​राजनीति र चेतना

शम्भु श्रेष्ठ । विश्वमै  सर्वोत्कृष्ट भनिएको नेपालको संविधानलाई प्रमुख दलका नेताहरुले घर न घाटको बनाएका छन् । गणतन्त्रलाई संस्थागत गर्न बनाइएको संविधान कार्यान्वयनमा आएका जटिलताले प्रमुख दलका नेताहरु नालायक सावित हुँदैछन् । राजनीतिक परिवर्तन गर्न जान्ने तर, त्यसलाई संस्थागत गर्न नजान्ने हुँदा सात सालदेखि अहिलेसम्म नेपालमा धेर राजनीतिक परिवर्तन हुँदै आएका छन् । हरेक दश÷दश वर्षमा हुने राजनीतिक परिवर्तनले राजनीतिक अस्थिरता सिर्जना गरेको छ । जसका कारण आर्थिक विकासको पाटो ओझेलमा परेको छ  । राजनीतिक परिवर्तनले नेता, कार्यकर्ता र तिनका आसेपासेहरुको जीवनमा अकल्पनीय समृद्धि आए पनि गरिब नेपाली जनताको जीवनमा केही परिवर्तन आउन सकेको छैन ।
तराई मधेसका नेताहरु त्यहाँको जनताको अधिकारका लागि लडिरहेको बताए पनि त्यहाँका जनताले भोग्नुपरेको आर्थिक समस्याप्रति पूरै मौन देखिन्छन् । जसका कारण तराईमा गुन्द्रदेवीहरु गरिबी सह नसकेर विष पिउनुपर्ने अवस्थामा पुग्नु परिरहेको छ । सर्लाही पिपरियाकी ३० वर्षीया गुन्द्रदेवीले गरिबीकै कारण आफूले मात्र आत्महत्या गरिनन्, उनले आत्महत्या गर्नुअघि १३ वर्षीया छोरी पूजा कुमारी, १० वर्षीया छोरी चन्दा कुमारी र ३ वर्षीया छोरी राधा कुमारीलाई विष खुवाएर मारेको समाचार बाहिर आएको छ । आफूलाई तराई, मधेसका नेता हुँ भन्नेहरुलाइ यो घटनाले पोल्नु पर्ने हो । तर, पनि यो घटनाप्रति मधेसी नेताहरुको समवेदना प्रकट नहुनु क्रूरता हो । उनीहरुले राजनीति त्यहाँका जनताका लागि होइन, आफ्नै लागि गरिरहेका छन् भन्ने कुरा यस्ता घटनाहरुबाट पनि स्पष्ट हुन्छ ।
लोकतन्त्रमा शासन व्यवस्था राम्रो भएर मात्रै हुँदैन  त्यसको कार्यान्वयन पक्ष फितला बन्दै गयो भने जनता चरम निराशाम परिणत हुँदै जान्छन् र आत्महत्या गर्नुपर्ने सम्मको स्थितिमा पुग्छन् भन्ने कुराको एउटा उदाहरण गुन्द्रदेवीको आत्महत्या प्रकरण हो ।
लोकतान्त्रिक गणतन्त्रमा पहिलो महिला राष्ट्रपति, पहिलो महिला सभामुख र पहिलो महिला प्रधानन्यायाधीश भनेर हामीले गर्व गर्छौ । तर, जनताको चेतना स्तर कतिसम्म गिरेको रहेछ भन्ने कुरा अर्को घटना लक्ष्मी परियारको हत्या प्रकरणले उजागर गर्छ । काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई बोक्सीको आरोपमा कुटीकुटी मारियो । त्यो पनि गाउँको एउटा शिक्षकको अगुवाईमा । राजनीतिक रुपमा हामीले आफूलाई जति सचेत ठानेका छौं, राजनीतिले हामीलाई त्यतिनै अचेत बनाइरहेको छ भन्ने कुराका एउट उदाहरण हो यो । लक्ष्मी परियार गरिब र सानो जातकै भएकोले उनीमाथि बोक्सीको आरोप लाग्यो र उनका छोराकै सामुन्ने स्कुलको मैदानमा लगेर उनलाई खाबोमा बाँधेर मारियो ।
त्यस्तै घटना अछाममा घट्यो  अझै पनि अछाममा छाउपडी प्रथा हटेको छैन । छाउपडीका नाममा एनजीओ, आईएनजीओले करोडौं कमाए पनि त्यहाँको मानसिकता कस्तो रहेछ भन्ने कुरा रोशनी तिरुवाको मृत्युले छर्लङ्ग पारेको छ । अछाम, गाज्रा–७ की १५ वर्षीय रोशनी महिनावारीका कारण गोठमा सुत्न गएको बेला जाडोले कठ्यांग्रिएर मर्नु प¥यो । छाउपडी बस्दा यस्ता घटना दोहोरिँदा पनि त्यहाँको समाजमा चेतना जागेको छैन । लोकतन्त्र शितल निवास र सिंहदरबारमा मात्र आएर पुग्दैन । लोकतन्त्रलाई गाउँ गाउँमा पु¥याउन सकिएन र लोकतन्त्रको माध्यमबाट गाउँका जनताको चेतनास्तर उठाउन सकिएन भने यस्ता घटनाहरु दोहोरिरहन्छन् । जुन कुरा सभ्य समाजका लागि अभिशाप बन्न पुग्छ ।
सात दशक लगाएर हामीले संविधान त बनायौं । तर, त्यो संविधानले सिंगो नेपाली जनताको चेतनास्तर उठाउन सकेन भने देश विकासको गति पछाडि धकेलिन्छ । नेपाल सबै कुरामा धनी भएर पनि यहाँका जनता गरिबीका कारण आत्महत्या गर्नुपर्ने स्थितिमा पुग्नु, अझै पनि बोक्सीको आरोपमा मारिनु र छाउपडीका नाममा अकालमा मृत्युवरण गर्नुपर्ने घटना चेतनास्तरसँग गाँसिएका विषय हुन् । यो कुरामा गाउँ गाउँका राजनीतिक कार्यकर्ता सचेत हुनै पर्छ । किनभने विकासको प्रस्थानविन्दु नै गाउँका जनताको चेतनास्तर हो ।

Related News