​राप्रपाको बाटोमा माउते प्रचण्ड

रवीन्द्र श्रेष्ठ । हालै स्थानीय चुनावको सेरोफेरोमा नेकपा(माके)का अध्यक्ष पुष्पकमल दाहालले एमाले र कांग्रेसलाई हात्ती तथा आफ्नो पार्टीलाई माउतेको संज्ञा दिएको कुराले निकै चर्चा पाएको छ । उनको वास्तविक कुरा भनेको अहिलेको संसदमा एमाले र कांगे्रसको मात्रै एकल बहुमत नपुग्ने भएकोले सरकार बनाउन नेकपा (माके) को सहयोग समर्थन अनिवार्य बनेको स्थितिमा एमाले र कांग्रेसजस्ता हात्तीलाई (ठूला पार्टीलाई) माके पार्टीले माउते बनेर नचाइराख्न सक्ने संसदीय शक्ति सन्तुलन (असन्तुलन) प्रतिको व्यंग्यात्मक अहंकारी टिप्पणी हो । 
संसदको गणितीय यथार्थ दाहालले भने जस्तो भएपनि संसदीय चुनावमा हारेर तेस्रो हुँदा माउते बन्न पाउने जस्तै मानेर स्थानीय चुनावको पहिलो र दोस्रो चरणको परिणाममा माओवादीको गम्भीर पराजयलाई हात्ती र माउते भनेर तुलना गर्नु सही विश्लेषण होइन । स्थानीय सरकारमा जो अहिले विजयी भएका छन्, ती विजयी उम्मेदवारहरु नै पाँच वर्षका लागि स्थानीय प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरु हुन् । स्थानीय सरकारमा केन्द्रीय सरकारमा जस्तो त्रिशंकु संसदले सरकार छान्ने नभएर प्रत्यक्ष निर्वाचित पदहरुको व्यवस्था संविधानमा छ । मेयर, अध्यक्षसहित बहुमत वडा अध्यक्षहरुमा जुन पार्टीले बहुमत पदहरु जितेको छ, सोही पार्टीले स्थानीय सरकारमा आफ्नो नीति योजना लागू सहजै गर्दछ । तर मेयर वा अध्यक्ष जिते पनि बहुमत वडा अध्यक्ष जितेन र अर्को दलको बहुमत वडाअध्यक्ष जितेको छ भने मात्र मेयर अध्यक्षले अर्को पार्टीसँग अनिवार्य रुपमा सम्झौता गर्नुपर्ने हुन्छ अर्थात् अर्को दल माउते बन्न पुग्दछ । अहिलेको चुनावमा कांग्रेस एमालेले मेयर अध्यक्ष जिते पनि दाहालको माके पार्टीले बहुमत वडा अध्यक्ष जितेर माउते बनेको स्थानीय सरकार शायद एउटा पनि छैन । त्यसैले स्थानीय सरकारको विषयमा जहाँ–जहाँ दाहालको माके पार्टी हारेको छ, त्यहाँ हारेर पनि माउते बन्ने दाहालको तर्क हो भने आफ्ना कार्यकर्तालाई र आफैँलाई मुर्ख बनाउने र आत्मसन्तोष लिने प्रयास मात्र हुनेछ । बरु एमालेको अध्यक्ष वा मेयर जितेर कांग्रेसको बहुमत वडाअध्यक्ष जितेको र कांग्रेसको अध्यक्ष वा मेयर जितेर एमालेको वहुमत वडाअध्यक्ष जितेको स्थानहरु भने रहेका छन् र यसले ती स्थानहरुमा यी दुई पार्टीबीच प्रतिस्पर्धा र सहयोग दुवै तीब्र बन्ने छ । स्थानीय सरकार पाँच वर्षका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने हुनाले दाहालको पार्टीलाई हारेर पनि कांग्रेस र एमालेको माउते बनाउने सपना तुहिएको छ । 
दाहालले तथा उनका सहयोगीहरुले प्रदेशहरु तथा केन्द्रीय संसदको आगामी चुनावहरुमा पनि पहिलो र दोश्रो बन्ने सपना छाडिसकेका छन् । दाहाल र उनका सहयोगीहरुले प्रदेश तथा केन्द्रीय संसदको चुनावमा तेस्रो भएर माउते बन्ने लक्ष्य लिएका छन् । दाहाललाई के स्पष्टसँग थाहा भइसकेको छ भने यी दुबै चुनावमा  आफ्नो माके पार्टी पहिलो वा दोस्रो बन्ने सम्भावना छैन । तर प्रदेश तथा केन्द्रीय संसदमा हारेर तेस्रो हुन सकियो भने प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा प्रधानमन्त्री बन्न पाइन्छ भन्ने दाहाल र उनका सहयोगीहरुको अन्तिम आशा बाँकी छ । तसर्थ उनीहरुको आगामी लक्ष्य भनेको प्रदेश र केन्द्रीय संसदको चुनावमा बलियो तेस्रो दल बन्ने हो । प्रदेश सरकार तथा केन्द्रीय सरकार अप्रत्यक्ष चुनावबाट चुनिन्छ । अर्थात् जनताले प्रदेश र केन्द्रीय संसदका सांसदहरु मात्र चुन्न पाउँछन् र ती सांसदहरुले प्रदेशमा मुख्यमन्त्री चुन्छन् र केन्द्रमा प्रधानमन्त्री चुन्छन् तथा मुख्यमन्त्री र प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरु छान्छन् । अहिलेको मिश्रित चुनावी प्रणालीमा प्रत्यक्ष चुनावमा हार्ने दलहरुको पनि देशभरिको मत संख्या गन्ती गरेर सोको अनुपातमा समानुपातिक तर्फबाट थप सांसद विजयी बनाउन पाउने भएकोले कुनै एक दलको मात्र प्रदेश तथा केन्द्रीय व्यवस्थापिका संसदमा बहुमत  नआउने हुन्छ र हारेर तेस्रो भएको पार्टीको सहयोग बिना सरकार नबन्ने हुनाले हारेर तेस्रो भएपनि सो पार्टीले नै प्रधानमन्त्री र मुख्यमन्त्री बन्न पाउने अवसर प्राप्त गर्दछ । पुष्पकमल दाहाल यही छिर्केदाउ सोचेर मख्ख पर्दै बसेका छन् र आफू एमाले र कांग्रेसको माउते भएको अहंकारी घोषणा गर्दै बसेका छन् । 
यही माउते बन्ने दाहालको सपनासँगै जोडिएको विषय भनेको ०५१ देखि ०६२ सम्मको राप्रपाको माउतेपथ हो । ०५१ सालको मध्यावधी चुनावमा कुनै पनि दलको बहुमत आएन र एमाले पहिलो, कांग्रेस दोस्रो तथा राप्रपा तेस्रो पार्टी बन्यो । त्यसपछि बनेको एमालेको अल्पमतको सरकार कांग्रेस राप्रपा मिलेर ढालेपछि राप्रपाको माउतेपथको चर्तिकला सुरु भयो । राप्रपाका चन्द र थापा पालैपालो एमाले र कांग्रेसको ढाडमा टेकेर प्रधानमन्त्री बने र देश संसदीय पागलपनको अस्थिरतामा डुब्न पुग्यो । यसबाट विद्रोहको बाटोमा लागेको माओवादीलाई फाइदा भयो भने अर्कोतिर  ज्ञानेन्द्रलाई शासन सत्ता हातमा लिन पनि सजिलो हुन गयो । अहिले पुष्पकमल दाहालले विद्रोही प्रचण्डपथको परित्याग गरेर राप्रपाको माउतेपथ अंगाल्ने सार्वजनिक घोषणा गरिसकेको छ । दाहालले राप्रपाको माउतेपथमा जाने घोषणा गर्नुको अर्थ देश पुनः एकपल्ट ०५१ देखि ०६२ सम्मको जस्तो गम्भीर अस्थिरताको दिशामा लैजाने संकेत हो । त्यसबेलाको जस्तै ठ्याक्कै सबै दोहोरिने भन्ने हुँदैन इतिहास । तर माक्र्सले भनेजस्तै इतिहास प्रहसनको रुपमा दोहोरिन सक्दछ । पात्रहरु फेरिनेछन् तर प्रबृत्ति सबै दोहरिन सक्नेछ । त्यो बेला राप्रपाले खेलेको माउतेपथले चरम अस्थिरता जन्माए जस्तै अहिले दाहालको माके पार्टीले खेल्ने माउतेपथले पनि चरम अस्थिरता अनिवार्य रुपमा ल्याउनेछ । यस्तो अस्थिरतामा विद्रोहको बाटो लिने पार्टीहरु, जातीय क्षेत्रीय संघर्ष गर्ने दलहरु, देश टुक्र्याउन खोज्ने तत्वहरु र गुमेको सिंहासन फिर्ता लिन चाहने राजावादीहरुले आ–आफ्नो लक्ष्यको लागि दाहालको माउतेपथबाट सक्दो फाइदा उठाउनेछन् । 
दाहालले अहिले समात्दै गरेको माउतेपथबाट उत्पन्न हुने चरम अस्थिरता र त्यसबाट हुन सक्ने अनेक खाले गम्भीर समस्याको समाधान भनेको दाहाललाई माउते बन्न नदिनु हो । त्यसको लागि पहिलो उपाय भनेको संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय पद्धतिमा जानु हो । तर कांग्रेस एमाले यसका लागि तयार देखिन्न । दोस्रो उपाय भनेको एमाले र माओवादीको पार्टी एकता गर्नु हो । यसका लागि दाहाल तयार छैनन् । तेस्रो उपाय भनेको दाहालको माके र कांग्रेसबीच पार्टी एकता वा एउटै चुनाव चिन्ह लिएर देशभरि चुनाव लड्नु हो । यसबारे माके र कांग्रेसमा अलि–अलि कुरा हुन थालेको बताइन्छ तर यो पनि निकट भविश्यमा हुने देखिन्न । चौथो उपाय भनेको आगामी चुनावमा दाहाललाई जहाँ उठे पनि हराउनु हो । दुई ठाउँबाट चुनाव लडेका दाहाल काठमाडांैबाट हारेजस्तै सिराहाबाट पनि हारेको भए अहिले देशको राजनैतिक परिदृष्य नै अर्को हुने थियो । आगामी संसदीय चुनावमा दाहाल पक्कै पनि दुई क्षेत्रवाट चुनाव लड्नेछन् । उनलाई काठमाडांैबाट हराएजस्तै आगामी दिनमा जहाँबाट उठेपनि एमाले कांग्रेस सबै मिलेर हराउनु पर्दछ । तब उनले माउतेपथबाट पनि चेत्नेछन् । उनको पार्टीको अर्को विघटन टुटफुट सुरु हुनेछ र अहिलेको चुनावमा राप्रपाको जस्तो हालतमा दाहाल पुग्नेछन् । 
यसको संकेत अहिलेको चुनावमा पनि देखिएको छ । दाहालको माके पार्टीले पहिलो र दोस्रो बन्ने सपना नदेखेको होइन र मेहेनत नगरेको पनि होइन । सामदाम दण्डभेद सबै नीति उसले अख्तियार गरेकै हो । तर पनि केही लागेन उसको । पहिलो चरणको स्थानीय चुनावमा भन्दा दोस्रो चरणको चुनावमा बढी सिट जित्ने अपेक्षा दाहालको थियो । तर यी पंक्ति तयार पार्दासम्मका सबै जसो सञ्चार माध्यममा आएका तथ्यांक हेर्दा पनि माके पार्टीले अधिकतम चालिस ठाउँ मात्र जित्ने देखिन्छ र यो भनेको केवल १२ प्रतिशत मात्र हो । यो भनेको दाहालको गम्भीर हार हो । रोल्पा जस्तो माओवादी आधार क्षेत्रमा पनि एमाले र कांग्रेसले समेत विजय प्राप्त गर्नु भनेको दाहाल थप ओरालो लागेको संकेत हो । पुष्पकमल दाहाल अहिले कागजी बाघ भैसकेको उदाहरण हो यो । 

Related News