​राराको सन्देश

दृष्टि न्यूज

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षका अवसरमा नेपालको ठूलो र मनमोहक रारा तालको किनारबाट सम्बोधन गर्दै देशवासीका नाममा महत्वपूर्ण सन्देश प्रवाह गरेका छन् । विकास र अवसरमा पछाडि रहेको तर प्राकृतिक स्रोत र सम्भावनाको धनी कर्णालीमा गएर प्रधानमन्त्रीले सम्बोधन गर्नुको सांकेतिक अर्थ पनि छ । 
प्रधानमन्त्रीले सबै वर्ग, क्षेत्र र पेसाकर्मीलाई एकताबद्ध भई मुलुकलाई विकासको मार्गमा द्रूत गतिले अगाडि बढाउन आह्वान गरेका मात्रै गरेका छैनन्, मुलुकमा क्रियाशील सबै राजनीतिक दललाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका बृहत्तर विषयमा समझदारीका साथ अगाडि बढ्न आग्रह समेत गरेका छन् । प्रधानमन्त्रीले राजनीतिक संक्रमणको अन्त्य हुँदै जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पाएकोले २०७४ साल महत्वपूर्ण राजनीतिक उपलब्धिको वर्ष रहेको भन्दै नयाँ वर्षप्रति थप आशा र उत्साह सञ्चारको प्रयास गरेका छन् ।
तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढ्दै स्थायित्वको नयाँ चरण आरम्भ भएको छ । समाजका सबै वर्ग र तप्कामा राष्ट्र निर्माणको भावना जागृत भएको छ र अहिले नभए कहिल्यै देश बन्दैन भन्नेसम्मका टिप्पणी सार्वजनिक रुपमा सुन्न पाइन्छ । यो भावनालाई राष्ट्रिय भावधारामा परिणत गर्न प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको छ । पराधीन बनाउने सोचहरु कमजोर भएका छन् । विभाजित गर्ने शक्तिहरु किनारा लागेका छन् । अब राष्ट्रहरुबीचको सम्बन्धलाई आकार, जनसंख्या र अर्थतन्त्र सानो या ठूलो हुने कुराले होइन, सार्वभौम समानताको विषयले तय गर्नेछ ।’
राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हाम्रा छिमेकी, सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ठ सम्बन्ध विकास गरिने ओलीको अठोटकै कारण सुगौली सन्धिदेखि किचिएको हाम्रो आत्मसम्मान आज जागृत भएको छ । तसर्थ, अन्तर्राष्ट्रिय समुदायसामु हाम्रो शिर ठाडो हुने अवस्था छ । यति मात्र होइन, प्रधानमन्त्री ओलीले अंगीकार गरेको विदेश नीतिका कारण अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको खेल मैदानमा हाम्रो उपस्थिति उल्लेख्य हुन पुगेको छ । यसमा हाम्रो सुझबुझपूर्ण प्रस्तुति हुन सकेमा आगामी दिनमा हाम्रो आन्तरिक व्यवस्थापनको साँचो अरुको हातमा हुने छैन ।
प्रधानमन्त्रीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढंगले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने जानकारी दिए । यसको व्यावहारिक कार्यान्वयन हुन जरुरी छ । अहिले राज्य संरचना मात्रै होइन, समाजका सबै अंग उपांगहरु भ्रष्ट संस्कारका शिकार भएका छन् । दम्भी, दुराचारी र अपव्ययीहरु खुलेआम सडकमा डुक्रन्छन् । सिर्जनशील, प्रतिभावान्, स्वाभिमानी र सकारात्मक चेतनायुक्त नागरिक पर्दापछाडि छन् । सकारात्मक चिन्तन, सभ्य, सिर्जनशील र सहिष्णु व्यवहारलाई हाम्रो सामाजिक—सांस्कृतिक चिन्तनधाराको मूल प्रवाह बनाउनु आवश्यक छ ।
प्रधानमन्त्री ओलीले गर्नैपर्ने तत्कालको अर्को काम विचौलिया अर्थतन्त्रलाई नियन्त्रणमा राखी पौरखमा बाँच्ने वर्गलाई प्रोत्साहन गर्नु हो । यतिखेर राज्यका कुनै पनि अंगहरु भ्रष्टाचारमुक्त छैनन् । ती निकायको नेतृत्वमा देखिएको लोभीपापी र विलासी प्रवृत्तिले सिंगो संस्था र पद्धतिको साख गिरेको छ । जनताको आस्थाको केन्द्र बन्नुपर्ने संस्थाहरु सबैभन्दा बढी घृणाका विम्ब बनेका छन् । राजनीतिक दलका नेता, बिचौलिया गिरोहका बीचको साँठगाँठका आधारमा हाम्रा राज्यका संयन्त्रहरु चल्न पुगेका छन् । यो शृंखला तोड्न ओलीले वास्तवमै कठोर निर्णय लिनुपर्छ । र, उनी स्वयं र उनको टिमका सदस्यहरु मत्रै होइन नेता कार्यकर्ताहरु पनि तडकभडकपूर्ण जीवनशैलीप्रति सचेत रही मितव्ययी व्यवहार अपनाई समाज र राज्यका पदाधिकारीहरुका निम्ति नमुनाका रुपमा प्रस्तुत हुनुपर्छ ।  

Related News