​राजनीतिभित्रको राजनीति

​शम्भु श्रेष्ठ

शम्भु श्रेष्ठ । आफू अनुकूल वातावरण बनाउन विदेशीको मुख ताक्ने संस्कार हामीमा अझै छुटेको छैन । मुखले जतिनै स्वतन्त्र, सार्वभौम भन्ने शब्द घोके पनि व्यवहारमा दास मानसिकता झल्कन्छ । आफ्नो फाइदा जताबाट हुन्छ, त्यतै ढल्कने चरित्रले देश अगाडि बढ्न सक्दैन । देशलाई अगाडि बढाउन  सबैभन्दा पहिला जनताको मन जित्नुपर्छ । नेपाली जनताले नेकपालाई झण्डै दुईतिहाइको हाराहारीमा पु¥याए । शान्ति, सुशासन र आर्थिक समृद्धि नेपाली जनताको चाहना हो । राजनीतिक स्थिरताबिना यी कुराहरु हासिल गर्न सम्भव छैन भनेरै नेपाली जनताले नेकपालाई रोजेका हुन् । त्यसमाथि पनि राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताप्रतिको ओलीको प्रतिबद्धताले नेकपालाई जनताले शिखरमा पु¥याएका हुन् । नेकपाको सरकार बनेको पनि ६ महिना बितिसकेको छ । देशभित्र अनेकौं घटनाहरु घटिरहेका छन् । ती घटनाहरुलाई सरकारले समाधान गर्न सकिरहेको छैन । जनतामा सरकारप्रति आलोचना बढ्दै गएको छ । सरकार भने जनतालाई आकाशको फल देखाइरहेको छ ।
दुईतिहाइको सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्नुको कारण आफैँभित्र खोज्नुपर्ने बेला आएको छ । एमाले र माओवादी अंक गणितले दुईतिहाइमा त पुग्यो, तर भावनात्मक रुपमा अझै एक हुन नसकेको अवस्था छ । केन्द्रदेखि स्थानीय निकायसम्म अझै पनि ‘म’ एमाले ‘तँ’ माओवादी भन्ने धारणा व्याप्त छ । यो खाडल समयमै पुर्न नसक्ने हो भने जनस्तरमा सरकारले परिणाममुखी काम गर्न सक्ने छैन । समयले केपी शर्मा ओलीलाई राजनीतिक शिखरमा पु¥याएको छ । यो समय भनेको ओलीका लागि सुनौलो समय हो । उनी नेकपाको मात्रै नेता बन्ने कि सिंगो देशको राजनेता बन्ने भन्ने उनको रोजाइ हो । नेतामात्रै बन्ने हो भने भन्नु केही छैन । राजनेता बन्ने हो भने उनले आफूलाई पूरै परिमार्जन गर्नु जरुरी छ । प्रचण्डसँग काँधमा काँध मिलाएर मात्रै उनी सफल हुन सक्दैनन् । उनी सफल हुन सिंगो कार्यकर्ता र जनताको मन जित्नुपर्छ । त्यसका लागि उनी सानो घेरा तोडेर बाहिर निस्कनु पर्छ ।
भावी प्रधानमन्त्रीका रुपमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँदिल्लीमा जसरी भव्य स्वागत गरियो, त्यसको सांकेतिक अर्थ छ । प्रचण्डले त्यत्तिकै आवेगमा आएर एमालेसँग पार्टी एकता गरेका होइनन् । त्यसभित्र उनको ठूलो रणनीति छ । ‘बिमस्टेक’ संयुक्त सैनिक अभ्यासमा नेपाली सेनालाई ओलीले सहभागी नगराउने निर्णयसँगसँगै भएको प्रचण्डको भारत भ्रमणले नेपालको राजनीतिमा ढिलो चाँडो तरंग ल्याउने अनुमान गरिँदैछ । भारत भ्रमणलगत्तै चीन भ्रमणमा गएका प्रचण्डलाई चीनले त्यति महत्व नदिएको विश्लेषण गरिरहँदा उनले भारतबाट पाएको सम्मानको विशेष अर्थ छ । नेपालको राजनीतिमा प्रचण्ड र नयाँदिल्लीको कुरा जतिबेला मिल्छ, त्यतिबेला नेपालको राजनीति पनि तरंगित हुँदै गएको अनुभव हामीले गर्दै आएका छौं । नयाँदिल्लीलाई पनि नेपालमा प्रचण्ड–बाबुरामजस्ता नेता चाहिएको छ ।
यही सेरोफेरोमा भारतीय पूर्वप्रधानमन्त्री स्व. अटल बिहारी बाजपेयीसँग लिखित सम्झौता गरेर नयाँदिल्लीमै भूमिगत जीवन बिताएका प्रचण्ड नेकपाजस्तो ठूलो पार्टीको अध्यक्ष बनेका छन् भने कांग्रेसको कोटाबाट टिकट लिएर बाबुरामले आफ्नो अस्तित्व जोगाएका छन् । बाहिरबाट हेर्दा यी घटनाक्रमहरु सामान्य जस्तो लागे पनि भित्रबाट हेर्दा यस्ता घटनाका पछाडि विदेशी स्वार्थहरु लुकेका हुन्छन् । दुईतिहाइको नेतृत्व गरिरहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यो कुरा समयमै बुझ्नुपर्छ ।

Related News