​प्रोजेक्ट लोन : चुनौती र अवसर

पार्वती धरेल, काठमाडौं, २७ भदौं । निजी क्षेत्रले लामो समयदेखि परियोजना धितोमा ऋण (प्रोजेक्ट फाइनान्सिङ) को कुरा उठाउँदै आएपनि नेपाली बैंक तथा वित्तीय संस्थाहरु प्रोजेक्ट फाइनान्सिङतर्फ खुलेर अघि बढ्न सकेका छैनन् । ठूला आर्थिक उन्नती गरेका युरोप अमेरिकामा बर्षौ पहिलेदेखि अभ्यासमा आएको परियोजना धितोमा ऋण दिने व्यवस्था नेपालमा भने ऋण लिनको लागि घरजग्गा, गाडीलगायतका चल–अचल सम्पत्ति धितो राख्नै पर्ने बाध्यता छ । ऋणीहरुले फर्जी परियोजना बनाएर बैंक तथा वित्तीय संस्थाहरुले चाहेर पनि सर्वसधारणको निक्षेपलाई जोखिमयुक्त क्षेत्रमा लगानी गर्न सक्ने अवस्था छैन ।
नेपालमा धेरै अभ्यासमा नआएको प्रोजेक्ट फाइनान्सिङ नेपाली ऋणीहरुको लागि समेत नयाँ बिषयबस्तु हो । थाहा पाएका र केही नाम चलेका उद्योगीहरुले बैंकबाट यस्ता ऋण उपभोग गर्दै आएको भएपनि आम स्वरुप भने परियोजना ऋणले ग्रहण गर्न सकेको छेन । प्रोजेक्ट फाइनान्सिङ भन्ने वित्तिकैं बैंकहरु तर्सिनुपर्ने कारण ऋणीहरुको घरजग्गा धितो नहुने हुँदा दुरुपयोग हुन्छ कि भन्ने जोखिम बढी हुन्छ । नेपालमा लगानी गर्न आउने ठूलो अन्तर्राष्ट्रिय बैंकहरुले समेत सरकार जमानी बसेको अवस्थामा मात्रै ऋण लगानी गर्दै आएका छन् । प्रोजेक्ट फाइनान्सिङ प्रक्रिया अघि बढ्न नसक्दा उद्योग धन्दा गर्न चाहने, गर्न सक्ने थुप्रै व्यवसायीहरु पुँजिको अभावमा त्यतिकै थन्किएको अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरुले दीर्घकालिन लगानी, लगानीको दायरा फराकिलो बनाउन परियोजना धितोमा ऋण प्रवाह गर्नुको विकल्प छैन । राम्रो प्रतिफलका कारण केही बैंक तथा वित्तीय संस्थाहरुले हाईड्रोपावर तथा विभिन्न साना आकारको परियोजनामा लगानी गरेको भएपनि यसलाई परियोजना फाइनान्सिङमा प्रवेश गरेको भन्न मिल्ने अवस्था छैन ।
प्रोजेक्ट फाइनान्सिङ बैंक तथा वित्तीय संस्थाहरुको लागि अत्याधिक जोखिम बहन गर्नुपर्ने क्षेत्रको रुपमा रहेको छ । उद्योगी व्यवसायीहरुले भने प्रोजेक्ट फाइनान्सिङको रुपमा प्राप्त कर्जा दुरुपयोग गरी बैंक तथा वित्तीय संस्थाहरुलाई छल्ने, ढाँट्ने धन्दाको रुपमा अघि बढाएका कारण दुई पक्षका बीचमा आपसी विश्वास बढ्न सकेको छैन । नेपालमा धेरै परियोजना तथा व्यवसायहरु सफल भएको तथा बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको साँवा ब्याज नियमित तिर्ने अवस्थामा हुँदा–हुँदै पनि धितोको कारण कर्जा लिन नसकेर पुँजि बृद्धि गर्न सकिरहेका छैनन् । अर्कोतर्फ फर्जी परियोजना बनाएर बैंक डुबाएर ऋण प्रवाह गर्ने बैंकरहरु नै जेल यात्रा गर्न बाध्य भएको विद्यमान अवस्था छ । सोही कारण बैंक तथा वित्तीय संस्थाले पनि आँखा चिम्लेर निर्धक्क बिना धितो प्रोजेक्टमा लगानी गर्ने अवस्था छैन । सञ्चालकको नियतमा धेरै कुरा निर्भर हुने हुँदा बैंक तथा वित्तीय संस्थाले प्रोजेक्ट फाइनान्सिङमा लगानी गर्ने अवस्था नरहेको नेपाल बैंक लि. का सिईओ देवेन्द्र प्रताप शाह बताउँछन् । 
त्यसो त व्यवसायीहरुले प्रोजेक्ट फाइनान्सिङको व्यवस्था हुनुपर्ने भन्दै औपचारिक रुपमा माग गरेको पनि धेरै वर्ष बितिसकेको छ । २०६९ साल साउनमा सम्पन्न भएको युवा उद्यमी सम्मेलनको मुख्य एजेण्डा प्रोजेक्ट फाइनान्सिङलाई बनाइएको थियो । परियोजना धितोमा कर्जा प्रवाहको व्यवस्था नहुँदासम्म नेपालको अर्थतन्त्र माथि उठ्न नसक्ने भन्दै उद्यमशिलता विकासको लागि आयोजना गरिएको सम्मेलनमा युवा नेपाल उद्यमी मञ्चका अध्यक्ष अजयभक्त प्रधानाङ्गले नेतृत्व गरेका थिए । त्यस्तै २०७० साल असोजमा सम्पन्न दक्षिण एसियाली युवा उद्यमी सम्मेलनमा समेत यो बिषयले निकै स्थान पाएको थियो । 
पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरुले प्रोजेक्ट फाइनान्सिङमा लगानी गरेको भएपनि उचित प्रतिफल लिन नसक्दा बैंक तथा वित्तीय संस्थाहरु खुलेर प्रोजेक्ट फाइनान्सिङलाई प्राथमिकता दिने अवस्थामा छैनन् । बैंक तथा वित्तीय संस्थाहरुमाथि प्राजेक्ट फाइनान्सिङको नाममा अनावश्यक प्रसासनिक तथा राजनीतिक दवाव पर्ने सम्भावनाको कारण समेत परियोजना धितोमा ऋणले आम स्वरुप ग्रहण गर्न सकेको छैन । फर्जी प्रोजेक्ट बनाएर झुक्याउने खतराका कारण सर्वसधारणको निक्षेपलाई जोखिममा पार्न कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु तयार हुन नहुने बैंकरहरुको बुझाई छ । त्यसैले पनि प्रोजेक्ट फाइनान्सिङले तत्कालै बैंकरहरुको विश्वास जित्न सक्ने व्यवस्था छैन । 
नेपालमा प्रोजेक्ट फाइनान्सिङलाई सहयोग पुग्ने गरी क्रेडिट रेटिङ गर्ने कम्पनी खुलेको भएपनि क्रेडिट रेटिङ गर्ने अभ्यास प्रभावकारी हुने सकेको छैन । विश्वासयोग्य रेटिङ कम्पनीले गरेको वित्तीय अवस्थाको विश्लेषण, परियोजनाको बिमा आदिको आधारमा बैंक तथा वित्तीय संस्थाहरुले सहज रुपमा ऋण लगानी गर्ने गर्दछन् । नेपालमा प्रोजेक्ट फाइनान्सिङको अभ्यास भर्खरै  सुरु भए पनि यसको बजार विस्तार भने हुन सकेको छैन । 

Related News