​रविना थापाद्वारा एनआरएन एनसीसी अमेरिकाको अध्यक्षमा उम्मेदवारी घोषणा

अमेरिका, २१ फ्रेबुअरी
अमेरिकाको बाल्टिमोरमा बसेर व्यवसाय र समाजसेवामा सक्रिय रविना थापाले एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । आफ्नो नेतृत्वमा एनआरएन एनसीसी अमेरिकालाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमध्ये सबैभन्दा उत्कृष्ट दर्जाको एनसीसी बनाउने बाचा  उनको छ ।  
  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी कार्यकाल २०१७–२०१९ का लागि हुने निर्वाचनमा वर्तमान उपाध्यक्ष थापाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै आफ्ना प्रतिबद्धता पनि सार्वजनिक गरेकी छिन् ।  मेरिल्याण्ड राज्यमा बस्दै आएकी थापाको समर्थन र सहयोगका लागि स्थानीय तथा न्यूयोर्कदेखि अरु राज्यका धेरै नेपालीको उपस्थिति रहेको थियो ।  स्थानीय संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा थुप्रै एनआरएनहरुले शुभकामना  दिएका सो घोषणा कार्यक्रममा थापाले आफ्नो चुनावी घोषणापत्र समेत सार्वजनिक गरेकी थिइन् । आफ्नो कार्यकालमा ८० प्रतिशत कार्यक्रम अमेरिकामा रहेका नेपालीका लागि हुने घोषणा  गरेकी थापाले आफूलाई जिम्मेवारी दिए संस्थालाई  सबैभन्दा उच्चस्थानमा पु¥याउने घोषणासमेत गरेकी छिन्  । 
यस्तो छ उनको घोषणापत्र
  थापा म्याग्दी जिल्लाको मराङ गाविस बस्ने दिलबहदुर केसी र रेवती केसीको सुपुत्रीको रुपमा जन्मेर, विवाहपछि कास्की जिल्लामा पति नारायण थापा र दुई छोराका साथ हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएकी छु । मैले काठमाडौंको बालकुमारी उच्च माध्यमिक बिद्यालयबाट एसएलसी उत्तीर्ण गरें । अनि उच्च शिक्षाका लागि पद्मकन्या कलेजदेखि जापान र बाल्टिमोर कम्युनिटी कलेजसम्म  अध्ययन गरेकी छु । ब्यवसायको सिलसिलामा जापानमा समेत केही समय बसेकी छु ।
अन्तमा, अमेरिकाको बाल्टिमोरमा विगत १५ बर्षदेखि हाम्रो पारिवारिक ब्यवसाय गर्दै आएका छौं । यसका साथै समाज सेवामा समेत सहभागी हुँदै आएकी छु । रविना फाउन्डेसनको स्थापना गरी नेपालमा थुप्रै सेवाका कार्यहरु गर्नुका साथै, कास्की समाज अमेरिका, म्याग्दी समाज अमेरिका, अमेरिकन नेपाली सोसाइटी र केही अरु संस्थाहरुमा समेत सल्लाहकार रहँदै आएकी छु । बाल्टिमोरमा स्थापित संस्था Baltimore Association of Nepalese in America (BANA) मा उपाध्यक्षबाट सुरु गरेर अध्यक्षको समेत जिम्मेवारी लिएर एक कार्यकाल पूरा गरिसकेकी छु । पशुपति, बुद्धमन्दिर लगायत Association of Nepalese in America कन्भेन्सनमा थुप्रै पटक फरक फरक जिम्मेवारी लिएर काम गर्नुका अलावा आधा दर्जन भन्दा धेरै सामाजिक संस्थाहरुमा काम गरेको अनुभव छ मेरो । समाजसेवा मेरो धड्कन मात्र होइन मेरो जीवनको एउटा पाटो हो । पछिल्लो पटक सन् २०१३ को अन्तिमतिरबाट म गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्य बनेर तत्कालीन नेतृत्वलाई सघाउन लागें । संस्थाको गतिसँगै मलाई NRNA मा काम गर्न उत्साह लाग्यो र सन् २०१५/२०१७ को कार्यकालमा मैले उपाध्यक्षको जिम्मेवारी निभाउँदै आएकी छु । यो हौसला र NRNA अभियानलाई अझ  धेरै जिम्मेवारीपूर्वक निभाउनका लागि मैले यो पटक अध्यक्ष पदको लागि उम्मेदवारी दिएकी छु । तपाईंहरु सबैको सहयोग र साथले यो अभियानमा म सफल हुनेछु भन्ने मेरो बिश्वास छ । आशा छ सबैले साथ दिनुहुनेछ ।
यसकारण मेरो उम्मेदवारी 
मेरो उम्मेदवारी अध्यक्षमा नै किन ?   NRNA/ NCC USA को स्थापनाकालदेखि हालसम्म संस्थालाई यहाँसम्म पुर्याउन योगदान दिनुहुने अग्रजहरुलाई ससम्मान धन्यवाद ज्ञापन गर्दै मेरो नेतृत्वको कार्यकालमा एनआरएनए एनसीसी अमेरिकालाई एनआरएनएका सबैभन्दा उत्कृष्ट दर्जाको, गौरवशाली एनसीसी बनाउनका लागि म अध्यक्षको प्रत्यासी भएकी हुँ । यो घोषणापत्रबारे असल Vision  (परिकल्पना) नै सफलताको कडी हो । म आफू अध्यक्षको प्रत्यासी भैरहँदा आफ्नो कार्यकालमा संस्था कस्तो हुने भन्ने स्वरुप र पिक्चर दिनु मेरो कर्तब्य हो । बिनाबाटो या बिनाटुंङ्गो मैले संस्था डो¥याउन सक्दिनँ । सपना भनेको काल्पनिक या कार्यान्वयन नै गर्न नसकिने गरी देख्ने कुरा पनि होइन । संस्थाको अर्थमा एउटा अध्यक्षको उम्मेदवारले देख्ने सपना भनेको संस्थाको वास्तविक धरातलमा गएर देख्ने हो । तसर्थ यो घोषणापत्रमा मैले मेरो परिकल्पना र सपनालाई, मेरो दृष्टिकोण, संस्थाको बिधिबिधान, मर्म अनि औचित्य सबैसँग मेलखाने गरी विशिष्ट योजनाविद, एनआरएनएका बिज्ञहरुको समेत परामर्शमा तयार पारेकी छु । प्रथम कुरा परिकल्पना हो । मेरो नेतृत्वको कार्यकालमा एनआरएनए एनसीसी अमेरिका गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को सबैभन्दा उत्कृष्ट दर्जाको एनसीसी हुनेछ ।’ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षको उम्मेदवारको हैसियतले मैले छोटो रुपमा आफ्नो घोषणा पत्रमार्फत् एउटा खाका प्रस्तुत गरेकी छु । योजानाको बिस्तृत स्वरुप र ब्याख्याबाट यो घोषणापत्र तयार गरिएको हो । निर्वाचनपछि, कार्यसमितिको पहिलो बैठकमा सो योजना पेस गरी कार्यान्वयनको लागि अगाडि बढाउनेछु । आरसी, डिआरसी, आइसीसी सदस्य, कार्यसमिति, कमिटीहरु, सल्लाहकार, सदस्य तथा सम्पूर्ण स्टेकहोल्डर, संघ(संस्था अनि नेपाली समुदाय सबैसँगको सहकार्यले यो क्षेत्रमा मात्र होइन विशवमा नै एनआरएनए एनसीसी अमेरिकाले सबैभन्दा उत्कृष्ट स्थान लिनेछ । दोस्रो, संस्था र नेतृत्व बिकासबारे मेरो नेतृत्वको कार्यकालमा यो संस्थाका बोर्ड, च्याप्टर, कमिटीहरु, सल्लाहकार, सबैको आफ्नो क्षमता र जिम्मेवारी अनुसार सक्रियता हुनेछ । सम्पूर्ण कुराहरु बिधान, नीति, कानुन र नियमसंगत हुनेछन् । कोही पनि व्यक्ति अराजक र संस्थाको बिपरीत जाने छैनन् । संस्थाको सदस्यता सबैले खोजीखोजी लिने अवस्थाको सृजना हुनेछ । यो संस्थाको कुनै पनि स्तरको नेतृत्वमा बस्नु या जिम्मेवारी लिनुलाई सबैले गौरवको रुपमा लिने विश्वास दिलाउन चाहन्छु । संसारका नेपालीले हामी अमेरिकी एनआरएनहरुबाट धेरै कुराहरु साझेदारी र सिक्ने, सिकाउने बातावरण हुनेछ । तपाईंहरुलाई अमेरिकी एनआरएन हुँ भन्दा गर्वले छाती फुल्ने अवस्थाको प्रत्याभूति दिलाउने प्रयास मेरो हुनेछ । मेरो कार्यकालमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदसँग सतप्रतिशत रुपमा मापदण्डहरु पूरा गरेको एनसीसी हुनेछ । यी सबै सपना मेरो नेतृत्वको दुई बर्षे कार्याकालमा पूरा हुनेछन् । त्यसपछिको अर्को कार्यकालका लागि एउटा उत्कृष्ट आधारशीला तयार हुनेछ । सन् २०१७ मा नै आइसीसीमा कम्तीमा पनि दुईवटा महत्वपूर्ण स्थान र २०१९ मा उच्चस्तरको नेतृत्व दावी गर्ने अवस्थाको लिडरसीप विकास गरिनेछ । त्यसैको आधारमा पछिल्लो समयमा आउने एनसीसी अमेरिकाको नेतृत्वले २०२१ मा पुग्दा अध्यक्ष नै अमेरिकाको बनाउने योजना गर्न सकोस् । त्यो आधार निश्चित रुपमा मेरो कार्यकालमा तयार हुनेछ । धेरै संघ–संस्थामा जस्तो बर्षौसम्म एकै व्यक्ति पदमा रहिरहनु पर्ने, सधैं पदमा रहिरहनु पर्ने अवस्था एनआरएनए अमेरिकामा हुनेछैन । उत्कृष्ट नतिजा दिने व्यक्तिहरु नै नेतृत्वमा अगाडि जाने र उनीहरुलाई सबैले सघाउने अवस्थाको सृजना हुनेछ ।
जसले संस्थामा योगदान दिएको छ, संस्थाप्रति लगनशील छ र पदमा रहेर या नरहेर पनि संस्थालाई अगाडि बढाउने काम गरेको छ, उनीहरुको सम्मान र मूल्याकंन सधैं उच्च हुनेछ । पदका लागि पद र निरन्तरताको नाममा फेरि निरन्तरता अनि राजनीतिक आस्था र तेरोमेरोका आधारमा कामको मूल्यांकन होइन काम, क्षमता र योगदानका आधारमा एनआरएनहरुको लागि नेतृत्वमा जाने अगाडिको बाटो तय हुनेछ । एउटा व्यक्ति सधैं रहिरहने अवस्था हुनेछैन । जो क्षमताले प्रतिस्पर्धामा अगाडि छ त्यो नै नेता हुने अवस्था र परिपाटीको विकास हुनेछ । 
तेस्रो, प्रोजेक्टहरुबारे यो कार्यकालमा अमेरिकामा नेपाली समुदायहरुको लागि संचालन गरिने र मातृभूमि नेपालमा गरिने प्रोजेक्टहरु गरी जम्मा दुईखाले प्रोजेक्टहरु हुनेछन् । कतिपय प्रोजेक्टहरु चाहिँ आवश्यकता अनुसार नयाँ पनि हुन सक्नेछन् । तर सम्पूर्ण प्रोजेक्टहरु मध्ये ७५–८० प्रतिशत चाहिँ अमेरिकामा रहेका नेपाली समुदायको हितमा गरिने छ । नेपालमा गरिने केही प्रोजेक्टहरु बाहेक सम्पूर्ण योगदान आइसीका प्रोजेक्टहरुमा सहभागी हुने नै हुनेछ ।

Related News