​रोल्पाका सबै मतपेटिका लिबाङमा ल्याइयो

रोल्पा, १२ मंसिर । पहिलो चरणको मतदान रोल्पामा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लाका सुकिदह, दुईखोली, माडी, रुन्टीगढी लगायतका गाउँपालिकाका मतदान स्थल नजिकै छिटफुट बम बिस्फोट भए पनि मतदान शान्त–तवरले सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनायो ।
मंगलबार सबै मतदान स्थलका मतपेटिका सदरमुकाम लिबाङ ल्याइएको छ । लिबाङ नजिकैका मतदान केन्द्रका मतपेटिका आइतबार बेलुकी ल्याइएको हो भने केही गाउँपालिका र थबाङको सोमबार ल्याइयो । उवाको भने मंगलबार बिहान मात्रै लिबाङमा आएको हो ।
थबाङ र उवाका मतपेटिका नेपाली सेनाको सहयोगमा हेलिकप्टरबाट सदरमुकाममा ल्याएको निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिए । सबै मतपेटिका कडा सुरक्षाका बीच मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।
रोल्पा जिल्लामा ८० मतदान स्थल र १६० मतदान केन्द्रमा निर्वाचन सम्पन्न भयो । जिल्लाको सुरक्षा अबस्था कडा पारिएको थियो । बेला बेलामा हवाई गस्ती समेत थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा, स्थानीय तह निर्वाचनभन्दा १४ प्रतिशत कम मत खसेको छ । यो निर्वाचनमा ५५.०९ प्रतिशित मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले बतायो ।

Related News