​सगरमाथामा हिलारी स्टेपको खोजी

काठमाडौं, २७ असार । एघार पटक सगरमाथाको चुुचुरो चुमेका लाक्पा राङडु शेर्पा हिलारी स्टेप कता हरायो भन्ने कुराले चिन्तित छन् । सगरमाथाको चुचुरो पुग्नु अगाडि ८८३० मिटरमा  १२ मिटर अग्लो चट्टान थियो । त्यही चट्टान पार गरेर सगरमाथाको चुचुरो पुग्नु पथ्र्यो । तर, पछिल्लो पटक सगरमाथा चढ्दा त्यो चुचुरो नदेख्दा उनी खिन्न छन् । उनलाई लागेको छ वैशाख १२ गतेको भूकम्पले उक्त चट्टान त्यहाँबाट खस्यो । यो कुरा अहिलेसम्म बाहिर आएको छैन । उनी भन्छन्– आरोहणमा फोटोग्राफीको पनि ठूलै महत्व हुँदोरहेछ । मैले हिलारी स्टेपको फोटो नखिचेको भए, सायद यो कुरा अरुलाई देखाउन पाउने थिइनँ ।
नेपाल पर्यटन बोर्डमा सगरमाथाका विषयमा फोटो प्रदर्शन गरेका शेर्पा भन्छन्– सगरमाथा आरोहणका धेरै फोटो सार्वजनिक भएका छन् । तर, चुचुरोमा पुग्नु अगाडिको ठूलो चट्टान त्यहाँबाट बेपत्ता भएको फोटो अहिलेसम्म सार्वजनिक भएको छैन ।
गत शुक्रबारदेखि तीन दिनसम्म प्रदर्शनीमा राखिएका सगरमाथाको चुचुरोको फोटो देखाउँदै शेर्पा भन्छन्– सगरमाथाको शिर ८८४८ मिटरमा अवस्थित छ । त्यहाँ पुग्नु अगाडि ८८३० मिटरमा हिलारी पास छ, त्यही हिलारी पास पार गरेपछि मात्रै चुचुरोमा पुगिन्छ । तर, अहिले त्यहाँ हिलारी पास छैन । सन् २०१३ सम्म हिलारी पास थियो । त्यसपछि सन् १०१४–१५ मा मैले आरोहण गरिनँ । २०१६ मा जाँदो पो झल्यास्स भए, हिलारी पासको ढुंगो कता हरायो ?
सन् २००६ देखि सन् २०१६ सम्म शेर्पाले ११ पटकसम्म सगरमाथाको सफल आरोहण गरेका छन् । विभिन्न देशका अरोहीसँग आरोहण गर्दा फोटोग्राफीको शौखले उनले त्यहाँको फोटो खिचेका हुन् । उनी भन्छन्– आरोहणमा फोटोग्राफीको ठूलो महत्व रहेछ । पहिला–पहिला जस्तो मन लाग्थ्यो, त्यस्तै फोटो खिच्थे, तर पछिल्लो पटक मिन बज्राचार्य, दीपेन्द्र बज्राचार्यको सम्पर्कले राम्रो फोटो खिच्न सके । एउटा क्यामरा किनेपछि स्कुल अफ क्रियटिभ कम्युनिकेशनमा फोटोग्राफी सम्बन्धी तालिम लिए । फोटो प्रदर्शनी हेर्न आउने भिजिटरलाई आफूले खिचेको फोटो देखाउँदै शेर्पा भन्छन्– ‘तालिम लिएपछि खिचेको फोटो यिनै हुन् ।’

Related News