​पुष्पलाल र बीपीको सम्झना

गत साता नेपाली राजनीतिका दुई इतिहासपुरुषको स्मरणमा नेपाली लोकतन्त्रका पक्षधर संस्था—संगठनहरुले विभिन्न कार्यक्रम गरे । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र नेपाली कांग्रेसका संस्थापक सभापति बीपी कोइरालाले कठोर राणा तथा पञ्चायती व्यवस्थाका विरुद्धमा छेडेको आन्दोलन, उदार लोकतान्त्रिक व्यवस्था स्थापनाका निम्ति गरेको वैचारिक तथा सांगठनिक योगदानको चर्चामा प्रशस्त शब्द खर्चिइए, कयौँ वर्षदेखि खर्चिइँदै आएको पाइन्छ ।
बीपी कोइरालाले जुन विचार, सिद्धान्त र लक्ष्यका साथ कांग्रेस स्थापना गरेका थिए र लोकतान्त्रिक आन्दोलन अगाडि बढाएका थिए, आजको कांग्रेस हेर्ने हो भने उनले जन्माएको पार्टी त्यही हो कि होइन भनेर सोध्नुपर्ने अवस्था छ । बीपीले गठन गरेको कांग्रेस र उनले स्थापना गर्न खोजेको मूल्य पद्धतिका आधारमा आज शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसको तुलना नै गर्न नसकिने होइन कि लाजले शिर निहुराउनुपर्ने अवस्था छ । बीपीले राणा र पञ्चायतको तानाशाहीविरुद्ध लडे । जेलनेल भोगे । बिरालाले मुसा खेलाएझैँ भारतीय संस्थापनले आफूहरुलाई खेलाइरहेको बुझेपछि राष्ट्रिय मेलमिलापको नीतिका साथ उनी स्वदेश फिरे । आफ्नो मुलुकको सार्वभौमसत्तालाई उनले पहिलो प्राथमिकतामा राखेर र देशभित्रको अधिनायकवादी तन्त्रका विरुद्धमा देशभित्रै संघर्ष गर्ने निधो गरे ।
तर, आज शेरबहादुर कांग्रेसको नेतृत्व गरेर राष्ट्रका संस्था—संरचना खत्तम पार्न एकपछि अर्को अराजक कदम चाल्दै छन् । अदालतमाथि हमला गर्दै उक्त स्वतन्त्र निकायलाई आफ्नो आज्ञाकारी संस्थाका रुपमा संकुचित गर्न खोज्दै छन् । निर्वाचन आयोगलाई प्रधानमन्त्री कार्यालयको शाखासरह सञ्चालन गर्दै छन् । राष्ट्रिय अखण्डता, अस्मिता र संविधानको भावनालाई कुल्चेर बाह्य शक्तिका सामु लम्पसार पर्दै केवल सत्ताको आयु लम्ब्याउने एक मात्र उद्देश्यका साथ अघि बढ्दै छन् । संविधानलाई असफल तुल्याउन र संक्रमणकालीन राजनीतिलाई थप अनिश्चयमा धकेल्न प्रमुख प्रतिपक्षी लगायत परिवर्तनका नेतृत्वदायी दलहरुलाई किनारामा हुत्याएर कुनै मूल्य, सिद्धान्त नमिल्ने उग्रपन्थी दलहरुसँग राजनीतिक सहयात्रा गर्दै छन् । विचार, मूल्य, सिद्धान्तलाई तिलाञ्जली दिएर सिद्धान्तविहीन र नैतिकताविहीन राजनीतिक सहयात्राले तत्कालको सत्तास्वार्थ त पूरा होला तर बीपीको आत्मा र आदर्शले स्वीकार्ने छैन ।
आज नेपाली कांग्रेस बीपीले बीजारोपण गरेको समाजवादी लोकतान्त्रिक विचारले ओतप्रोत र एक जीवन्त लोकतान्त्रिक संगठन होइन, एक निर्जीव अस्थिपञ्जर जस्तो छ । यति ठूलो संगठन र इतिहास भएको पार्टीमा देउवा एकजना अराजक नेता निस्किए भन्दैमा मातहतको सारा संगठन यसरी प्रतिक्रियाविहीन हुनुपर्ने होइन । युवा भनिने पुस्ताले समेत आफूभित्रको आकण्ठ विद्रोही आवाज किन दबाइरहेको छ र लोकतान्त्रिक मूल्यपद्धतिलाई ध्वस्त बनाउने बाटोतिर नेतृत्व अघि सर्दा किन मौन धारण गरिरहेको छ ?के यो पुस्ता पनि पहिलो पुस्ताका दुराचार र दुव्र्यवहारको सती गइसकेको हो ?
संसदको सबैभन्दा ठूलो दल र उसलाई साथ दिन पुगेका केही उग्रवादी तथा दक्षिणपन्थी शक्तिहरु संविधानले तय गरेको बाटोभन्दा उल्टो यात्रा तय गर्न हिँडेपछि शिशु गणतन्त्रलाई सही मार्गतर्फ अग्रसर गराउन प्रतिपक्षी दल नेकपा एमालेको भूमिका थप जिम्मेवार हुनुपर्ने देखिन्छ । यो तहको गम्भीरता र जिम्मेवारीको बोध एमाले नेतृत्वमा हुनुपर्छ । पुष्पलालको सम्झनामा गरिरहँदा उनले अंगीकार गरेको आदर्शलाई भुल्नुहुँदैन । सम्भावित मित्र शक्तिहरुको पहिचान गरी तत्कालीन र दीर्घकालीन उद्देश्यपूर्तिका निम्ति सहकार्यका विकल्पहरु एमालेले पहिल्याउन सक्नुपर्दछ ।
यो किन पनि आवश्यक छ भने एमालेप्रति जनताले गरेको विश्वास र भरोसा टुटाउन नियोजित रुपमा नेपथ्यबाट अस्वस्थ खेलहरु भइरहेका छन् । एमालेलाई एक्ल्याएर कमजोर र भयभीत बनाउन पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा गरिएको मोर्चाबन्दीबाट पनि यो कुरा स्पष्ट हुन्छ । तसर्थ, एमालेले ती पृष्ठभूमिका खेलहरुको अन्तर्यको बोध गरी हाल संविधान संशोधनको माग प्रस्तुत गरिरहेका दलहरुसँग घनीभूत वार्ता गर्नुपर्दछ । कांग्रेस—माओवादी गठबन्धनले आफ्नो सत्तायात्रा लम्ब्याउन र नेपालको संविधान जारी गर्दाको प्रक्रियामा सुरुदेखि नै असन्तुष्ट रहँदै आएको दक्षिणी छिमेकीलाई खुसी पार्न अमूर्त रुपमा उठाइएका संविधान संशोधनका मागलाई कार्डको रुपमा प्रयोग गर्दै छ ।
आफू मधेसी जनताको पक्षमा देखिएजस्तो गर्ने र एमालेलाई विरोधीजस्तो देखाउने उसको चालबाजी मात्र हो भन्ने त राष्ट्रिय जनता पार्टीलगायत धेरै दलहरुले स्पष्ट बुझिसकेका छन् । त्यही कारण उनीहरु अहिले एमालेसँग नै संवाद गर्न तयार भएका छन् । संवादको यो सिलसिला जारी राखी वास्तविक गुनासाहरुको सम्बोधन गर्दै कृत्रिम विवाद र अमूर्त एजेन्डाबारे वास्तविकता जनसमक्ष ल्याउनुपर्छ । त्यसपछि स्पष्ट हुनेछ, को हो मधेसविरोधी ? को हो मधेसको असन्तुष्टिलाई आफ्नो राजनीतिक कार्डका रुपमा उपयोग गर्न खोज्ने शक्ति ? र, को हो वास्तविक देश र मधेसको समस्या समाधान भएको हेर्न चाहने शक्ति ?

Related News