​राजपाका महामन्त्रीलाई भ्रष्टाचार मुद्दा, अन्य नेताहरु पनि छानबिनमा

दृष्टि न्यूज

काठमाडौं, १९ कात्तिक । 
 सरकारी सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेका राष्ट्रिय जनता पार्टी (राजपा)का महामन्त्री विनोदकुमार सिंह  भ्रष्टाचार मुद्दा लागेको छ । एक करोड ९१ लाख अकुत सम्पति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सिंहले सरकारी सेवामा रहँदा एक करोड ९१ लाख ६१ हजार ६ सय २५ रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । 

सिंह गत वर्ष सहायक वन अधिकृत (राजपत्रांकित चौथो) पदबाट राजीनामा दिएर राजनीतिमा लागेका थिए । उनलाई राजपाले प्रदेश सांसदको समानुपातिक सूचीमा समेत राखेको थियो ।

सिंह ०४३ सालमा निजामती सेवामा लागेका थिए । त्यसयता उनले एक करोड ६० लाख २१ हजार रुपैयाँ वैध रूपमा आर्जन गरेका थिए । तर, यो अवधिमा तीन करोड ५१ लाख ८२ हजार ६ सय ४४ रुपैयाँ खर्च गरेको आयोगको अनुसन्धानमा खुलेको छ । जसमध्ये एक करोड ९१ लाख सम्पतिको स्रोत नखुलेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । सिंहको विभिन्न कम्पनीमा सेयरसमेत रहेको तथा उनको आम्दानी र सम्पत्तिमा धेरै अन्तर देखिएको अख्तियारले जनाएको छ ।

सिंहकी श्रीमती गीतादेवी तथा छोराहरू अनुपकुमार र अचलकुमारविरुद्ध पनि मुद्दा दायर भएको छ । अकुत सम्पति उनीहरूको नाममा समेत रहेको अख्तियार प्रवक्ता रामेश्वर दंगालले बताए । अख्तियारले उनको अकुत सम्पत्ति जफत गर्न माग गरेको छ ।

निजामती सेवामा रहँदा सिंह सधैँ आकर्षक ठाउँमा थिए । दोस्रो जनआन्दोलनपछि मधेसी दलनिकट मधेसी निजामती कर्मचारी मञ्च गठन गरेर उनी लामो समयसम्म अध्यक्ष रहे । यो अवधिमा उनी मधेसी दलका नेताले सम्हालेको मन्त्रालयमा कर्मचारी सरुवामा हाबी हुन्थे ।

गत वर्ष राजीनामा दिएर उनी सांसद पदमा उठ्न लागेका थिए । तर, समानुपातिक सूचीमा मात्रै अटाएपछि उनले गत वर्ष १४ पुसमा पार्टी केन्द्रीय कार्यालय नै तोडेफोड गरेका थिए । त्यसपछि पार्टीले उनलाई महामन्त्री बनाएर फकाएको थियो ।
अख्तियारले अन्य केही नेताहरुको पनि अकुत सम्पति उपर अनुसन्धान गरिरहेको छ । आयोगमा नवीनकुमार घिमिरे प्रमुख आयुक्त भएपछि उनले छानबिनलाई तिव्रता दिएका छन् । 

Related News