि त्यसले देश र समाजलाई कस्तो प्रभाव पार्छ भन्ने कुरालाई मिडियाले ध्यान दिनुपर्छ ।
प्रसंग, राष्ट्रपति विद्यादेवी भण्डारीले इलेक्ट्रिक सवारी साधन प्रयोग गर्ने समाचारको हो । अन्नपूर्ण पोष्टका पत्रकार छेटु शेर्पाले यो समाचार प्रकाशित गरेपछि सामाजिक सञ्जाल तरंगित भयो । सकारात्मक, नकारात्मक दुवै खालको प्रतिक्रियाले ‘सामाजिक सञ्जाल’ रंगियो । वास्तवमा राष्ट्रपतिद्वारा गरिएको यो एउटा राम्रो कामको सुरुवात थियो । पेट्रोलियम पदार्थ हामी उत्पादन गर्न सक्दैनौं । तर, जलविद्युत् उत्पादन गर्न त हामी सक्षम छौं । नेपालमा वार्षिक डेढ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भइरहेको छ । एक तथ्यांक अनुसार हरेक वर्ष ६०, ६२ अर्बको पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयात भइरहेको छ । यसले व्यापार घाटा पनि ठूलो मात्रामा बढाएको छ । भारतसँग व्यापार घाटा कम गर्ने एउटा विकल्प नेपालमा विद्युतीय सवारी साधनको प्रयोग हुनसक्छ । जसले गर्दा हरेक वर्ष पेट्रोलियम पदार्थमा भइरहेको खर्बौ रुपैयाँ खर्च नेपालकै जलविद्युत् क्षेत्रमा लगानी गर्न सक्छौँ । यसले औद्योगिक उत्पादन क्षमता बढाउने मात्र होइन, नेपालको अर्थतन्त्रमै ठूलो परिवर्तन ल्याउन सक्छ । एक तथ्यांकका अनुसार प्रतिमेगावाट विद्युत् उत्पादन गर्न बीस करोड रुपैयाँ लागत लाग्छ । अहिले हामीले पेट्रोलियम पदार्थमा गरिरहेको एक÷डेढ खर्ब रुपैयाँले हरेक वर्ष ७५० मेगावाट विद्युत् उत्पादन गर्न सक्छौं । विद्युतीय सवारी साधनको प्रयोगले एकातिर देश आर्थिक समृद्धिको बाटोमा जान्छ भने अर्कोतर्फ पेट्रोलियम पदार्थको प्रयोगबाट निस्कने प्रदूषणबाट हामी जोगिन सक्छौँ ।
अहिले काठमाडौंँ विश्वमै वायु प्रदूषित राजधानीमा पर्नुको एउटा कारण सवारी साधनबाट निस्कने धुवाँ पनि हो । यही प्रदूषणलाई नियन्त्रण गर्न भारत सरकारले सन् २०३० देखि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमाथि प्रतिबन्ध लगाउँदै छ । छिमेकी राष्ट्र चीनले पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विस्थापित गरेर त्यसको ठाउँमा इलेक्ट्रिक भेइकलको प्रयोगलाई जोडतोडले लागू गर्दै आएको छ । नेपाल भने भन्सार शुल्क असुल्ने नाममा छिमेकी देशहरुले प्रतिबन्ध लगाएका सवारी साधनहरुको ‘डम्पिङ साइट’ बन्दैछ । सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा त अगाडि सारेको छ । तर, त्यसलाई साकार पार्ने विद्युतीय सवारी साधन पनि एउटा माध्यम हो भन्ने कुरा सरकारले भुलेको छ । विद्युतीय सवारी साधन आयात गर्दा भन्सार सहुलियत त दिएको छ । तर, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीदेखि सचिवहरु करोडौँ करोडको गाडी चढेर प्रदूषण निम्त्याइरहेका छन् । निर्णायक तहमा बस्ने व्यक्तिहरुको मानसिकतामा परिवर्तन नभएसम्म देश परिवर्तन हुँदैन । देश परिवर्तन गर्न सबैभन्दा पहिला आफू परिवर्तन हुनुपर्छ भन्ने सन्देश राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकी छन् । 
त्यसो त तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले पनि इलेक्ट्रिक गाडी चढेर एउटा सन्देश देशलाई दिन नखोजेका होइनन् । तर, त्यसलाई राष्ट्रिय योजना आयोगले पनि पछ्याउन सकेन । हिजो अस्ति मात्रै ऊर्जामन्त्री वर्षामान पुनले इलेक्ट्रिक जीप प्रयोग गर्ने समाचार बाहिर आयो । यसले सामाजिक सञ्जालमा सकारात्मक सन्देश दियो । यो ऊर्जामन्त्री पुनको सकारात्मक कदम हो । उनलाई अन्य मन्त्रीहरुले पनि पछ्याउन सके भने देश परिवर्तनको बाटोमा लाग्न सक्छ । राष्ट्रपति भण्डारी र ऊर्जामन्त्री पुनले गरेको यो एउटा सानो उदाहरणलाई हरेक मन्त्री र सचिवले आफ्नो जीवनशैली बनाउन सके भने मात्र प्रधानमन्त्री ओलीले भनेकै ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना साकार हुन सक्छ । जुन कुराको आरम्भ राष्ट्रपति भण्डारीबाट हुनु नेपालको भविष्यका लागि सुखद् समाचार हो । यसलाई हामी सबैले सकारात्मक रुपमा लिनुपर्छ । किनभने, देश बनाउने भन्ने कुरा एउटा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको मात्र जिम्मेवारी होइन । हामी सबै जनताको पनि दायित्व हो । तर, त्यो कुराको सुरुवात माथिबाटै हुनुपर्छ भन्ने कुरालाई राष्ट्रपति भण्डारीले आत्मसात गरेकै कारण करोडौंको सवारी साधन त्यागेर उनीले ६० लाखको इलेक्ट्रिक कार चढ्ने निर्णयमा पुग्नु आफैँमा राष्ट्रप्रतिको जिम्मेवारीबोध हो ।

Related News