​सहकारीको ६६ लाख हिनामिनाको आरोप लागेकी चौधरी पक्राउ

दृष्टि न्यूज

घोराही । राप्ती गाउँपालिका–५ सिसहनियाँमा रहेको प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाखभन्दा बढी रकम हिनामिनाको आरोप लागेकी संस्थाकी संस्थापक व्यवस्थापक रमिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

संस्थाकी रमिता चौधरीलाई इलाका प्रहरी कार्यालय भालुवाङले सोमबार राति ९ बजे भालुवाङ बजारमा गाडीबाटै पक्राउ गरेको हो । घोराहीबाट काठमाडौँ जाँदै गरेको अवस्थामा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी हवल्दार मोहनराम परियारको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । गाडीबाट काठमाडौँ जाँदै गरेको सुराकीको आधारमा प्रहरीले नियमित तीन घण्टासम्म सवारी जाँच गरेपछि चौधरी पक्राउ परेकी हुन् ।
 
पक्राउ परेकी चौधरी अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा रहेको प्रहरीले जनाएको छ भने उनका श्रीमान तथा पूर्वसचिव वसन्तकुमार चौधरी भने फरार रहेका छन् । चौधरीलाई आज अदालतमा उपस्थित गराउने तयारी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । यसअघि सहकारीकै उक्त रकम हिनामिना गरेको आरोप लागेका पत्रकार सन्तोषकुमार गुप्ता कारागार चलान भइसकेका छन् ।

Related News