​मेरो रारा यात्रा : यतिमा को थिए, ती ‘विशिष्ट’ यात्रु ?

दृष्टि न्यूज

रमेश घिमिरे (स्वतन्त्र पत्रकार) । यस वर्ष हामी परिवार कतै घुम्न जाने सन्दर्भमा के सल्लाह ग¥यौं भने सधैँ विदेश मात्र कति घुम्नु ? अब आफ्नै देश घुम्ने निधो ग¥यौं र रारा ताल भ्रमणको  योजना बनायौं ।
हामी निश्चित समयमा यति एयरलाइन्सको उडानबाट नेपालगन्ज जाने क्रममा त्रिभुवन विमानस्थल पुग्यौं । विमानस्थलको बसबाट ओर्लिएर विमानमा चढ्नको लागि लामवद्ध भयौं । संयोगले म नै लाममा सबभन्दा अघि थिए । यसो यताउता हेरेँ विमानभन्दा केही पर एउटा एम्बुलेन्स थियो । यतिका कर्मचारीले विमानभित्र प्रवेश गर्ने संकेत गरे । म विमानभित्र जानको लागि पाइला अघि बढाएँ । यतिका कर्मचारीले हामीलाई विमानमा प्रवेश गर्नबाट रोके । यसो हेरे एम्बुलेन्सबाट चार पाँच जना व्यक्तिहरु ओर्लिए । उनीहरुलाई पूर्ण सम्मानका साथ विमानभित्र प्रवेश गराएपछि मात्र अन्य यात्रुको पालो आयो ।
एउटा पत्रकार भएको नाताले ममा कौतुहलता जाग्नु स्वाभाविकै थियो । एम्बुलेन्सबाट आउने ती विशिष्ट व्यक्ति को थिए ? साच्चिकै अति विशिष्ट व्यक्ति हुन्थे भने परराष्ट्र मन्त्रालयले आफ्नै बन्दोवस्तमा विमानसम्म पु¥याउने थियो । 
मैले परिचारिकालाई सोधेँ– तपाईंका ती एम्बुलेन्समा आउने विशिष्ट व्यक्ति को हुन् ? उनको जवाफ थियो– हामीलाई व्यवस्थापनले भारतका सुरक्षा सल्लाहकार आउँदै हुनुहुन्छ भन्ने जानकारी गराएको थियो । त्यसैले हामीले उहाँहरुलाई विशेष व्यवस्था (एम्बुलेन्स) गरेका हौं । अब मेरो खुल्दुली झन् बढ्यो । विमान नेपालगन्जको राँझा विमानस्थलमा अवतरण ग¥यो । मैले विमानको झ्यालबाट हेरेँ । ती विशिष्ट व्यक्तिहरु विशिष्ट निकासद्वारबाट बाहिरिए । मेरो जानकारीमा त भारतका सुरक्षा सल्लाहकार भनेको त अजित डोभाल हुन् । मैले यसको वास्तविकता पत्ता लगाउने प्रयास गरेँ । आफ्ना नेपालगन्ज र काठमाडौंका सम्पर्क सूत्रहरुसँग सम्पर्क गर्दा वास्तविकता यस्तो रहेछ । ती व्यक्तिहरु अरु कोही नभएर भारतीय जनता पार्टीको भातृ संगठन राष्ट्रिय स्वयंसेवक संगठनका केन्द्रीय पदाधिकारी सुरेशलगायत रहेछन् भन्ने बुझियो ।
एउटा भारतको गैरसरकारी संस्थाका व्यक्तिहरुलाई कसको निर्देशनमा विमानस्थलको विशिष्ट कक्ष उपलब्ध गराइयो ? कडा सुरक्षा व्यवस्थाभित्र एम्बुलेन्सको प्रयोग कसको निर्देशनमा गरियो ? ती यात्रु विशिष्ट व्यक्तिको मापदण्डभित्र थिए कि थिएनन् ? यस घटनाले हाम्रो सुरक्षा व्यवस्थाको खिल्ली उडाउने कार्य गरेको छ । यात्रुहरु सबै समान हुन्छन् र तिनीहरुलाई समान व्यवहार गरिनु पर्छ । मैले विमानमै पनि यसको विरोध लिखितरुपमा दिएको थिएँ । तर यसको जवाफ हालसम्म पनि यति एयरलाइन्सले दिएको छैन । यस्तो दयनीय छ हाम्रा विमानस्थलको सुरक्षा व्यवस्था । यस कुराप्रति सरकार गम्भीर बन्नै पर्छ । विमानस्थलको सुरक्षा लागि विशिष्ट व्यक्तिको पहिचान नगरी विशिष्ट कक्ष उपलब्ध गराउने र एम्बुलेन्स प्रयोगले सुरक्षा व्यवस्था फितलो भएको देखिन्छ ।
अब लागौं रारातिर
नेपालगन्जबाट सोही दिन यतिकै उडानबाट ताल्चा विमानस्थल पुगियो । ताल्चा विमानस्थल संसारकै छोटो धावनमार्ग भएको विमानस्थलमध्ये एक पर्दोरहेछ, आङ सिरिङ्ग हुने । ताल्चाबाट तीन घण्टा हिंडेपछि रारा ताल पुगिँदो रहेछ । सल्लाघारीको जंगल प्रशस्त हरियाली भएको हुनाले त्यति धेरै थकाईको महसुस भएन । रारा ताल पुग्ने बित्तिकै अर्कै संसारमा आइपुगेको जस्तो अनुभव भयो । रारा ताल साँच्चिकै पृथ्वीकी रानी, स्वर्गकी अप्सराजस्तो रहेछ । ताल पुगिसकेपछि बास बस्ने ठाउँमा राराबाट दुई घण्टा हिंडेर पुगियो । लगभग तीन हजार मिटरको उचाईमा यो पनि हरियाली प्रशस्त भएको हुनाले लेक लाग्ने सम्भावना रहेनछ । जोमसोम मुक्तिनाथ उजाड भएको हुनाले लेक लाग्ने सम्भावना रहन्छ । एउटा अलि खट्किने कुरा के भने रारा गाउँपालिकाले स्वदेशी पर्यटकसँग पनि रु. १०० प्रवेश शुल्क उठाउने गरेको देखियो । यो त्यति उचित लागेन ।
मेरो सल्लाह हामी नेपालीले पहिले आफ्नै देश घुमौं, अनि मात्र विदेश सोचौं । हामी स्वदेश घुम्यौं भने घरबाट निक्लेदेखि फर्कन्जेलसम्म तपाईंले गरेको सबै खर्च नेपालीको हातमा पर्छ र सबभन्दा ठूलो कुरा त हामीले आफ्नो देश हेर्ने मौका पनि प्राप्त गर्दछौं । राष्ट्रलाई समृद्धितर्फ लैजान एउटा सानो योगदान पनि हुन जान्छ भनेर आफ्नो अनुभव पाठकसमक्ष पु¥याएको हुँ ।
rmshghimire@yahoo.com

Related News