​राजधानीमै फेरि अर्काे बलात्कार

काठमाडौं, २३ माघ । ल्याण्डमार्क होटलमा प्रेमीकै सहयोगमा भएको सामूहिक बलात्कार घटनाको प्रहरीले अनुसन्धान गरिरहेकै बेला राजधानीको अर्काे होटलमा बलात्कारको घटना घटेको छ । त्यो घटना पनि प्रेमीकै सहयोगमा भएको प्रहरीले जनाएको छ । 
एक साताअघि सुन्धाराको एसियन होटलमा भक्तपुर बस्ने एक युवतीको बलात्कार भएको हो । प्रेमीले एक हप्तासम्म होटलमा राखेर आफूमाथि बलात्कार गरेको उजुरी युवतीले दिएकी छिन् । सोही आधारमा प्रहरीले अशोक गुप्ता नामक युवकलाई पक्राउ गरेको छ । 
स्रोतका अनुसार युवतीको यौन शोषण गरेपछि गुप्ता भागेका थिए । बिहे गर्ने भनेर होटलमा राखेकोमा पछि बिहे गर्न नसक्ने भन्दै भागेका थिए । त्यसपछि युवतीले प्रहरीमा उजुरी दिएर युवकलाई पक्राउ गराएकी हुन् । 
सुरुमा युवकले पैसा दिएर घटना मिलाउन खोजेका थिए । पछि युवतीले जाहेरी दिएकी हुन् । जाहेरी दिएपछि प्रहरीले तत्कालै दर्ता गरी गुप्तालाई पक्राउ गरेको छ । 

Related News