​राजिव गान्धीका हत्याराहरुलाई रिहा गर्न सिफारिस

दृष्टि न्यूज

तामिलनाडु । भारतको तामिलनाडु प्रदेश सरकारले भारतका भूतपूर्व प्रधानमन्त्री राजिव गान्धीको हत्या गर्ने सात जनालाई रिहा गर्ने सिफारिस गरेको छ । यहि सोमवार तामीलनाडुको प्रदेश सरकारले सो सिफारिस गभर्नरलाई बुझाएको छ । 
तामीलनाडुमा एआइएडिएमके पार्टीको सरकार छ जसले केन्द्रमा मोदी सरकारलाई समर्थन गर्दछ । भारतका पूर्व प्रधानमन्त्री राजिव गान्धीको लोकसभा चुनावको प्रचारमा गएको वेला २१ मई १९९१ मा तामिल पृथकतावादी समुहका सदश्यहरुले हत्या गरेका थिए । सो हत्यामा आत्मघाती बम प्रयोग भएको थियो । 
त्यस हत्याकाण्डका सात जनालाई भारतको सर्वोच्च अदालतले अपराधी ठहर गरी आजिवन कारावासको सजाय सुनाई सकेको छ । ती सात जना हत्याराहरुलाई छोड्ने विषयले भारतीय राजनीति एकपटक फेरि तात्तिएको छ । 
राजिव गान्धीका छोरा राहुल गान्धी भारतीय कंग्रेस पार्टीका अध्यक्ष छन् । उक्त पार्टीले हत्यारालाई रिहाई गर्ने प्रदेश सरकारको निर्णयलाई आतंककारीहरुको संरक्षण गरेको भन्दै कडा विरोध गरेको छ ।

Related News