प्रचण्डलाई हराएका केसी युवामन्त्री

काठमाडौं, १२ साउन । दोस्रो संविधानसभा निर्वाचनका बेला कांग्रेसका राजन (राजेन्द्रकुमार) केसीको कम चर्चा थिएन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा पराजित गरेपछि केसीको चर्चा चुलिएको थियो । उनै केसी मन्त्रिपरिषद् विस्तार हुँदा पहिलोपटक युवा तथा खेलकुदमन्त्री बनेका छन् । 
नवनियुक्त मन्त्री केसीले भ्रष्टाचार र अनियमितता हुन नदिने प्रतिबद्धता जनाएका छन् । ‘आफू मातहतको निकायमा भ्रष्टाचार र अनियमितत हुन दिन्न । म पनि लेखा समितिमा काम गर्दै आएको छु । खेलकुदका अनियमितताका विषयमा मलाई पनि थाहा छ’, बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्ने क्रममा ५९ वर्षीय मन्त्री केसीले भने, ‘पार्टीमा म निस्कलंक र इमानदार कार्यकर्ताका रूपमा स्थापित छु । त्यसैले मलाई पार्टीले जिम्मेवारी दिएको हो । आफ्नो जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध भएर अगाडि बढ्नेछु ।’
उनले नेपालको भुगोलसुहाउँदो र पदकको सम्भावना भएको खेललाई प्राथमिक दिनुपर्नेमा जोड दिदै नेपाल सरकारको ध्यान मन्त्रालयमा केन्द्रीत गर्ने गरी काम गर्ने वचनवद्धता प्रकट गरे । उनले मुलुकलाई समृद्ध बनाउन युवालाई उत्पादनमूलक काममा सही ढंगले परिचालन गर्न आवश्यक रहेको सुनाउँदै खेलकुद अन्तर्राष्ट्रिय जगतमा मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताए ।
मन्त्रालयका सचिव महेशप्रसाद दहालले मन्त्रालयअन्तर्गतका निकायका काम÷कर्तब्य बारे मन्त्री केसीलाई जानकारी गराउने क्रममा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मुख्य चुनौती पूर्वाधार भएको बताएका थिए ।

Related News