नेपाल र रुवान्डा

माधव पौडेल । नेपालमा भइरहेको जातीय द्वन्द्वले अन्ततः रुवान्डाको स्थिति निम्तन सक्छ । त्यही कुरालाई ध्यानमा राखेर रुवान्डाको इतिहास पल्टाउने कोसिस यस लेखमार्फत् गरिन खोजिएको हो । रूवाण्डाको नरसंहार मानव सभ्यतामा कालो धब्बा बन्यो । सय दिनमा आठ लाखको नरसंहार भएको घटनामा हुटु र टुट्सीले एक अर्काको निर्ममतापूर्वक हत्या गरे । नरसंहारकर्ताले बालक, वृद्ध, विरामी कोही भनेनन् । भिन्न जातिको भएका आधारमा पतिले पत्नीको निर्मम हत्या गरे । मिलीजुली बसेका छिमेकी समेत एक अर्काको जीवन लिन हतियारसहित उत्रिए । सन् १९९४ मा रूवान्डामा भएको घटनामा एउटा जातिलाई नै सखाप पार्ने षड्यन्त्र भएको थियो । लामोसमय शासनसत्तामा प्रभाव जमाएका टुट्सी जातिका कुल जनसंख्यामध्ये ७० प्रतिशत मारिएका थिए । नरसंहारमा हतियारका व्यापारी फष्टाए । यसमा आन्तरिक समस्यामा खेलेर लाभ लिन खोज्ने विदेशीहरूले भूमिका खेले । गोली तरकारी भन्दासस्तो मूल्यमा सजिलै पाइने अवस्था सृजना गरियो । लडाएर स्रोतमाथि दोहोन गर्न रणनीतिक रूपमा लागेकाहरूले हिंसालाई अस्त्र बनाए । 
नेपाल जस्तै भूपरिवेष्ठिक देश हो रूवाण्डा । त्यहाँ जर्मनी र बेल्जियमले उपनिवेश बनाएका थिए । यूरोपेलीहरूले अफ्रिका र एशियामा विशेष प्रभाव जमाएका थिए । प्रत्यक्ष आक्रमणभन्दा पनि आपसी द्वन्द्व गराएर प्रभाव जमाउन सके । प्रथम विश्वयुद्धमा जर्मनी पराजित भएपछि उसको स्थान लिदै बेल्जियमले उपनिवेश कायम ग¥यो । अल्पसंख्यक टाठाबाठा टुट्सी जातिको दबदबालाई निरन्तर प्रश्रय दिइयो । बेल्जियमीले जातीय विभाजनको सूत्र तयार गरे । त्यो थियो–हुटु, टुट्सी र ट्वा जाति चिन्नका लागि अनिवार्य जातिय परिचयपत्र । बहुसंख्यक माथि अल्पसंख्यकलाई प्रयोग गरेर शासन गर्ने रणनीति चालिएको थियो । पहिचानका नाममा विभिन्न प्रयोग गरियो । त्यसमध्ये एउटा थियो परिपचयपत्र जसले हुटु र टुट्सी जातिबीच द्वन्द्वको बीऊ रोपियो । क्षमताभन्दा पहिचानका आधारमा राज्यले प्रदान गर्ने अधिकारको माग हुनथाल्यो । हुटुले हुटुलाई र टुट्सीले टुट्सीलाई मात्र अगाडि बढाउन थाले । जातीय भावनाले एक अर्काबीच द्वेष र घृणा बढाउँदै लग्यो । जन्मका आधारमा नभई जातीयताका आधारमा अधिकार पाइन्छ भन्ने सन्देश प्रवाह भयो । त्यहाँको कानुनले नै जातीयताका आधारमा सरकारी ओहदामा स्थान पाउने सम्मको व्यवस्था ग¥यो । जातजातिलाई खुशी बनाउने र अधिकार सुनिश्चित गर्ने नाममा घातक निर्णय गरिएको थियो । १९५० को दशकमा बेल्जियनकै अग्रसरतामा राज्यको मूलधारबाट टाढा पारिएका हुटुहरूलाई राज्यको महत्वपूर्ण निकायमा स्थान दिने पहल थालियो । यसमा उनीहरूको क्षमता अभिवृद्धिभन्दा पनि जातीयताका आधारलाई प्राथमिकतामा राखियो । टाठाबाठा हुटुहरूले लाभ लिए । सरकारी सेवामा हुटुहरूको प्रवेश बढ्नथाल्यो । हुटु जाति सदीऔंदेखि शोषण र दमनमा परेका थिए । विभेदको अन्त गर्दै मिलेर जाने भावना जागृत गर्नुपर्नेमा उनीहरूमा टुट्सीप्रति बदला र घृणाको भावना बढाइयो । टुट्सीहरूले विगतमा गरेको विभेदकारी नीतिलाई बढाईचढाई प्रस्तुत गरी स्थितिलाई उत्तेजित पार्ने योजनावद्ध क्रियाकलाप भए । यतिसम्मकी एउटा जातिले अर्को जातिलाई विदेशीको आरोप लगाउन थाल्यो । हुटुले टुट्सीलाई विदेशीको आरोप लगाउन थाले । योजनावद्ध तरिकाले नयाँ पीढीको दिमागमा घृणा बढाउने गरी सामाजिकीकरण गर्न थालियो । विस्तारै जातीय हिंसा हुनथाल्यो । हिंसा मच्चाउन विदेशीले मुख्य भूमिका खेले । यूरोपेली प्रभाव कम हुन नदिन चालिएको रणनीति थियो त्यो । जुधाएर लाभ लिने । 
रूवान्डा बेल्जियमको उपनिवेशबाट मुक्त भयो । तर, उसले ठूलो मूल्य चुकाउनुप¥यो । हुटु जातिका राष्ट्रपति बने, टुट्सी सत्ताबाहिर रहे । हुटुका लागि उल्लेख्य स्थान सुनिश्चित गरे । टुट्सीका लागि मात्र ९ प्रतिशत रिजर्भेसन राखियो । रूवान्डाको राष्ट्रियता नै ‘हुटु राष्ट्रियता’ जस्तो बनाइयो । धेरै टुट्सीहरू सरकारी सेवाबाट हटाइए । शिक्षा जस्तो पवित्र विषयमा पनि हुटु कि टुट्सी भन्दै विभेदकारी व्यवहार गर्न थालियो । विदेशमा बसेका टुट्सी जातिका रूवान्डाली नागरिकलाई देश छिर्नबाट रोकियो । विगतमा टुट्सीहरूले हुटुमाथि जे जस्तो विभेदकारी नीति लागू गरेका थिए त्यसको बदलामा हुटुले टुट्सीमाथि दमनकारी व्यवहार देखाए । विगतमा अर्को जातिले जे गरेको थियो त्योभन्दा कठोर नीति लागू गरी विभेदलाई बढावा दिइयो । 
रूवाण्डामा हुटु र टुट्सी दुवै आदिवासी थिएनन् । टुवाँ जातिका थिए आदिवासी । हुटुभन्दा केही समय पछाडि टुट्सीहरू रूवान्डा पसेका थिए ।  दुवैबीच धर्म संस्कृतिमा समानता थिए । असमाना थियो त केवल अगाडि र पछाडि रूवाण्डा छिर्नु । हुटुहरू आफूलाई रूवान्डाको खास बासिन्दा दाबी गर्थे । धर्म संस्कृति समान भएकाले अन्तरजातीय विवाह चल्थ्यो । जुधाउने र बजाउने षड्यन्त्रकारी कार्यमा बाह्य शक्तिले भूमिका खेले । फुटाऊ र राज गर्को रणनीति अनुसार जातीय समस्या समाधानभन्दा बल्झाउन चलखेल गरे । जातीय परिचयपत्र वितरण सोही रणनीति अन्र्तर्गत थियो । स्वतन्त्रतापछि रूवाण्डामा सन् १९५९ मा टुट्सी राजतन्त्र अन्त भयो । त्यसको प्रत्यक्ष फाइदा हुटुलाई भयो । रूवान्डाका बहुसंख्यक जनसंख्या ओगट्ने हुटुहरूले शासनसत्तामा एकाधिकार कायम गरे । राजनीतिक प्रणाली उल्टियो । टुट्सीको स्थान हुटुले लिए । राजतन्त्र अन्तपछिको ‘पावर भ्याकुम’ मा अराजकता बढ्न थाल्यो । १९९० मा चर्किएको द्वन्द्वका कारण विदेशी सैनिक रूवान्डा छिरे । फ्रान्सेली सैनिकसँगै बेल्जियमका सैनिक पनि छिरे । तर बेल्जियनहरू फर्के । जातीय द्वन्द्वले विदेशी सेनालाई पस्ने ढोका खोलिदियो । सन् १९९४ मा टुट्सी जातिले हुटु जातिको सत्ता ढाले । युद्ध हार्नुअघि हुटु शासकहरूले १० लाख मानिसको नरसंहार गरे । एक सय दिनमा आठ लाख मारिए । टुट्सी जातिकालाई रूवान्डाबाट निमिट्यान्न पार्ने रणनीति अनुसार क्रुरतम कदम चालेका थिए । हुटु अतिवादीहरूले टुट्सी जातिकामाथि छानी छानी निर्मम दमन गरे । भिन्न जातिका महिलाहरूलाई बलात्कार गर्ने देखि यौनदासी बनाउने सम्मको क्रुर कार्य गरे । आधुनिक संसारमा जातीय घृणाको योभन्दा भयावह परिणाम सायदै अर्को थियो । जातीय घृणालाई ऊर्जा दिन नियोजित रूपमा संचारमाध्यमको प्रयोग गरियो । घृणा फैलाउन मिडिया दुरूपयोग गरियो । 
रूवाण्डा र नेपाल भूगोलका दृष्टिले मिल्दाजुल्दा छन् । नेपाल पनि भू–परिवेष्ठित छ । जातीय आधारमा बनेको समाज छ । बहुसंख्यक मानिसहरू हिन्दु धर्मालम्बी छन् । यहाँ धार्मिक द्वन्द्वको खतरा कम छ । तर, जातीय द्वन्द्वको खतरा उत्पन्न भएको छ । समान धर्म र संस्कृति मान्नेहरूलाई विभाजित पार्न क्षेत्रीयताको रेखा कोर्न खोजिदैछ । नमिल्दो गरी संघीयताको सीमाङ्कन गरिदैछ । एउटा राजालाई हटाएपछिको पावर भ्याकुममा नवराजाहरू उदाउन खोजेका छन् । विदेशीले लादेको रणनीतिको पृष्ठपोषण गर्दै जातीयताको नारा फलाक्दै हिंडेका छन् । वैज्ञानिक अध्ययन विनाको जातीय राज्य र तदनुरुपको सीमाङ्कनको विषय उठाउँदै छन् । तिनलाई मुख्यमन्त्री बन्न पाइन्छ कि पाइदैन भन्ने चिन्ता छ । इथियोपिया र इरिट्रिया टुटाए जसरी टुटाउन खोज्ने बाह्य शक्ति उत्तिकै हावी हुन खोज्दैछ । तल्लो तटको लामो भू–भाग विभाजन गरी इरिट्रिया बनेपछि इथियोपिया भू–परिवेष्ठित बनेको थियो । यस्ता खेलका गोटी बन्न लागिरहेछन् केही नेताहरू । तिनले विकसित देशहरूले गहिरो अध्ययन गरी अर्काको देशमा द्वन्द्व फैलाउन चालेका षड्यन्त्रकारी योजनामा साथ दिएका छन् । दश वर्षे हिंसात्मक गतिविधि स्वदेशको समस्यामा टेकेर विदेशीको आँडमा गरिएको थियो । अहिले जातीय र क्षेत्रीयताका नाममा जे जस्ता गतिविधि भइरहेछ त्यसमा विदेशी साथ र समर्थन घाम जत्तिकै छर्लङ्ग छ । यस्ता कदमलाई नेपाली जनताले बेलैमा चिन्न जरूरी छ । यो देश एउटा जातिको मात्र होइन सबैको हो । जातिका आधारमा सत्तामा एउटैको वर्चश्व उत्तिकै घातक छ । जातिका आधारमा होइन क्षमताका आधारमा स्थान बन्नुपर्छ । यहाँ एकले अर्कालाई निषेध गर्ने र घृणा गर्ने जे जस्ता गतिविधि भइरहेछन् यसका पछाडि बाह्य शक्तिको भूमिका छ । देशले शान्ति, स्थायित्व र अखण्डताका लागि कुनै जात विशेषको वर्चश्व समाप्त पार्नुपर्छ । अर्कोतर्फ जातीयताका आधारमा सीमाङ्कन रोक्नुपर्छ । संघीयताको विकल्प विकेन्द्रिकरण हुनसक्छ । होइन भने हिमाल, पहाड र तराईसहितको प्रदेश निर्माण नै नेपालको हितमा छ । देशको एकता र समृद्धीको आधार यस्तै राज्य संरचना र जन्मका आधारमा नभई कर्मका आधारमा अवसर प्राप्तिको सुनिश्चितता हुनुपर्छ । नरसंहारको खतरा छ । सबैले सजग हुनैपर्छ । 

Related News