​नेपालका सडक बालकहरू पहिलो पटक अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी हुँदै

दृष्टि न्यूज

काठमाडौँ । नेपालको लोकप्रिय जुत्ता गोल्डस्टारको निर्माता, वितरक, तथा बजार व्यवस्थापक कम्पनि किरण सु म्यानुफ्याक्चरर्सले आगामी २०७५ बैशाख ३१ देखि रुसको मस्कोमा आयोजना हुन लागेको सडक बालक विश्वकप फुटबल २०१८ मा नेपाली सडक बालकहरूको टोलीलाई सहयोग गर्ने घोषणा गरेको छ । नेपाली सडक बालकहरूको टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक हो । 
सडक बालबालिकाको कल्याण र सहयोगमा जुटेको संस्था सेल्टर आश्रय नेपालसँग आबद्ध भई गोल्डस्टारले यो अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेका सडक बालकहरूलाई सहयोग गर्न लागेको हो ।  
किरण सु म्यानुफ्याक्चरर्सकी निर्देशक विदुषी राणाले भन्नुभयो, “खेलकुदको कार्यक्रम भन्ने बित्तिकै नै जुत्ताको कुरा सबैभन्दा अग्रणी स्थानमा हुन्छ । यस्तो परिस्थितिमा नेपालमा सर्वाधिक विक्री हुने र रुचाइएको जुत्ता गोल्डस्टारको जिम्मेवारी र बोध दुवै पक्कै पनि छ । त्यसमाथि नेपालका सडक बालकहरू पहिलो पटक सडक बालक विश्वकप फुटबलमा सहभागी हुन लागेका छन् । यस्तो गर्वको क्षणमा हामीले आफू आबद्ध हुनुलाई गरिमामय मानेका पनि छौँ ।”
सडक बालक विश्वकप फुटबलले पिछडिएका, हेपिएका, छुट्याइएका, र दुत्कारिएका सडक बालकहरूप्रति समाजले हेर्ने नजरिया र दृष्टिकोणलाई परिवर्तन गर्ने हेतुले हरेक विश्वकप फुटबल हुने मौकामा यो खेलकुद कार्यक्रम गर्दै आएको छ । यसबाट बालबालिकाको शिक्षा, समाजमा स्तर, र सुरक्षणमा बढावा दिने लक्ष्य सडक बालक विश्वकप फुटबल २०१८को पनि रहेको छ ।      

Related News