राष्ट्रपति चयनका लागि मतदान सुरु

दृष्टि न्यूज

काठमाडौं, २९ फागुन । 
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मंगलबार संसदमा मतदान सुरू भएको छ । बिहान १० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्ने संसद सचिवालयले जनाएको छ । राष्ट्रपतिको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसको तर्फबाट लक्ष्मी राई प्रतिस्पर्धामा रहेका छन् ।
प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८८० जना मतदाता निर्वाचनमा सहभागी हुँदै छन् । राष्ट्रियसभामा मनोनित भएर पनि सर्वोच्च अदालतको कारण शपथमा ढिलाई भएकाहरु युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेल राईले मतदान गर्न पाउने छैनन् भने प्रदेशतर्फका सांसद दीपक मनांगे शपथग्रहण नगरी फरार रहेका कारण उनले पनि भोट हाल्न पाउने छैन् । 
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको छ । ८८० जना मतदाताको कुल मतभार ५२ हजार ५०१ हुन्छ । राष्ट्रपतिमा बहुमतसहित निर्वाचित हुन २६ हजार २ सय ५१ मतभार आवश्यक पर्छ । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी विद्यादेवी भण्डारीको जित निश्चित भइसकेको छ । सोही कारण कांग्रेसले उपस्थितिको लागि मात्रै उम्मेदवार बनाएको हो ।

Related News