प्रधानमन्त्रीले स्वीच खोले, चुल्होमा ग्याँस हुर्रै

दृष्टि न्यूज

विराटनगर । 
प्रधानमन्त्री केपी शर्मा ओलीको घर–घरमा ग्याँस पाइपमार्फत चुल्हो बाल्ने र सिलिण्डर हटाउने अघिल्लो कार्यकालको एउटा सपना थियो । कांग्रेसीहरुले गत निर्वाचनमा उक्त सपनालाई हावादारी भन्दै उडाए । तर, मंगलबार विराटनगरमा फरक दृष्य देखियो । विराटनगरमहानगरपालिका वडा नं १४ स्थितको गाउँमा पुगेका प्रधानमन्त्रीले त्यहाँ निर्माण गरिएको एउटा ग्याँस प्लान्टको स्वीच खोले र लगत्तै चुल्हो बाले । चुल्होमा ग्याँस हुर्रर्र बल्यो । सबैले ताली बजाए । सानो परिणाममा किन नहोस्, प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री बनेको छ महिनामै ३२ घरका स्थानीयबासीले सिलिण्डर बिना पाइपबाट ल्याएको ग्याँसबाट खाना पकाउन पाउने भएका छन् । अब ३२ घरको भान्सामा विदेशी ग्याँस होइन, नेपाली गाईबस्तुको गोबरबाट उत्पादन गरिएको ग्याँसबाट दैनिकी चल्ने सम्भव भएको छ ।
ग्याँस चुल्होको बटम खोल्दै प्रधानमन्त्री ओलीले भने, ‘सिलिण्डर हटाउन समस्या छैन, केही समय लाग्न सक्छ ।’ प्रधानमन्त्री ओलीले उद्घाटन गरेको परियोजनाका ३२ घरले पाइपबाट चाहिएपछि ग्याँस प्राप्त गर्नेछन् । 
विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास प्लान्टबाट पाइपमार्फत स्थानीय ३२ घरको चुल्होमा ग्याँस आपूर्ति सुरु गरिएको छ । 
प्रधानमन्त्री ओलीसँगै कानुन तथा संघीय मामिला मन्त्री भानुभक्त ढकाल र ऊर्जा मन्त्री वर्षमान पुन पनि सहभागी छन् । त्यस्तै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि विराटनगर आईपुगेका छन् । 

Related News