​ऋषि मनको प्रयोग

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टीले दुई तिहाईको बहुमत सरकार बनाएपछि त्यसको असर छिमेकी मुलुकमा पनि परेको छ । विगतमा कुनै पनि प्रमुख दलको बहुमतको सरकार नहुँदा नेपालले छिमेकबाट जे जस्ता पीडा भोग्नुप¥यो, अब कम्तिमा पाँच वर्ष त्यो पीडा नेपाली जनताले भोग्नु नपर्ला भन्ने विश्वास गरिएको छ । यो विश्वासको श्रेय पनि नेपाली जनतालाई नै दिनुपर्छ । किनभने वाम गठबन्धनलाई दुईतिहाई नजिकको मत दिएर नेपाली जनताले राजनीतिक स्थिरता, विकास र सुशासन चाहेको सन्देश निर्वाचनमार्फत् जाहेर गरेका छन् । कम्युनिष्ट सरकारका लागि यो चुनौती र अवसर पनि हो । त्यसमाथि एमाले र माओवादी केन्द्र एकता भइसकेपछि पाँच वर्ष मात्र होइन, अर्को बीस वर्षसम्म कम्युनिष्ट पार्टीको बहुमत आउने कुरालाई नकार्न सकिन्न । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले तीव्र आर्थिक विकासको काम भने गर्नुपर्दछ । अहिले देखाएका पानी जहाजदेखि रेलका सपनालाई विपनामा ढाल्नुपर्छ । प्रधानमन्त्री ओलीको  बोली र व्यवहारबीच सन्तुलन मिल्यो भने पाँच वर्षभित्र नेपाली जनताले राजनीतिक स्थिरता, सुशासन र समृद्धिको अनुभूति गर्न सक्नेछन् । यसै क्रममा संविधानप्रति असन्तुष्ट जाहेर गरेको तराई मधेस केन्द्रित दल पनि सरकारमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिइनु पर्दछ । किनभने, सबैलाई मिलाएर लैजान सकिएन भने, दुईतिहाई बहुमतले मात्रै राजनीतिक स्थिरता र सुशासन दिन सक्दैन । त्यसमाथि ‘स्वायत्त प्रदेश, स्वतन्त्र मधेस’को माग राख्दै आएको संघीय समाजवादी फोरम सरकारमा आउनुलाई स्वागत गरिनु पर्छ । 
नेपालमा कम्युनिष्टहरुको बहुमतको सरकार बनेपछि मधेस केन्द्रित दलको संविधान संशोधनको माग पूरा गर्न पनि कि त सरकारमा जानुपर्ने, अन्यथा आन्दोलनमा जानुपर्ने बाध्यता थियो । संविधान संशोधनको मागलाई लिएर आन्दोलनमा जाँदा छिमेकीको साथ नपाइने लक्षण देखेरै फोरम सरकारमा संलग्न भएको छ भने राजपा पनि ढिलो चाँडो सरकारमा आउन बाध्य छ । केन्द्रमा कम्युनिष्टहरुको बहुमतको सरकार बनिरहेको बेला दुई नम्बर प्रदेशमा संविधान संशोधनको मुद्दालाई ब्युताइरहँदा त्यसको फाइदा सीके राउतजस्ता विखण्डनकारीहरुले नउठाउलान् भन्न सकिन्न । संविधानमा संघीयताको पहिलो कार्यान्वयन भइरहेको अवस्थामा संघीयतालाई बलियो बनाउन सकिएन भने त्यसैको जगमा फेरि विखन्डनको बिऊ रोपिन सक्छ । कम्युनिष्ट सरकारका लागि यो ठूलो चुनौती भएकोले राजपा र फोरमको मागलाई सरकारले कसरी सम्बोधन गर्छ भन्ने कुरा प्रमुख बनेको छ । तराईमा अस्थिरता मच्चिदा त्यसको असर छिमेकमा पनि पर्छ भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऋषि मनले संविधान निर्माण गर्न जोड गरेका हुन् । यसको अर्थ मोदी तराईको राजनीति र मनोेविज्ञानका पूरा जानकार छन् । त्यही कुरालाई सम्बोधन गर्न उनले आफ्नो पछिल्लो नेपाल भ्रमण जनकपुरबाट आरम्भ गरे । यो भ्रमणको मनोवैज्ञानिक अर्थ पनि छ र त्यसको उपलब्धि उपेन्द्र यादव सरकारमा सामेल हुनु हो । नभए दुईतिहाईको कम्युनिष्ट सरकारमा उपेन्द्र यादवलाई सहभागी गराइनु सरकारको बाध्यता थिएन । मोदी नेपाल भ्रमणको यो उपलब्धिलाई सकारात्मक रुपमा विश्लेषण गरिने हो  भने कम्युनिष्ट बहमुतको सरकार सफल हुनेछ । अन्यथा, देश पुनः गृहयुद्धमा होमिन सक्छ र अन्तर्राष्ट्रिय घेराबन्दीमा कम्युनिष्ट सरकार फस्न सक्छ । सायद, यही कुरालाई विचार गरेर फोरमलाई सरकारमा ल्याइएको हो ।

Related News