राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित

दृष्टि न्यूज

काठमाडौं, २९ फागुन । 
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दुई तिहाई मतभारका साथ दोस्रो कार्यकालका लागि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा पुनः निर्वाचित भएकी छिन् । 
मंगलबार विहानदेखि अपरान्हसम्म भएको निर्वाचनमा भण्डारीले विपक्षीभन्दा तीन गुणा बढि मतले बिजयी भएकी हुन् । यद्यपि राष्ट्रपति निर्वाचनमा सामान्य बहुमतबाट चयन हुने संवैधानिक व्यवस्था छ । 
कांग्रेसकी कुमारी लक्ष्मी राईको ११७३० मतभारका विरुद्धमा ३९ हजार २७५ मतभारसहित भण्डारी दोस्रो कार्यकालको लागि बिजयी भएकी हुन् । भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले आफ्नो मत दिएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् । तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत भने बदर भएको निर्वाचन आयोगले जनाएको छ । 
निर्वाचनमा संघीय संसदका कूल ३३१ र प्रदेशसभाका कूल ५३६ सदस्य मतदात गरेका थिए । राष्ट्रपतिको निर्वाचनमा नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए । आयोगका अनुसार संघीय संसदका ५ र प्रदेशसभाका १४ छन् ।
निर्वाचनमा संघीय संसदको एक सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सांसदको मतभार ४८ छ ।
यसैबीच, दोस्रो कार्यकालका लागि निर्वाचित भएकी राष्ट्रपति विद्या भण्डारीको शपथग्रहण कार्यक्रमको तयारी सुरु भएको छ । शितल निवासमा भोलि भव्य समारोहको बीचमा बुधवार अपरान्ह चार बजे राष्ट्रपति भण्डारीको शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीलाई प्रधानन्यायाधिश गोपाल पराजुलीले शपथग्रहण गराउने कार्यतालिका रहेको छ ।

Related News