​सहिद बान्तवाको जीवनी वृत्तचित्रमा

इलाम, १८ मंसिर । वामपन्थी योद्धा सहिद रत्नकुमार बान्तवाको जीवनीमा आधारित वृत्तचित्र ‘बलिदान कहिले मर्दैन’ यहाँ उनकै मातृभूमिमा शुक्रबार प्रदर्शन भएको छ । 

सुनसरीका पत्रकार जसकुमार राईले निर्माण गरेको उक्त वृत्तचित्र किरात राई पत्रकार सङ्घले प्रदर्शन गरेको हो । बान्तवाको जन्मस्थल चित्रेस्थित पुरानो घर, सुरुङ, उनको हत्यास्थल, चौतारो हँुदै सिंहबाहिनीको समाधिस्थल र भानुरत्न टोलको सालिक आदि वृत्तचित्रमा समेटिएको संघकी रीता राईले जानकारी दिइन् । सुरुङ खन्दा ‘बाल रेडगार्ड’ भूमिका निर्वाह गर्ने रत्नकै परिवारका डिल्ली, महेश र देउप्रसाद बान्तवासँगको कुराकानी पनि वृत्तचित्रमा छ । 

सँगै हिँडिरहँदा रत्न मारिएपछि भागेर जोगाएकी सुशीला श्रेष्ठ र राममाया राईको घटनास्थलमै भनाइ समेटिएका छन् । बान्तवाजस्तै निम्नवर्गीय परिवारमा जन्मेर भूमिगत राजनीति गरिरहँदा पञ्चायतको निशाना बन्ने बम वान्तवा र निमा शेर्पाबारे पनि वृत्तचित्रमा देखाइएको छ । 

उनको योगदानलाई कदर गर्दै अघिल्लो सरकारले उनलाई सहिद घोषणा गरेको छ । धेरै नेताले ‘आदर्श’ मान्ने बान्तवाले बनाएको सुरुङ र घरको पनि यही वर्ष जीर्णोद्धार गर्न थालिएको छ । विसं २००८ चैत २७ गते जन्मेका उनी विसं २०३५ मा सोही महिना र दिनमा २७ वर्षकै उमेरमा सहिद भएका थिए । 

बान्तवाको जीवनीमा आधारित वृत्तचित्रसहित अर्को ‘पहिचान’ नामको वृत्तचित्र पनि सँगै देखाइएको छ । ती वृत्तचित्र झापा, मोरङ, सुनसरी र काठमाडौँमा पनि प्रदर्शन गरिने जनाइएको छ । रासस 

Related News