​धर्म परिवर्तनमा संलग्न विदेशीमाथि गृहमन्त्री कडा, तीन जनालाई देश निकालाको तयारी

दृष्टि न्यूज

काठमाडौं, ३० कात्तिक । 
नेपालमा गरिबीमाथि टेकेर धर्म परिवर्तनको खेलमा लागेका विदेशीमाथि गृह मन्त्रालय कडा रुपमा प्रस्तुत हुन थालेको छ । पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने तीन विदेशीलाई गृह मन्त्रालयले कारबाही सुरु गरेको छ । जापानी यासुको ओबा र मारी इकुरा तथा अस्ट्रेलियन महिला कटिया ग्राहमलाई जरिवाना गराएर निष्कासन गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । 

इसाई धर्म प्रचार गर्दैगर्दा पक्राउ परेका उनीहरू अहिले अध्यागमन विभागको हिरासतमा छन् । यासुको र मारी १८ कात्तिकमा बुटवलबाट पक्राउ परेका थिए भने अस्ट्रेलियन ग्राहम गत सोमबार बर्दियाको गुलरियाबाट पक्राउ परेकी हुन् ।
उनीहरुलाई जरिवाना गराई ५ वर्षसम्म नेपाल आउन नपाउने गरी निष्काशन गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक पौडेलले बताए । 

पर्यटक भिसामा नेपाल आएर अन्य कुनै काम गरे कारबाही हुने प्रावधान अध्यागमन ऐनमा छ । धर्म परिवर्तन गर्ने कार्यलाई त नेपालको कानुनले नै अवैध ठहर गरेकाले उनीहरूलाई कारबाही गर्न लागिएको विभागले जनाएको छ ।

Related News