​रौतहतटको जंगलमा तस्करको राज

दृष्टि न्यूज

रौतहट । राजनीतिलाई तस्करी, कालोबजारी र दुई नम्बरी आयआर्जनको स्रोत बनाउने धन्दा नेपालमा मौलाउँदै गएको छ । आफूलाई लोकतान्त्रिक पक्षधर मानिने कांग्रेसीजनहरु निर्वाचन सकिएपछि धमाधम आफ्नो धन्दामा फर्कदैछन् । त्यसो त निर्वाचनकै बेलामा पनि तस्करहरुसँग मोटो चुनाव खर्च लिएर उम्मेदवार बनाएको कारण पार्टीले हार व्यहोर्नु परेको भन्दै पार्टीभित्रको किचलो निर्वाचन सकिएको छ महिना बित्दा समेत सकिएको छैन । 
निर्वाचन जित्न ठूलो धनराशी खर्च गरेकाहरु निर्वाचन सकिए लगत्तै आफ्नै पेशा, व्यवसाय र धन्दामा फर्केर खर्च उपर गर्नु कांग्रेसी उम्मेदवारहरुको आम शैली नै बनेको छ । त्यस्तै मध्येका एक दृष्य रौतहटमा देखिएको छ । जसका कारण चुरे क्षेत्रका ठूलो वन बिनाश भइरहेको छ । नेपाली कांग्रेसबाट रौतहट निर्वाचन क्षेत्र नं ४ (क) बाट प्रदेश सभामा उम्मेदवार बनेका रामगया यादव यतिबेला सेटिङ मिलाएर रौतहटको जंगल सखाप पार्ने अभियानमा छन् । उनलाई साथ दिँदै आएका छन्, दैवीप्रकोप आपूर्ति समितिका चन्देश्वर यादव, सप्तरीतिर घर भएका मण्डल थरका काठ व्यापारीले । पूर्व राष्ट्रपति डा. रामवरण यादवले बैज्ञानिक कारणसहित चुरे क्षेत्रको विनाश रोक्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको नाममा  ठूलो रकम खर्च भएको भएपनि तराईको जंगल बिनाश रोक्न सकिएको छैन । 
तस्करहरुको समुहमा सेटिङमा रौतहतको जंगलमा व्यापक मात्रामा रुख कटान भइरहेको छ । स्थानीयबासीको नाममा घर बनाउन भन्दै जिल्ला वन पैदावर आपूर्ति समितिमार्पmत तस्करसँगको सेटिङमा जंगल बिनाश भइरहेकोमा स्थानीयबासी चिन्तित बनेका छन् । स्थानीयबासीको नाममा घर बनाउने भन्दै निवेदन दर्ता गर्ने र काठ कटान गरेर तस्करी गर्ने गरिएको छ । त्यसरी स्थानीयबासीलाई निवेदन दर्ता गरिदिएबापत केही हजार रुपैयाँ दिने र आर्थिक प्रभावमा पारेर तथा फर्जी कागजातको भरमा रौतहटको बलेरी, बिश्रामपुर, जंगलशैया, बगेरी खोर, बृद्धावन क्षेत्रमा ठूलो मात्रामा रुख कटान गरिँदै आएको छ । तस्करी गरिएको काठमध्ये केही भारत पु¥याउने त केही नेपालमै बिक्री वितरण गर्ने गरिएको छ । भन्सार, स्थानीय प्रहरीसँगको सेटिङ दर्जनौं ट्रक काठहरु भारत पुगिसकेको स्थानीयबासीको भनाई छ ।
जिल्ला वन पैदावर आपूर्ति समितिको अध्यक्ष डिएफओ र सदस्य सचिव सहायक जिल्ला वन अधिकृत हुने व्यवस्था छ । सो समितिले आगलागी तथा विभिन्न दैवीप्रकोपमा परेका जनतालाई घर बनाउने प्रयोजनको लागि प्रतिरिवार ३० क्यूवफिट काठ ९० प्रतिशत राजश्व छुटमा उपलब्ध गराइदै आएको जिल्ला वन कार्यालय, रौतहटले जनाएको छ । त्यस बाहेक घरकाठ अन्तर्गत जंगलमा रहेको काठको बर्गीकरण गरी ए÷बी÷सी मादपण्डमा परेका काठहरु कटान, मुछान खर्च हिसाब गरेर सहुलियत दरमा स्थानीय जनतालाई पहिलो आउनेलाई पहिलो प्राथमिकताका आधारमा काठ उपलब्ध गराउने गरिएको छ । घरकाठको नाममा धेरै वन विनास भएको स्थानीयबासीको आरोप छ । 
जिल्ला वन कार्यालयका प्रमुख दीर्घ कोइरालाले भने जंगल बिनाश नभएको र काठ तस्करी नभएको दावी गरेका छन् । उनले भने, ‘जंगलमा हामीले कसैलाई पनि प्रवेश दिएका छैनौं, चन्द्रनिगाहपुरमा घाटगद्धी हुन्छ, टाँचा लगाइन्छ अनि मात्र उपभोक्तालाई काठ वितरण गर्छौ ।’ उनले आम जनताले घर बनाउने लागेको प्रमाणित भएपछि निवेदनको आधारमा काठ उपलब्ध गराइदै आएको दावी गरे । कोइरालाले यस वर्ष १० हजार क्युवफिट काठ स्थानीय जनतालाई घरकाठ अन्तर्गत वितरण गरिएको बताए । त्यस्तै ४० चट्टा दाउरा समेतबाट एक करोड १३ लाख रुपैयाँ राजश्व समेत संकलन गरेको डिएफओ कोइरालाले जानकारी दिए । उनले जिल्लाभरि नै कुनै अनियमितता नभएको दावी गरेका छन् । तर, स्थानीयबासीले भने जंगलमा सखाप भएको र जिल्ला वन कार्यालय, प्रहरीसमेतको मिलेमतोमा काठ तस्करले जंगल सखाप पारेकोे आरोप लगाइरहेका छन् । जंगलशैया क्षेत्रमा सयौं रुखहरु काटिएको घटनाको छानविनको माग समेत गरेका छन् ।

Related News