रेखा थापा राणातिर, कोमल ओली कता ?

काठमाडौं, २४ साउन । बलेको आगो ताप्ने उखानलाई पछ्याउँदै नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनमा पशुपतिशमशेर राणालाई साथ दिएकी छिन् । उनी राणाले फुटाएको राप्रपा प्रजातान्त्रिकतिर लागेकी छिन् । बलेको आगो ताप्न अर्थात् मन्त्री र रकमको प्रलोभनमा कमल थापाका केन्द्रीय सदस्य र सांसदहरु राणातिर लागेको आरोप छ । 
कमल थापाको राप्रपा नेपालमा प्रवेश गरी केन्द्रीय सदस्यमा निर्वाचित भएकी थापाले पार्टी विभाजनमा राणातिर लागेकी छिन् । उनले राप्रपाका उपाध्यक्ष दीपक बोहरालाई राणाकै पक्षमा रहेको बताएको समाचार छ । रेखा थापा राप्रपामा जानुअघि माओवादी केन्द्रसँग आवद्ध थिइन् । २०६७ मा माधव नेपाल सरकार भएको बेला माओवादीले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालमा रेखा थापा पुष्पकमल दाहालसँग लालुपाते नुह्यो भुईतिर नलाउ माया दुईतिर भन्ने गीतमा नाचेकी थिइन् । जुन नाच निकै हिट पनि भएको थियो । तर उनले गीतमा भनेजस्तो दुईतिर होइन, राणाको पार्टीमा समेत तीनतिर माया लगाउन पुगेकी छिन् । 
नायिका थापा राणातिर लागे पनि गायिका कोमल ओलीले भने अहिलेसम्म कता लाग्ने स्पष्ट पारेकी छैनन् ।  रेडियो नेपालको जागिर छाडेर राप्रपाको राजनीतिमा ओली अहिले पछुतोमा परेकी छिन् । उनले सामाजिक संजाल फेसबुकमै पार्टी विभाजनपछि कस्तो पार्टीमा आइएछ भनेर दुःख प्रकट गरेकी छिन् ।

Related News