​‘आई लभ यु’ भन्नेको कमि छैन : सहिमा श्रेष्ठ, गायिका

दृष्टि न्यूज

गायिका सहिमा श्रेष्ठ गाउनमात्र होइन, नाच्न पनि उत्तिकै पारंगत छिन् । उनले गाएको ‘तिम्रो डोला–डोला हातमा मेहेँन्दी लाएछौं’ बोलको गीतमा दर्शक तथा श्रोता जति कम्मर मर्काउँदै आएछन्, त्यति नै उनी पनि । फिल्म ‘हवल्दार सुन्तली’को यही गीतमार्फत सहिमा पाश्र्वगायनमा चम्किएकी हुन् । ‘सहिमा’, ‘शृंगार’ ‘स्वर्ग’ जस्ता सोलो एल्बम ल्याइसकेकी सहिमाले दर्जनौ फिल्ममा स्वर दिइसकेकी छन् । पछिल्लो समयकी यी व्यस्त पाश्र्वगायिकाले ६ वर्र्षयता प्रत्येक तीजमा गीत निकाल्दै आएकी छन् । यसपटक तीजलाई ‘पहिला नम्बर सुन’ बोलको गीत ल्याएकी गायिका सहिमा श्रेष्ठसँग एमपी सुब्बाले गरेको कुराकानी ।



तपाइँको साउन महिना कसरी बितिरहेकोे छ ?
– रमाइलो । सबै नेपाली नारी हरियो सारी र चुरा लाएर हिँडेका छन् । तर, मचाहिँ व्रत बस्दिनँ । मन्दिरचाहिँ जान्छु ।
अहिलेसम्म तीजमा कहिल्यै व्रत बस्नुभएको छैन ? 
 – अँह, छैन । व्रत बसेर सोचेजस्तो, खोजेजस्तो पति पाइन्छ भन्ने जनविश्वास छ । तर, मलाई लाग्दैन । पत्नी व्रत बस्दा पतिको दीर्घायु हुन्छ भन्नेमा पनि विश्वास लाग्दैन । तैपनि तीज हिन्दु नारीको महान चाड हो । धार्मिक आस्था बोकेको चाड हो । त्यसमा मेरो पनि आस्था छ । 
तीजमा गीत त सधैं गाउनुहुन्छ नि ?
– नेपाली चेली–बेटी तथा दर्शकलाई नचाउनुका लागि गाएकी हुँ । गाउने मान्छे हुँ म । एउटी गायिकाको काम नै दर्शक तथा श्रोतालाई गीत पस्कनु हो । त्यसैले तीज गीत पनि गाउँदै आएकी हुँ ।
तपाइँ पनि खुबै नाच्नुहुन्छ होइन त ?
– हाहाहा.., अलि अलि नाच्छु । स्टेजमा नाच्दै गाउँदा फिलिङ आउँछ । दर्शकसँग नाच्न रमाइलो लाग्छ ।
गीत गाउनु र नाच्नु कुन रमाइलो ?
– उस्तै हो । म गायिका भएकाले गाउँदा नै रमाइलो लाग्छ । नाच्नु भनेको त दर्शक तताउनलाई मात्र हो । 
गीत गाउन थाल्नुभएको कति भयो ?
– करिब ७ वर्ष भयो । गायन रियालिटी शो ‘खोजी प्रतिभाको’मा सहभागी पछि गाउन थालेकी हुँ । त्यसयता निरन्तर यसै क्षेत्रमा छु ।
गीत गाएरै जीन्दगी चलिरहेको छ होइन त ?
– चलेकै छ । सुरुमा केही गाह्रो थियो । अहिले आएर त्यस्तो केही छैन । संघर्ष र मिहिनेत गर्दै गएपछि फल पाइन्छ भन्छन् । त्यस्तै हो म पनि । यहाँहरु सबैको साथ पाएकी छु । खुसी लाग्छ ।
पछिल्लो समय जीवनशैलीमा केही परिवर्तन ल्याउनु भएको हो ?
– समयअनुसार केही चेञ्ज भएकी हुँ । तर, बाहिरी आवरणमात्र थोरै परिवर्तन गरेकी हुँ । भित्रि त उस्तै हो, कुनै चेञ्ज छैन ।
यो वर्ष तपाइँ साह्रै व्यस्त हुनु भयो है ?
– हो, देश–विदेशको कार्यक्रम र गीत रेर्कडिङले व्यस्त भएँ । एकैदिन दुईवटा स्टेज कार्यक्रमसम्म भ्याएँ ।
स्वरजस्तै मान्छे पनि राम्री हुनुहुन्छ । केटाहरुले कतिको प्रेम प्रस्ताव वा फलो गर्छन् ?
– भनिसाध्य छैन । दर्शकसम्म पुग्नै पर्दैन । आफ्नै फिल्डका मान्छेहरुले समेत फलो गरिरहेका हुन्छन् । तर, म वास्ता गर्दिनँ । फेसबुकको म्यासेन्जरमा त दैनिक ‘आई लभ यु’ भन्ने म्यासेजहरु दर्जनौँ आउँछ । अति बढी आउन थाल्यो भने त्यस्तालाई इग्नोर गरिदिन्छु ।
 आफ्नो के चाहिँ राम्रो लाग्छ, जसले केटाहरु पछि लाग्छन् ? 
 – म इनोसेन्ट छु । मान्छे छ खाशै राम्री होइन म । सबैले मलाई बोलीचाली र व्यवहार राम्रो छ भन्छन् । त्यै त होला नि । आफ्नो विषयमा भन्न पनि गाह्रो । 
संगीत क्षेत्रमा नयाँ के गर्दै हुनुहुन्छ ?
– दैनिक जस्तै रेर्कडिङ र कार्यक्रममै व्यस्त छु । तीज नजिक आइसक्यो । भर्खरै तीज गीत ‘पहिला नम्बर सुन’ आफ्नै यु–ट्युब च्यानलमार्फत रिलिज गरेकी छु । तीजलगत्तै अरु गीत रिलिज गर्दैछु ।

Related News