​‘रियालिटी स्टार’हरू खोज्नुपर्ने ?

एमपी सुब्बा

एमपी सुब्बा । बुद्ध लामा अर्थात् ‘प्रथम नेपाल आइडल’ विजेता अहिले के गर्दैछन् ? धेरैलाई थाहा छैन । ‘आइडल’ विजेता बनेसँगै एकाएक व्यस्त भएका बुद्ध पछिल्लो समय ओझेलमा छन् । 
नेपाली गीतसंगीतप्रति चासो राख्नेहरुका लागि ‘नेपाल आइडल’ विजेताको खोजी गर्नु स्वभाविकै पनि हो । तर, अहिले बुद्ध न चर्चामा छन्, न त व्यस्त नै । एक किसिमले भन्ने हो भने यी ‘प्रथम नेपाल आइडल’को अवस्था पुरानैशैलीमा फर्किएको छ । कार्यक्रम सकिएपछि आयोजकले समेत वास्ता नगर्ने भएकाले यस्ता ‘रियालिटी स्टार’हरु हराउँदै जाने संस्कारजस्तै भएको छ ।
‘नेपाल आइडल’को दोस्रो सिजन सुरु भएसँगै बुद्ध लामामात्र होइन, निशान भट्टराई, प्रताप खास, सागर आलेहरु समेत ओझेलमा परेका छन् । उपाधि उचालेका बेला सबैको ‘वाहवाही’ बटुल्ने ‘रियालिटी स्टार’हरु नयाँ सिजन सुरु भएसँगै प्राय ओझेल पर्ने गर्छन् । चर्चित संगीतकार बसन्त सापकोटा भन्छन्, ‘नेपाल आइडलमात्र नभएर सबै रियालिटी स्टारहरुको नियति यस्तै हुन्छ, जो अहिले नेपाल आइडलका भाई–बहिनीहरुको अवस्था त्यस्तै भएको छ ।’ 
कुनै पनि ‘रियालिटी शो’मा अर्काको सिर्जना प्रस्तुत गरेर दर्शक तथा श्रोताका अगाडि उनीहरु ‘आइडल पर्सन’ भएका हुन्छन् । त्यहीबेला आफूलाई माथि उकास्न सक्यो भने मात्र टिकिरहन सक्ने सापकोटाको भनाइ छ । ‘नेपाल आइडल’ अमेरिकन रियालिटी शो ‘अमेरिकन आइडल’को फ्रेन्चाइज हो । यो शो एपी वानले पहिलोपटक नेपालमा भित्राएको हो । 
नेपाली सांगीतिक क्षेत्रकै सबैभन्दा ठूलो रियालिटी शो मानिएको ‘नेपाल आइडल’को पहिलो सिजन सुरु भएदेखि नै चर्चासँगै विवादमा आएको थियो । पहिलो ‘बिग रियालिटी शो’ भएकाले पनि चर्चामा आएको थियो भने त्यसका निर्णायकहरु अपरिपक्व भएकाले ‘विवाद’मा आएको थियो । 
अपरिपक्व निर्णायकहरुको ‘जर्जिङ’समेत ‘परिपक्व’ भन्दै दर्शकदीर्घाको  आलोचनाबीच ‘प्रथम नेपाल आइडल’ घोषणा गरिएको थियो । अहिले दोस्रो सिजनमा पनि तिनै विवादित र आलोचित निर्णायकहरु नै सामेल छन् । जसमा संगीतकार न्हयू बज्राचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका छन् । तीमध्ये न्हुयू बज्राचार्यलाई मात्र ‘परिपक्व’ भनिएको छ । यद्यपि उनको ‘जर्जिङ’ शैलीलाई भने दर्शकले रुचाएका छैनन् । 
हाल ‘नेपाल आइडल’को दोस्रो सिजन भइरहेको छ । तर, अहिले न निर्णायकहरु आलोचित भएका छन्, न त ‘नेपाल आइडल’कै चर्चा छ । बरु नेपाली सांगीतिक क्षेत्रमा बुद्ध लामा, निशान भट्टराई, प्रताप दासहरुको खोजी हुँदैछ । ‘नेपाल आइडलको दोस्रो सिजन भइरहँदा प्रथम विजेताहरु ओझेलमा परेका हुन् त ?’ गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले प्रश्न गरे । उनले भने, ‘आयोजकले कमसेकम आफ्ना प्रोडक्टलाई कार्यक्रममा ल्याएर मिडियाबाट हराउनचाहिँ दिनुहुन्न थियो ।’ 
हुन त संगीतकार तथा गायक भुुवनले भनेजस्तै बुद्धलाई ‘नेपाल आइडल’को सिजन–२ सुरु हुँदा स्टेज नल्याएको होइन । तर, त्यसले बुद्धलाई प्लस प्वाइन्ट गरेन जबकि, झनै बुद्धमाथि प्रश्न बन्यो, ‘यी आइडल अहिले के गर्दैछन् ?’ 
‘नेपाल आइडल’को विजेता बन्दा ‘संसार जिते’जस्तै एकाएक ‘डिमाण्डेड’ भएका यी ‘रियालिटी स्टार’ आजभोली एपी वानको स्क्रिनको पर्दामा बाहेक बाहिर फाट्टफुट्टमात्र देख्न पाइन्छन् । ‘आइडल’ बनेको केही महिनासम्म देश–विदेशमा स्टेज कार्यक्रम, सम्मान र गीत रेकर्डिङमा व्यस्त देखिएका ती ‘रियालिटी स्टार’हरु अहिले यतिसम्म ओझेलमा पर्दै गए कि उनीहरुको नयाँ अन्तर्वाता ‘युट्युब च्यानल’मा समेत आउन छाडेको छ । 
‘नेपाल आइडल’को आयोजक कम्पनी एपी वानमार्फत विजेता बनेकाले शर्तअनुरुप ती ‘आइडल’हरु जो प्रथम, फस्ट रनरअप र सेकेण्ड रनरअपले चाख्न पाएका छैनन् । यस्तो अवस्थामा ‘भाइरल सब्जेट’को पछि दौडिने ‘युट्युब स्टार’हरुले समेत उनीहरुलाई बिर्सन थालेका छन् । 
‘नेपाल आइडल’को मात्र नभएर ‘नेपाली तारा’ र ‘नेपाल स्टार’जस्ता ‘आइडल’ विजेताहरुसमेत को–कहाँ छन् भन्ने धेरैलाई थाहा हुँदैन किनकि, उनीहरु शीर्ष उपाधि उचालेको भोलिपल्टै हराउन सुरु भइसकेका हुन्छन् । ‘नेपाली तारा’ र ‘नेपाल स्टार’ यी दुई रियालिटी शो नेपालमा पहिलोपटक भएको ‘बिग शो’ हुन् । तर, चौथोँँ संस्करणसम्म चलेको ‘नेपाली तारा’का विजेताहरु को–को हुन् ? भन्ने प्रश्नमा संगीतकर्मीहरु नै अलमलिने गर्छन् । 
प्रथम ‘नेपाली तारा’ बनेका दीपक लिम्बू र सन्तोष लामाले भने आफूलाई टिकाइरहन सफल भएका छन् । तर, अरु जिवेता गुमनाम छन् । सांगीतिक रियालिटी शो ‘नेपाल स्टार’ले भने निरन्तरता पाउन सकेन । प्रथम ‘नेपाल स्टार’ विष्णु चेम्जोङ पछिल्लो समय गायनमा भन्दा अभिनयमा व्यस्त छिन् । 
हुन त ‘रियालिटी स्टार’हरुको हविगत नेपालमा मात्र यस्तो होइन । भारतमा हुने रियालिटी शोका विजेताहरु पनि कार्यक्रम सकिएपछि गुमनाम बन्ने गरेका छन् । ‘नेपाल आइडल’ हुनुभन्दा अगाडि भारतमा ‘इण्डियन आइडल’ सुरु भएको हो । तर, ‘इन्डियन आइडल’ विजेताहरु अहिले गुमनाम छ्रन् । नेपाली मूलका प्रशान्त तामाङ ‘इन्डियन आइडल’ बन्दा खुबै चर्चामा आएका थिए । तर, अहिले प्रशान्तसमेत कहाँ र के गर्दैछन् भन्ने खोजीको विषय बनेको छ । 
यस्तै, पछिल्लो समय नेपालमा थुप्रै ‘रियालिटी शो’हरु हुने गर्छन् । तर, ती ‘रियालिटी स्टार’हरुले भनेजस्तो प्लेटफर्म पाएको उदाहरण पाइँदैन । उल्टै साखः गिर्दै गएको छ । नेपालमा ‘नेपाल आइडल’जस्तो फ्रेन्चाइज शो भित्रिएसँगै ‘अब गायन क्षेत्रमा केही होला’ भन्ने संगीतकर्मीले आशा गरेका थिए । तर, ‘नेपाल आइडल’ले उल्टै दर्शकको विश्वास गुमाउँदै गएको छ । यसमा आयोजकको कमजारी देखिन्छ । 
पछिल्लो समय ‘नेपाल आइडल’जस्तै अर्को सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ भइरहेको छ । यो पनि अमेरिकन फ्रेन्चाइज नै हो । ‘नेपाल आइडल’  ओझेलमा पर्दै जानुको कारण यो पनि हो । ‘द भ्वाइस अफ नेपाल’ले दर्शकको मन जित्दै गएपछि ‘नेपाल आइडल’का दर्शकसमेत घट्दै गएका छन् । संगीतकार सापकोटा भन्छन्, ‘कार्यक्रमको क्वालिटी र जर्जिङ द भ्वाइस अफ नेपालको धेरै राम्रो छ । तर, विस्तारै यसको हालत पनि नेपाल आइडलकै नहोला भन्न सकिन्न किनकि, यहाँ रियालिटी शोका साखः बचाउन आयोजकले सकेको पाइएको छैन ।’ ‘रियालिटी स्टार’हरु ओझेल पर्दै जानुको मुख्य कारक आयोजकहरु नै भएको उनको भनाइ छ । 
 

Related News