​सदनमा प्रचण्डको जोश

दृष्टि न्यूज

काठमाडौं, २९ फागुन । बन्दुकको नालबाट सत्ता कब्जा गर्न सकिन्छ भनेर सशस्त्र संघर्षमा होमिएर मूलधारको राजनीतिमा फर्केका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेला बेलामा श्री ३ राणा प्रधानमन्त्री जंगबहादुर शान्तिका अग्रदूत गौतम बुद्धको नाम पटक पटक लिने गर्दछन् । तर, उनी आफै न जंगबहादुर बन्न सके न गौतम बुद्ध नै । तर, पछिल्लो समय तिनै प्रचण्ड भने वाम गठबन्धनका प्रधानमन्त्री केपी ओलीलाई जंगबहादुर बन्न उत्प्रेरित गर्दै आएको देखिएको छ । 
घटना आइतबारको हो । संसदमा विश्वासको मत लिने क्रममा माओवादी केन्द्रको तर्फबाट सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई कडा एक्सनमा जान सुझाव दिएका छन् । सरकारले गरेको काम कारवाहीहरु प्रभावकारी रुपमा जनतामा लैजानुपर्ने सुझाव दिने क्रममा प्रचण्ड निकै कडा रुपमा मात्रै प्रस्तुत भएनन्, सिधा एक्सनमा जान कुनै ऐन, नियम वा कानुनको समस्या भए ति ऐन, कानुनहरु परिवर्तन गरेरै भएपनि अगाडि बढ्नुपर्ने सुझाव  दिए । प्रचण्डको जोड थियो, ‘सरकारले अब होला कि भनेर आशा गर्ने होईन, अबको सरकार सिधा सिधा एक्सनमा जानुपर्छ ।’
संसदमा सम्बोधन गर्दै प्रचण्डले निकै रुपमा सरकार अगाडि बढ्न निर्देशन दिने शैलीमा प्रस्तुत भएका थिए । कतिपयले प्रचण्डको आइतवारको शैलीलाई जंगबहादुर जन्माउने योजनाको रुपमा समेत राजनीतिक वृत्तमा लिइएको छ । उनले संसद बैठकमा भने, ‘जनतामा प्रवाह हुने सेवा सुविधा प्रभावकारी बनाउन सरकारले एक्सन गरोस्, परिणाम देखाउन सुरु गरोस् ।’ अध्यक्ष प्रचण्डले कड्किदै भने, ‘बोक्सीको आरोपमा कुटपिट गर्नेमाथि तत्काल कदम चाल्नु पर्छ, आठ बर्षिया बालिका बलात्कार गर्नेमाथि तत्काल कारवाही गरोस् । साथै प्रकारको बेथितीको अन्त्यको लागि एक्सन लिन के कस्तो ऐन, नियमहरु सुधार गर्नुपर्ने हो, त्यसको दिशामा अब सरकार अघि बढोस् ।’
अध्यक्ष प्रचण्डको एक्सन मुखी संसद बैठकको सम्बोधन निकै अर्थपूर्ण समेत थियो । उनले यस पटक बनेको सरकारका मन्त्रीहरुलाई विगतका जस्तो गरी नसोच्न, फरक सोच ल्याउन, सरकार गठनको ऐतिहासिक पृष्ठभूमिमा फर्केर हेर्न समेत निर्देशनात्मक आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिँदै मुलुक समाजवाद उन्मुख संविधानको मूल मर्म र भावनालाई आत्मसात गर्न आग्रह गरेका छन् ।

Related News